तेह्रथुम । जिल्लाका आठ जना पत्रकारलाई नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले सम्मान गर्नुका साथै पुरस्कार पनि प्रदान गरेको छ । शाखाले आठ हजार राशिको भगवानमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेश ढुङ्गानालाई प्रदान गरेको हो ।
पत्रकार रुद्र गुरागाईं तेह्रथुम विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई पाँच हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी, तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत पत्रकारहरु सविना लुम्फुङ्वा, सोनी लिम्बू, कृतिका लिम्बू, शारदा बाँस्कोटा र रिजु कार्कील र रेडियो तिनजुरेमा कार्यरत मोनिका बराइलीलाई प्रदान गरिएको छ ।
यहाँ आयोजित एक समारोहमा बुधबार प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गुमानसिंह इस्बो, विशेष अतिथि, प्रमुख जिल्ला अधिकारी बन्दना राई र शाखाका अध्यक्ष टिआर सेनेहाङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा महासङ्घ तेह्रथुम शाखाका सचिव कृष्ण विदुखी गौतमले नेपाल पत्रकार महासङ्घ तेह्रथुमले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रोको विमोचनसमेत गरिएको बताए ।