काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झण्डै आधा दर्जन कम्पनीहरूको सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार बोनस, हकप्रद र साधारणसमेत गरी कुल चारवटा कम्पनीहरूको सेयर नेप्सेमा नियमित कारोबारका लागि सूचीकृत भएका हुन ।
सूचीकृत सेयरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको छ प्रतिशत दरका कुल १७ लाख ८४ हजार छ सय ८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको पनि १० प्रतिशत दरले हुन आउने कुल चार लाख सात हजार छ सय ९२ दशमलव ३० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यी दुवै कम्पनीको सूचीकृत बोनस सेयर दोस्रो बजारमा कारोबार खुल्ला हुने जानकारी नेप्सेले दिएको छ ।
नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीको पछिल्लो पटक १० प्रतिशत दरले हुन आउने कुल पाँच लाख ६७ हजार तीन सय २२ दशमलव २० कित्ता बोनस सेयर सूचीकृत भएको हो । यसैगरी शिखर पावर डेभलपमेन्ट लिमिटेडको पनि साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार यो कम्पनीको ९८ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरूमा वितरण गरेको ३२ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरेको ६६ लाख कित्ता सेयर गरी कुल ९८ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । नेप्सेले यो कम्पनीलाई ९४ रुपैयाँ ७८ पैसादेखि दुई सय ८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
नेप्सेमा पाल्पा सिमेन्ट कम्पनीको साधारण सेयर पनि सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ दरको कुल तीन करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत सेयर मध्ये ८० प्रतिशत दरको कुल तीन करोड कित्ता संस्थापक सेयरधनीहरूले लगानी गरेको र २० प्रतिशत दरको ७५ लाख कित्ता सेयर सर्वसाधारणहरूले लगानी गरेको रहेको छ । नेप्सेका अनुसार कम्पनीको साधारण सेयर ‘पीसीआईएल’ सिम्बोलबाट सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि एक सय रुपैयाँदेखि अधिकतम तीन सय रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको थियो ।