काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एपाक आईपीभी सिक्स काउन्सिलबीच सहकार्य गर्ने सम्झौता भएको छ । चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिटमा उक्त सम्झौता भएको हो ।
सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ । सम्झौतामा सुविसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउद र एपाक आईपीभी सिक्स काउन्सिल मलेसियाका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका हुन् । यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार–प्रसारको ढोका खोलेको छ । यस सम्झौताअन्तर्गत सुबिसु लिमिटेडले एपाक आईपीभी सिक्स काउन्सिलको संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ ।
यो सम्झौता नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ । आईपीभी सिक्सको अवलम्बन भविष्यको इन्टरनेट विस्तार, आईओटी, र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ ।