काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले नेपालको सहकारी क्षेत्रमा व्याप्त बेथिति र समस्या समाधान गरी पूर्ण सुधार गर्न ७ देखि १० वर्ष लाग्ने बताएका छन् । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र प्रभावकारी नियमनका लागि प्राधिकरण सक्रिय भएको उनको भनाइ छ ।
विगत २० वर्षदेखि बिग्रिएको यो क्षेत्रलाई लयमा फर्काएर स्वनियमनमा चल्ने बनाउन दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)सँगको अन्तरक्रियामा उनले सहकारीका सबै प्रणालीहरू प्राधिकरण मातहत आउनुपर्ने र प्राधिकरणलाई शक्तिशाली संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । भद्दा र काम नगर्ने संरचनाहरुलाई घटाउँदै नियमनलाई प्रभावकारी बनाउने रणनीति प्राधिकरणले अघि सारिएको पनि उनले बताए । उनले भने, ‘सुशासनको हिसाबले हरेक ठाउँमा अराजकता छ, त्यसैले प्रभावकारी नियमन र आवश्यकताअनुसार अंकुश लगाउनु जरुरी छ ।’