नेपाली पात्रोअनुसार वैशाख १ गते नयाँ वर्षको सुरुवात हुनु केवल तिथिको परिवर्तनमात्र नभएर, यो नयाँ आशा, संकल्प र उमङ्गको सङ्गम पनि हो । विसं. २०८३ को आगमनसँगै नेपाली समाजमा एकातर्फ उत्सवको माहोल छ भने अर्कोतर्फ देशको खस्कँदो आर्थिक अवस्थाले जनमानसमा गहिरो निराशा र चिन्ता पैदा गरेको छ । एकातिर नयाँ वर्ष शब्दले दिने स्फूर्ति छ, भने अर्कोतिर आर्थिक मन्दी र भविष्यको अनिश्चितताले सिर्जना गरेको बादलले आम नेपालीको खुसीलाई छायामा पारेको छ । यो नेपाली जनताको आशा, सपना र चुनौतीको प्रतीक पनि हो । तर, यस पटकको नयाँ वर्ष आर्थिक निराशाको छायाँमा आइरहेको छ । विगत एक वर्ष विसं. २०८२ लाई आर्थिक निराशाको वर्ष भन्न सकिन्छ । यसर्थ जेनजी आन्दोलन, राजनीतिक अस्थिरता, युवा बेरोजगारी, रेमिट्यान्समाथिको अत्यधिक निर्भरता र वैश्विक अनिश्चितताले गर्दा अर्थतन्त्रले ठूलो धक्का खाएको छ ।
नेपालमा नयाँ वर्ष मनाउने परम्परा प्राचीन कालदेखि नै छ । विक्रम संवत् ५७ मा राजा विक्रमादित्यले सुरु गरेको यो पात्रो भारतीय उपमहाद्वीपमा प्रचलित छ तर नेपालमा यसलाई राष्ट्रिय पात्रोको रूपमा अपनाइएको छ । वैशाख १ गते बिहानै उठेर सूर्योदय हेर्ने, मन्दिरमा पूजा गर्ने, नयाँ लुगा लगाउने, मीठो खाने र शुभकामना आदानप्रदान गर्ने चलन छ । यो दिनलाई प्रतिस्पर्धा र नवीकरणको प्रतीक मानिन्छ । फलतः ऐतिहासिक रूपमा, नयाँ वर्षले नेपाली समाजलाई एकताबद्ध गरेको छ । पृथ्वीनारायण शाहको एकीकरण कालदेखि राणा शासन, प्रजातन्त्र, पञ्चायत र गणतन्त्रसम्म यो दिनले नयाँ आशा जगाएको छ । तर, आधुनिक समयमा नयाँ वर्ष आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको छ । युवाहरूले यो दिनलाई नयाँ जागरणको रूपमा लिन्छन् । सामाजिक सञ्जालमा नयाँ वर्ष २०८३ जस्ता ह्यासट्याग ट्रेन्ड हुन्छन् । तर, २०८३ को नयाँ वर्षमा यो उत्सव आर्थिक निराशासँग मिसिएको छ । २०८२ मा जेनजी आन्दोलनले देशलाई हल्लायो । गत भदौ २३ देखि सुरु भएको यो आन्दोलन भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध थियो । यसले ७७ जनाको ज्यान लियो र हजारौं घाइते भए । सरकारले अनुमान गरे अनुसार यसको प्रत्यक्ष आर्थिक क्षति ८४ अर्ब नेपाली रुपैयाँभन्दा बढी भयो । तर, अप्रत्यक्ष क्षति अझ ठूलो छ । यसले लगानीकर्ताको विश्वास घट्यो, पर्यटन ठप्प भयो र उद्योगहरू बन्द भए । यो आन्दोलनले नयाँ वर्ष २०८३ लाई पुनर्निर्माण र आशाको वर्ष बनाउने चुनौती दिएको छ ।
विसं. २०८२ लाई आर्थिक निराशाको वर्ष भन्नु अतिशयोक्ति होइन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा उपभोक्ता मूल्य सूचकांक (मुद्रास्फीति) ३.२५ प्रतिशतमा झरेको छ । विदेशी मुद्रा सञ्चिति ३३०२ अर्ब रुपैयाँ पुगेको छ जसले १८ महिनाको आयात धान्न सक्छ । यसरी रेमिट्यान्स ३९.८ प्रतिशत बढेर १९८ अर्ब पुगेको छ । यी सकारात्मक सूचकहरूले अर्थतन्त्रलाई स्थिर देखाएका छन् । तर, माइक्रो लेभलमा निराशा छ । वस्तुतः जेनजी आन्दोलनले अर्थतन्त्रलाई ठूलो झट्का दियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि नयाँ सरकार गठन भयो । आन्दोलनका क्रममा सडक बन्द, व्यापार ठप्प र पर्यटकहरूको आगमन घट्यो । अर्थशास्त्रीहरूका अनुसार कुल क्षति ३ खर्ब रुपैयाँसम्म पुग्न सक्छ जुन जीडीपीको झन्डै आधा हो । विश्व बैंकले २०८२/८३ मा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य राखेको थियो तर वास्तविकता फरक छ । बेरोजगारी दर उच्च छ । युवाहरू विदेश पलायन भइरहेका छन् । २०८२मा मात्र १० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गए । रेमिट्यान्सले अर्थतन्त्र धानेको छ तर यो दीर्घकालीन समाधान होइन । निजी क्षेत्रको लगानी घटेको छ । फेडरेसन अफ नेपाली चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (एफएनसीसीआई) ले निजी क्षेत्रको विश्वास ऐतिहासिक न्यूनमा झरेको बताएको छ । विदेशी प्रत्यक्ष लगानी (एफडीआई) जीडीपीको १ प्रतिशतभन्दा कम छ ।
कृषि क्षेत्र (जीडीपीको ३१ प्रतिशत) प्रभावित छ । जलवायु परिवर्तन, बाढी र सुख्खाले उत्पादन घटाएको छ । पर्यटन क्षेत्र २०८२ मा २० प्रतिशतले घट्यो । उद्योग क्षेत्रमा निर्माण सामग्रीको मूल्य बढ्यो तर माग घट्यो । हाइड्रोपावरमा प्रगति भइरहेको छ तर प्रसारण लाइन र लगानी अभावले समस्या छ । यसमा सरकारले २०८२/८३ को बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको प्रस्तुत गरेको थियो । यसमा चालु खर्च ११ खर्ब ८० अर्ब, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन ३ खर्ब ७५ अर्ब थियो । यसमा लक्ष्य थियो भने ६ प्रतिशत वृद्धि, ५.५ प्रतिशत मुद्रास्फीति नियन्त्रण र रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । तर, मध्यावधि समीक्षामा बजेट कटौती भयो । निजी क्षेत्रले माग संकुचनलाई सम्बोधन नभएको गुनासो गरेको छ ।
नेपाली संस्कृतिमा नयाँ वर्षलाई धार्मिक र सामाजिक सद्भावको रूपमा मनाइन्छ । भक्तपुरको बिस्केट जात्रादेखि तराईको सिरुवा पर्वसम्म, नयाँ वर्षले विविधताको एकता झल्काउँछ । तर, यस वर्षको नयाँ वर्ष अघिल्ला वर्षहरूभन्दा केही भिन्न देखिएको छ । मानिसहरूमा बाह्य तडकभडकभन्दा पनि आन्तरिक स्थिरताको खोजी बढी छ । गएको वर्ष २०८२ मा भएका राजनीतिक उतारचढाव र २०८२ असोजको विरोध प्रदर्शनपछिको चुनावी माहोलले जनतामा केही आशा जगाए पनि आर्थिक परिसूचकहरूले भने अझै उत्साह जगाउन सकेका छैनन् । नयाँ वर्षको अवसरमा शुभकामना साटासाट गर्दा देशमा रोजगारी मिलोस् र महँगी घटोस् भन्ने कामनाहरू नै मुख्य प्राथमिकतामा परेका छन् ।
नेपालको अर्थतन्त्र हाल एक जटिल मोडमा छ । विश्व बैंक र एशियाली विकास बैंकका पछिल्ला प्रतिवेदनहरूले विसं. २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर खुम्चिएर २.३% देखि २.७% को बीचमा रहने प्रक्षेपण गरेका छन् । यो निराशाको पछाडि केही ठोस कारणहरू रहेका छन् । फलतः विश्वव्यापी र क्षेत्रीय प्रभावः मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि भएको छ । यसले गर्दा नेपालमा यातायात र ढुवानी खर्च बढ्न गई दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । आन्तरिक राजनीतिक अस्थिरतामा २०८२ असोजको आन्दोलन र त्यसपछिको राजनीतिक सङ्क्रमणले गर्दा विकास निर्माणका कामहरू ठप्प प्रायः भए । यसले गर्दा बजारमा पुँजी परिचालन हुन सकेन । पर्यटन र वैदेशिक रोजगारीमा धक्काले गर्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन भने वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको संख्यामा विशेषगरी खाडी मुलुकमा कमी आउनु वा त्यहाँको असुरक्षाले रेमिट्यान्सको प्रवाहमा अनिश्चितता पैदा गरेको छ । यसरी ऋण र तरलताको समस्याले बैंकहरूमा लगानीयोग्य रकम भए पनि उद्यमीहरूमा आत्मविश्वासको कमी छ । यसमा खासगरीकन साना र मझौला व्यवसायीहरू ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । जसले गर्दा सटरहरू बन्द हुने क्रम बढेको छ ।
समग्रमा भन्नुपर्दा नयाँ वर्ष २०८३ नेपाली समाजका लागि आशा र उत्सवको समय भए पनि आर्थिक दृष्टिले निराशा र चुनौतीको वर्ष बन्न सक्ने संकेत देखिन्छ । सरकारको महत्वाकांक्षी बजेटले सम्भावनाहरू देखाए पनि कार्यान्वयनमा कमजोरी रहिरहेमा आर्थिक निराशा गहिरिन सक्छ । त्यसैले संरचनात्मक सुधार, रोजगार सिर्जना, र पारदर्शी शासन नै आर्थिक पुनरुत्थानको आधार बन्न सक्छ । मूलतः नयाँ वर्ष नेपालका लागि पुनर्जागरणको अवसर हो । आर्थिक निराशाको वर्ष २०८२ ले हामीलाई पाठ दिएको छ । यसमा युवालाई केन्द्रमा राखेर, भ्रष्टाचार रोकेर र उत्पादन बढाएर मात्र समृद्धि सम्भव छ । नयाँ वर्षमा हामी सबैले प्रतिबद्धता गर्नुपर्छ । अब सरकारले सुशासन, निजी क्षेत्रले लगानी र युवाले सिर्जनशीलता बढाउनु पर्छ । यो नयाँ वर्षले आर्थिक निराशालाई चिर्दै समृद्धिको बाटो देखाओस् । वैशाख १ गतेको सूर्योदयले नयाँ उज्यालो ल्याओस् । नेपाली जनताको सामूहिक प्रयासले मात्र आर्थिक निराशाको वर्षलाई इतिहास बनाउन सकिन्छ । अतः नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! जय नेपाल ।