काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब २५ अर्ब रुपैयाँ खिचेको छ । अधिक तरलता नियन्त्रणका लागि भन्दै शुक्रबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको राष्ट्र बैंकको भनाइ छ ।
परिपक्व हुुने अवधि पाँच दिन तोकिएको यो उपकरणको साँवाब्याज भुक्तानी आगामी वैशाख दुई गते गरिने छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ । यसअघि पनि राष्ट्र बैंकले अधिक तरलता नियन्त्रणको लागि भन्दै पटक–पटक मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट निक्षेप रकम खिचेको थियो ।