सडकमा देखाइएको छाडापनले त्यो मानिसको चरित्रलाई पनि उजागर गर्छ । जसको हातमा शक्ति छ उसले शक्ति देखाउने चलन त परापूर्वकालदेखि नै हो तर आफ्नो हातमा शक्ति छ भन्दैमा त्यसको दुरुपयोग गर्नु भनेको अरूलाई अन्याय गर्नु र राज्यको कानुन नमन्नु हो । मानिसको व्यक्तिगत विकास भनेको उसले देखाएको चरित्र अनुसार हुन्छ । मानिस व्यवहारले पनि धनी हुन सक्छ, सोचले मानिसलाई माथि लैजान्छ तर हाम्रो नेपालमा बाटोमा अनावश्यक हर्न बजाउने चलन, बाटोमा लेन मिच्ने चलन भने कायम नै छ ।
कतिपय मानिस यत्तिकै हर्न बजाएर हिँड्छन्, अरूलाई पेल्छन्, मोटरसाइकलको साइड मिरर ठोक्काएर नै हिँड्छन् । मानिस हिँड्ने बाटो, जहाँ फुटपाथ छैन, त्यहाँ मिलेर हिँड्नु पर्ने हो । बिस्तारै अनुशासित भएर गाडी बाइक हाँक्नुपर्ने हो तर बाटो सबै मेरो हो भनी, कुदाउने गर्छन् त्यही पनि हर्न बजाउँदै, त्यसमाथि एकपटक होइन २ पटक होइन प्रेसर हर्न वा टिईईईट्ट, टिट टिट टिट, पार्दै हिँड्छन् जुन अत्यन्तै अमानवीय चरित्र हो ।
आजकाल ट्राफिक प्रहरीले अत्यन्त कडाइका साथ आफ्नो ड्युटी गरिरहेका छन् । नेपालमा एकदम कडा मेहनतका साथ काम गर्ने कर्मचारीमध्ये ट्राफिक प्रहरी पनि एक हो । हेर्दा फुर्तिला देखिने, ज्यान चलाएर मज्जाले काम गर्ने नै ट्राफिक प्रहरी हुन् । हो उनीहरूलाई पनि सडकमा बस्दा–बस्दा दिक्क लाग्छ । न घाम, न पानी, न हावा हुने, न जाडो, न गर्मीको परवाह, न उचित शौचालयको व्यवस्था, न त सुरक्षित स्थान त्यही पनि अहोरात्र खटिएर यातायातलाई सहजीकरण गरिरहेका हुन्छन् । त्यति गर्दागर्दै पनि यहाँका चालकहरूको पारा हेर्दा उदेकलाग्दो देखिन्छ, न त धैर्य छ चालकमा, न त आफ्नो स्वअनुशासन, ट्राफिक नियम पालना गर्नु भनेको ट्राफिक अगाडि हुँदामात्र हो भन्ने महसुस गरी चालकले गाडी चलाउने गर्छन्, तर ट्राफिक नियम मान्नु भनेको चालक र यात्रुको सुरक्षाको लागि हो ।
अहिले विशिष्ट व्यक्तिहरूलाई पनि रोकिनु पर्ने र ट्राफिकले सभामुखको गाडीलाई पनि लेन ब्रेक गरेकोले थापाथलीमा कारबाही गरियो भन्ने समाचारलाई राम्रो संकेतको रूपमा लिनु पर्दछ । राज्यको नियम कानुन सबैले मान्नु पर्दछ र मानेन भने त्यसको भागिदार गल्ती गर्ने सबै हुनु पर्दछ भन्ने यो जल्दो बल्दो उदाहरण हो, यसले आम चालकलाई नियममा बस्नु पर्दछ भन्ने सन्देश दिन्छ ।
साथै, नेपालमा अत्यन्तै काम न काजको हर्न बजाएको सुन्न पाइन्छ, मानिस सडकमा रिसाइहाल्ने प्रवृत्ति छ । केही हुनै नहुने निहुँ खोजी हाल्ने पनि प्रथा अझै छ तर निम्न लिखित कार्यहरू अब सडकमा गरिएमा सडक भद्र र सभ्य हुन्छ भन्नेमा अन्यथा नहोला ।
मानिसले काम न काजमा यत्तिकै हर्न बजाउने हुँदा यो हर्न बजाउन निषेध गरिनु पर्दछ । हो कहिले काहीँ बाध्यता पर्दा बजाउनै पर्दछ तर यत्तिकै टिटिट् र टट्टट् पारिनु हुँदैन । त्यस्तै नेपालका मोड तथा घुम्तीमा समेत सवारी चालकहरूको धैर्यता टुटेको देखिन्छ । सिधै मोडतिर जाने अनि हर्न बजाउने चलन अत्यन्तै बढी छ । ‘पर्ख, हेर र जाऊ’ भन्ने भावना एकदमै कम देखिन्छ । त्यही भएर मोड तथा घुम्तीमा अत्यधिक मात्रामा दुर्घटना हुने गरेको छ । त्यसैगरी अनावश्यक तरिकाले कुदाउँदै हर्न बजाउने, आफूलाई हतार छ भन्दैमा अरूको मर्म नबुझ्ने चालकले त्यसरी हर्न बजाउँदै कुदेर अरूलाई पनि दिक्क लाग्ने बनाउने गरेको पाइन्छ । अनावश्यक ठाउँमा रोकिने अनि अरूलाई हर्न बजाउन बाध्य बनाउने पनि अर्को चलन नेपालका सडकमा देख्न पाइन्छ । केही मानिस त यत्तिकै हर्न बजाउँदै कुद्दै हिँड्ने गरेको पनि पाइन्छ, र बस बिसौनीमा समेत दम्भका साथ वा अरूलाई इरिटेट पार्नकै लागि हर्न बजाइदिने चलन उत्तिकै देखिन्छ ।
लेन अनुशासनको कडाइका साथ पालना गरिनु पर्दछ । अर्काको लेनमा फुत्तै छिर्नु भनेको अर्काको घर छिरे जस्तै हो, यसलाई चोरी वा अपराध मान्नु पर्दछ र कडाइका साथ पालना गराउन सक्यो भने अत्यन्तै सुन्दर सडक देखिन्छ । जसले गर्दा दुर्घटनासमेत कमी आइजान्छ । धनको क्षतिमा कमी आउँछ । त्यसको साथै बाटोमा हर्न नबजाउन, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अब बस स्ट्यान्ड कहाँ राख्ने भन्ने पहिचान गरी बस स्ट्यान्ड वैज्ञानिक तवरले बनाउनु पर्दछ । रोक्न नपाउने ठाउँमा रोकेमा कडा भन्दा कडा जरिवाना र कारबाही गरिनुपर्दछ । जथाभावी चढाउने र ओराल्ने प्रवृत्तिले दुर्घटना निम्त्याउँछ र पछाडिको चालकलाई हर्न बजाउन बाध्य बनाउँछ ।
त्यस्तै अचम्म लाग्ने कुरा त के छ भने बानेश्वर चोक जस्तो ठाउँमा, भएको बोटबिरुवासमेत मासेर हरियालीलाई उखेलेर नयाँ लेन दायाँ बायाँ मोड्ने छुट्टै लेन राख्दासमेत त्यहाँ सिधै भक्तपुर र रत्नपार्क जाने चालकले लेन अनुशासनमा नबसिदिँदा हर्न बजिरहने र नियमको उल्लंघन भइरहेको देखिन्छ । यसको पनि सम्बन्धित निकायमा ध्यान गई अब आउने दिनमा लेन के हो कसरी बस्ने लेनमा भन्ने सबक सिकाउनु जरुरी भएको छ ।
पैदल यात्रुसमेत हिँड्ने ठाउँमा स्पीड कन्ट्रोल हुनुपर्दछ, नत्र पैदल यात्रुलाई हैरान हुने गरी हर्न बजाई अधिक स्पीड भित्री सडकमा समेत हुनु यो असोभनीय कार्य हो, यसको पहिचान गरी यथाशीघ्र यस्ता चालकलाई कारबाही गरिनु पर्दछ ।
त्यसैगरी, राज्यतर्फबाट पनि बाटोमा चौपाया तथा कुकुरको नियन्त्रण गर्नु पर्दछ, सडक बत्ती र सडक संकेत प्रस्ट हुनु पर्दछ, गति सीमित गर्न कडाइका साथ निर्देशन दिइनु पर्दछ, गाडी गुड्ने ठाउँमा खाल्डाखुल्डी पुर्नु पर्दछ, नियम कानुन मिच्नेलाई कडाभन्दा कडा कारबाही गरिनु पर्दछ, मापसे गरी गाडी चलाउने तथा लागू पदार्थ सेवन गरी गाडी चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्नु पर्दछ, जेब्रा क्रसिङ उचित स्थानमा राखिनु पर्दछ र बाटो काट्ने ठाउँको उचित व्यवस्था हुनु पर्दछ ।
लाइसेन्सको प्वाइन्ट घटाउने सिस्टम हुनु पर्दछ र धेरै नियम उल्लंघन गरेमा लाइसेन्स नै सस्पेन्समा राख्ने व्यवस्था हुनु पर्दछ । चिप्लो र निर्माण हुन लागेको छ भने पहिले नै सचेत गराउनु पर्दछ, सकेसम्म समान गतिमा गाडी गुडाउन प्रोत्साहन गर्नु पर्दछ, सार्वजनिक सवारीका ड्राइभरहरूलाई तालिम र अवेयरनेस कार्यक्रममा भाग लगाउनु पर्दछ, जथाभावी पार्किङलाई कडाभन्दा कडा कारबाही गर्नु पर्दछ, ड्राइभवेमा गाडी रोक्नेलाई पनि कडा कारबाही गर्नु पर्दछ ।
मैले बाटोमा देखे अनुसार, कतिपय निजी सवारी साधन त नियम मिच्ने छन् तर पनि स्कुलका गाडी जुन गाडीले बच्चा लिएर हिँडेको हुन्छ, त्यस्ता गाडीसमेत स्पीडमा कुदाई लेन अनुशासनमा नबसी हर्न बजाएको देखिन्छ, त्यसबाट त्यो गाडीमा चढेका स्कुले बच्चाले के सिक्छन्? त्यसैगरी सरकारी गाडी, सुरक्षा निकायका गाडीसमेत नियम नमानी कुदाउनु भनेको सरकारी नुन खाएरै सरकारको नियमलाई धज्जी उडाएको हो भन्ने प्रस्ट हुन्छ । तसर्थ, विद्यालयका सवारी चालक, सरकारी सवारी चालक र सार्वजनिक यातायातका चालक मात्र नभई विभिन्न राइडर कम्पनीसँग आबद्ध चालकदेखि निजी सवारी चलाउने सबैलाई अनुशासित, जिम्मेवार र संयमित चालक बन्ने तथा धैर्य राख्ने संस्कार सिकाउनु अत्यन्त आवश्यक देखिन्छ । आजभोलि कतिपय राइडरहरू बढी कमाउने र बढी टिप पाउने लालसामा हतार–हतार चलाउने, अनावश्यक रूपमा हर्न बजाउँदै अगाडि बढ्ने जस्ता प्रवृत्तिमा समेत संलग्न भएको देखिन्छ, जसले सडक सुरक्षामा थप जोखिम निम्त्याएको छ । हाल हरेक दिन ४०,००० भन्दा बढी लाइसेन्स प्रिन्ट भइरहेको खबर पाइरहेका छौं । यी सबै नयाँ चालकहरूलाई ट्राफिक ज्ञान व्यवहारमा उतार्न सिकाउन सकिएमा असल व्यवहार विकास भई सभ्य समाज निर्माणमा ठूलो मद्दत पुग्ने थियो ।
हामी सबै मिली देशलाई, सडकलाई र यो समाजलाई बौद्धिक रूपमा माथि लैजाने बेला आएको छ, सडकको अनुशासन घर, कार्यालय र कार्यस्थलको अनुशासन हो भन्ने प्रस्ट हुन्छ । आशा छ सबै जनताको बुद्धि पलाउने छ, अनावश्यक रूपमा हर्न बजाउने छैनन् र लेन अनुशासनमा समेत बसी सभ्य नागरिकको परिचय दिने छन् ।
देश हामी सबैको हो, बाटो सबैको साझा हो, आफ्नै बाटो जसरी फुर्ती लगाएर सवारीसाधन चलाउनु भनेको राज्यको नियम कानुनलाई हेप्नु हो । अरू चालकलाई सडकमा रिस उठाउने बनाउनु हो, जुन कसैलाई र कानुनलाई मान्य हुने छैन ।
काठमाडौं अव्यवस्थित भए पनि आजकाल हेर्दा सुन्दर लाग्न थालेको छ, हरियाली हुँदै छ, पार्किङको उचित व्यवस्था हुँदै छ, सफा देखिन थालेको छ, न्युरोड लगायत धरहरा तिर पनि रमाइलो देखिन थालेको छ । तर गाडी रोक्ने स्थानको उचित प्रबन्ध नभएकाले त्यस्ता ठाउँहरूमा हर्न बजाउने, लेन मिच्ने जस्ता प्रवृत्ति बढ्नुका साथै केही अस्तव्यस्तता पनि देखिन्छ ।
काठमाडौं महानगरपालिकाले पनि वैशाख ५ गते शनिबारदेखि असन क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र बनाउने लागेको खबरले अत्यन्तै हर्ष लागेको छ, यसले गर्दा पर्यटकको आगमन बढ्ने र स्थान शान्त रहने हुन्छ ।, स्थानीय कला र साहित्यलाई सडकमै देखाउन पाइने, हर्न मुक्त हुने र गाडीको आवाज पनि सुन्न नपर्ने हुँदा रमाइलो वातावरण हुने निश्चित छ, त्यसैगरी स्थानीय परिकारको पनि सडक खानाको उचित प्रबन्ध गर्न पाइने हुनाले यो राम्रो सुरुवात हो । त्यसैगरी असनमै राम्रा फूल बगैंचा हुन्, लहरा झुलुन, शान्त होस्, हर्नको आवाज सुन्न नपरोस् । देशको कला, संस्कृति र सभ्यता माथि उठोस्, संसारले नेपालबाट पाठ सिकुन् । सभ्य चालक बनौं, हर्न निषेध गरौं, लेन अनुशासनको कडाइका साथ पालना गरौं ।
अब राज्यले तथा ट्राफिक प्रहरीले मात्र यो अस्तव्यस्त सडकलाई पूर्ण रूपमा नियमअनुसारमा ल्याउन सक्छु भनेर सोचमात्र पर्याप्त हुँदैन । हो, राज्यको तर्फबाट सबै गाडीहरूमा इम्बोस्ड नम्बर राख्ने, सहर, गल्ली र सडकमा क्यामेराको व्यवस्था गर्ने, आकस्मिक चेकिङ गर्ने, चालकलाई सम्झाउने तथा छाडा चालक नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने काम गर्नुपर्छ । तर त्यससँगै जनताको र चालकहरूको तर्फबाट पनि सबै सचेत हुन आवश्यक छ । अनावश्यक रूपमा हर्न बजाउँदै, बेलेनमा कुद्ने बानी त्यागेर सबै आफैं स्वअनुशासित भई सवारी साधन चलाउने हो भने नेपालमा दुर्घटनाको दरमा न्यूनिकरण भई सडकलाई स्थायी रूपमा सभ्य बनाउन सकिन्छ । जय देश, जय नेपाल ।