काठमाडौं । ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को औपचारिक घोषणा गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो । सन् २००८मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्वस्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गरिनुका साथै निर्णायक समितिको परिचय गराइएको थियो । बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा ल्याउने घोषणा गरिएको थियो । टेरेन्स लुइस ’डान्स इन्डिया डान्स’ र ’इन्डियाज बेस्ट डान्सर’ जस्ता ठूला भारतीय रियालिटी सोका चर्चित निर्णायक हुन् ।
ग्रान्ड जज टेरेन्सका साथै निर्णायक मण्डलमा नेपालको लेजेन्डरी ’वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र ’वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु रहनेछन् । ‘वल्र्ड अफ डान्स नेपाल’का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहनाअनुरूप यो कार्यक्रम ल्याइएको बताए । त्यस्तै, कलात्मक निर्देशक जेडी तमुले प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्य नै मुख्य केन्द्रमा रहने जानकारी दिए । अडिसनमा भारतीय डान्सरहरूले समेत सहभागिता जनाउन पाउनेछन् ।
पत्रकार सम्मेलनमा विजेताहरूलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । उक्त ट्रफी २४ क्यारेट सुनको जलप लगाइएको (रियल गोल्ड प्लेटेड) रहेको जनाइएको छ । प्रतियोगितालाई मुख्य गरी चार वटा डिभिजनमा विभाजन गरिएको छ । अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन । प्रत्येक डिभिजनका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट पहिरन, उत्कृष्ट विषयवस्तु र दर्शकको रोजाइजस्ता विधामा पनि अवार्ड तथा गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ ।
नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा अडिसनहरू हुनेछन् । अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको प्रतिस्पर्धात्मक सेमिफाइनल जेठ २१ गते हुनेछ भने प्रतियोगिताको भव्य ग्रान्ड फिनाले जेठ २३ गते हुने जनाइएको छ ।