काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोजनका सामग्रीमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णय असंवेदनशील भएको बताएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञेप्ती जारी गरि सरकारले जनविरोधी, अव्यवहारिक र असंवेदनशील निर्णय गरेको उल्लेख गरेका छन् । साथै कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । खुला सीमाको अभ्यासका कारण सीमावर्ती बासिन्दाले दैनिक उपभोग्य वस्तु भारतबाट सस्तोमा ल्याइ जीवन निर्वाह गर्दै आएको सन्दर्भमा यस्तो निर्णयले विशेषगरी मधेश प्रदेशका निम्न आय वर्गलाई प्रत्यक्ष असर पार्ने कांग्रेसको भनाइ छ । ज्यालादारी मजदुर, साना किसान तथा गरिब परिवारहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने विज्ञेप्तीमा उल्लेख छ ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँसम्म पुगेको अवस्थामा २/३ सय रुपैयाँ बराबरको सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु जनताको क्रयशक्ति घटाउने र गरिबीलाई थप संस्थागत गर्ने नीति भएको कांग्रेसले टिप्पणी गरेको छ । सरकारले उठाएको कदममाथि कांग्रेसले केही गम्भीर प्रश्नसमेत उठाएको छ ।