नयाँ सरकारले विद्यालयको २०८३को शैक्षिक सत्र वैशाख २१ ग्ते बाट पढाइ सुरु गर्ने निदेशन जारी गरेको छ । त्यस्तै हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने घोषणासमेत गरेको जगजाहेर नै छ । तर विद्यालय न्यूतम २२० दिन खुल्नुपर्ने कानुनी व्यवस्थालाई यसप्रकारको नीतिले पूरा नहुने सहजै अनुमान गर्न सकिन्छ । पाठ्यक्रमले निर्देशित गरेका सिकाइ उपलब्धीहरू व्यवहारिक रूपमा पूरा नहुने सहजै अनुमान गर्न सकिन्छ । अध्ययन अनुसन्धान तथमा सरोकार पक्षसँग छलफल नगरिकन ल्याइने यस्ता नीतिहरूका कारणबाट पनि गुणस्तरीय शिक्षा आसातित रूपमा हासिल नहुनु स्वभाविकै हो । शिक्षण सिकाइलगायत समग्र शैक्षिक गतिविधिको लागि दैनिक कार्ययोजना हुनु जरुरी हुन्छ । शैक्षिक योजना बनाउने र बनाएको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फ सरकार र सरोकार पक्षको ध्यान जानु जरुरी छ ।
विद्यालयका कार्यक्रमलाई व्यवस्थित चुस्त र दुरुस्त रूपमा सञ्चालन गरी सुगमतापूर्वक शिक्षाका लक्षित उद्देश्य हासिल गर्न ठीक समयमा ठीक काम गर्नुपर्ने हुन्छ । कार्यक्रममा पारदर्शिता, विकेन्द्रित जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक निणर्य प्रक्रिया जस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै अधिकतम उपलब्धी हासिल गर्न शैक्षिक क्यालेन्डरले अहं भूमिका खेल्द छ । कार्यक्रमहरूको गति र प्रगतिको समीक्षा गरी समयमा नै सच्याएर सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक हो शैक्षिक क्यालेन्डर ।
शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा रहेको बारेमा सर्वत्र चर्चा हुने गरेका छन् । यसरी खस्कनुका विविध कारण हुन सक्छन् । शिक्षण संस्थामा लगानी, विद्यमान नीति नियम, पाठ्यक्रम, शिक्षण विधि, व्यवस्थापकीय कुशलता आदीको चर्चा प्राय हुने गरेको पाइन्छ । यी माथीका कुरा बाहेक शिक्षण संस्थालाई सुचारु र व्यवस्थित रुपमा सञ्चालन गर्न योजनाबद्ध कार्यक्रमको अपरिहार्यतालाई नकार्न सकिन्न । शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित बनाउन शैक्षिक सत्रको प्राराम्भ सँगसँगै शैक्षिक क्यालेन्डर बनाएर प्रभावकारी कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउन दूरदर्शिता ठहर्छ ।
सामान्य पात्रो तिथिमिति हेर्नेदेखि साइत जुराउनेसम्म कामको लागि प्रयोग गरिन्छ । कतिपय कुरा साधरण क्यालेन्डरकै समावेश गरेर शैक्षिक क्यालेन्डर निर्माण गरिन्छ । क्यालेन्डरेमा तिथिमितिका साथै शैक्षिक गतिविधिलाई नियमित र नियन्त्रित गर्नको लागि योजना तर्जुमा गरिएको हुन्छ । पाठ्यक्रममा तोकिएको विषयवस्तु, त्यसको लागि छुट्याइएको पाठ्यभार तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापलगायतका अन्य सूचनामूलक विषयवस्तु समेटेर बनाइने शैक्षिक क्यालेन्डरलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थीलगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पुर्याउने मार्गचित्रको रूपमा लिन सकिन्छ ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउने एकाइ योजना, पाठ योजनाहरूको पनि योजना तथा वार्षिक योजनाको विकल्पको रूपमा समेत शैक्षिक क्यालेन्डरलाइ प्रयोग गर्न सकिन्छ । कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूचि क्षमता अनुसार तोकिएको समयमा सम्पन्न गर्न, सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवं परिस्कृत पेशागत प्रतिष्ठा बढाउनलगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्नको लागि शैक्षिक क्यालेन्डर कोसेढुङ्गा हो ।
शैक्षिक क्यालेन्डर सामान्यतया शैक्षिक सत्रको प्रारम्भ वैशाखदेखि नै लागू हुनेगरी चैत्र महिनाभित्र बनाउनुपर्दछ । क्यालेन्डरे बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यक्ता अनुसार अभिभावक लगायतका क्यालेन्डरेमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । क्यालेन्डरेमा शैक्षिकसत्र भरी पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवम् आकर्षक रूपमा प्रस्तुत गरिनुपर्दछ । वर्षभरी विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाइहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचरसंहिता लगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ । स्थानिय सामाजिक मूल्य मान्यत, संस्कार, संस्कृति र परम्परा को संवेदनशिलतालाई समेत हेक्का राखेर मात्र क्यालेन्डरे बनाउनुपर्छ ।
सार्वजनिक विदा सबभन्दा धेरै हुने देशहरूमध्ये विश्वमा नै अग्रपङ्गतिमा पर्ने नेपालका विद्यालयमा पढाइ हुने दिन कम हुनु अस्वभाविक होइन । तथापि विद्यमान संशोधित शिक्षा ऐन नियम अनुसार वर्षमा न्यूनतम २२० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तिमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सार्वजनिक विदाको अतिरिक्त हिउँदे वा वर्षे विदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप ५ दिन स्थानीय विदा दिने र सोभन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिने छ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक क्यालेन्डर विषय वस्तु र क्रियाकलापलाई समायोजन गरिनु पर्दछ ।
सामान्य क्यालेन्डरमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख हुन्छन् । तर यसमा यति फरक हुन्छ कि, सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश । शिक्षकले कुन पाठ के, कति दिन लगाएर अध्यापन गर्नुपर्ने, तोकिएका सिकाइ उपलब्धी हासिल भए नभएको एकिन गर्न के कस्ता मूल्यांकन विधि अपनाउनुपर्छ, कस्ता कस्ता शैक्षीक सामग्री र शिक्षण विधि उपयुक्त हुन्छ आदि प्रश्नहरूको उत्तर हो शैक्षिक क्यालेन्डर ।
शैक्षिक क्यालेन्डरे कतिपय सम्पन्न र जाँगरिला विद्यालयले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन् । तर विकट गाउँ ठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि क्यालेन्डर बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण पालिकाहरू वा शिक्षकका जिल्ला एवं केन्द्रियस्तरका पेसागत संघसस्थाले विज्ञापनलगायतका सहयोग जुटाएर क्यालेन्डर बनाइ वितरण गर्न सकेमा अझ सहज र सार्थक हुन्छ । किनकि शैक्षिक क्यालेन्डरेका मूख्य प्रयोग कर्ता शिक्षक हो । यसले शिक्षकको पेशागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिवृद्धि गरी समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहित गर्दछ । विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पुर्याउन नसकेको अवस्थामा, कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भएपनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा, पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको क्यालेन्डर पाठ्यक्रम विकास केन्द्रबाटै प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ ।