काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरेको भन्दा थप सेयर र ऋण रहेको बताएका छन् । गृहमन्त्री गुरुङले नामूद बदनामी बिचौलिया दीपक भट्टको कम्पनीमा आफ्नो पनि सेयर रहेको सोमबार सामाजिक सञ्जालमा स्टाटस लेखेर स्वीकार समेत गरेका छन् । उनको नाममा भएको सेयर संरचनाको बारेमा आइतबारदेखि विभिन्न सञ्चार माध्यममा समाचार आउन थालेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । तर, जति नै स्पष्टीकरण दिए पनि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा नपरेको उक्त सम्पत्तिको स्रोतका बारेमा विभिन्न प्रश्न उठेका छन् । भएको सम्पत्ति पनि विवरणमा सार्वजनिक नगरी झूट विवरण दिएका गुरुङको नाममा थप सम्पत्ति छ भन्नेहरूलाई यो विवरणले बल प्रदान गरेको छ ।
‘सम्पत्ति विवरणमा सार्वजनिक नभएको सम्पत्ति अहिले आएर मेरै हो भन्नु गृहमन्त्रीको बद्मासी हो’, एक पूर्वअर्थमन्त्रीले आर्थिक दैनिकसित भने, ‘विभिन्न सञ्चार माध्यममा गृहमन्त्री गुरुङले सम्पत्तिको विषयमा झूट बोलेको र उनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ भनेर आवाज उठेपछि त्यो सम्पत्ति मेरै हो र ऋण गरेर खरिद गरेको भन्नु अर्को बदमासी हो ।’
सम्पत्ति विवरण र वास्तविक सम्पत्ति फरक परेपछि उनले सकभर सम्पत्ति लुकाउन कोसिस गरेको देखिन्छ । स्रोत कमजोर भएरै सम्पत्ति लुकाउने प्रयास गरेको हुन सक्तछ । गृहमन्त्रीका अन्य सम्पत्तिको स्रोतको विषयमा पनि जताततैबाट प्रश्नहरू उठेका छन् । उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर आवाज उठे पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको बैठकले राजीनामाको बारेमा कुनै छलफल नगरेको नेताहरूले सञ्चार माध्यमलाई दिएका छन् । रास्वपाले छलफल नगरे पनि आम नागरिकमा गुरुङको सम्पत्तिको स्रोत खोतल्न सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
यद्यपि गुरुङले आफ्नो सम्पत्तिको बारेमा प्रश्न उठेपछि छानबिनका लागि सहयोग गर्ने जानकारी फेसबुकको स्टाटसमार्फत दिएका छन् । उनले छानबिनका लागि सहयोग गर्ने बताए पनि बहालवाला मन्त्रीको सम्पत्ति विवरण मगाएर छानबिन गर्ने हैसियतमा नेपालका कर्मचारी प्रशासन छैन । अझ अहिलेको सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले कानुनभन्दा पनि आफूले भनेको नमान्ने हो भने ठाउँ खाली गर भनेर धम्की दिने गरेका छन् । यस्तो बेला सम्पत्ति शुद्धीकरण विभागले गुरुङ मन्त्रीमै बहाल गरेको बेला सम्पत्ति छानबिन गर्छ भनेर पत्याउन सकिँदैन ।
‘सम्पत्तिको विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग हो र सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको छ । यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन । यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन । ‘पृष्ठभूमि नजाँची लगानी’ भन्ने कुरा पनि उठाइएको छ । व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन । हरेक लगानीमा जोखिम हुन्छ । पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधाअनुसारको व्याख्या हो । ‘प्रतिक्रिया नदिनु’लाई पनि प्रश्न बनाइएको छ । कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन’, मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट भनेका छन् ।
आम सञ्चार माध्यममा आफूहरूका बद्मासी छताछुल्ल हुन्छ भनेरै अहिलेको सरकारले सञ्चार माध्यममा विज्ञापन नदिने भनेर आर्थिक नाकाबन्दी लगाएको छ । सरकारी विज्ञापन बन्द गरेपछि सञ्चार माध्यम बन्द हुन्छन् र आफूहरूको हालीमुहाली सुविधाजनक तरिकाले चलिरहन्छ भन्ने बुझाईमा रास्वपा र उसको नेतृत्वको सरकार छ । तर, सधैँ एकछत्र राज गर्न जनताले दिँदैनन् भन्ने हेक्का उनीहरूले राखेका छैनन् । बिचौलिया भट्ट र उनी कम्पनीको संस्थापक सेयर होल्डर भएको प्रमाण सार्वजनिक हुँदा हुँदै पनि उनले त्यसलाई पनि ढाँट्ने कोसिस गरेका छन् । तर, उनको ढाँट्ने प्रयास सफल हुँदैन ।
विवादास्पद व्यापारिक समूह शंकर ग्रुप शंकर ग्रुपका सुलभ अग्रवाल र बिचौलिया दीपक भट्टको धेरै सेयर भएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गृहमन्त्री गुरुङको ५० लाख रुपैयाँको सेयर छ । उक्त सेयरको लगानी शंकास्पद छ । उनी ती दुई कम्पनीमा संस्थापक सेयर होल्डर हुन् । संस्थापक सेयर होल्डर बन्नका लागि उनले को को छन् भनेर सल्लाह नै गरेर त्यसमा लगानी गरेका हुन् । तर, सामाजिक सञ्जाल फेसबुकमा भने उनले आफू सेयर होल्डर भए पनि त्यसमा को–को छन् आफूलाई थाहा नभएको जिकिर गरेर पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् ।
गृहमन्त्री गुरुङले सयौँ रोपनी जग्गा सम्पत्ति विवरणमा देखाएका छन्, जुन हदबन्दीभन्दा बढी छ । हदबन्दीभन्दा बढी जग्गा राज्यले अधिग्रहण गर्नुपर्नेमा त्यो किन भएन भन्ने प्रश्न अहिले जताततै छताछुल्ल छ । गुरुङले आफ्नो सम्पत्तिमा ८९ तोला सुन, छ किलो चाँदी र विभिन्न कम्पनीमा रहेका करोडौँको सेयर खरिदको स्रोत पनि पारदर्शी रूपमा उल्लेख गर्न सकेका छैनन् । उनको वैधानिक काम, उनको उमेर, शैक्षिक योग्यतालगायतका विषयले उनले जोडेको सम्पत्तिको बारेमा धेरैले वैधानिक स्रोतको खोजी गरेका हुन् । अब उनको वैधानिक स्रोतको बारेमा वर्षौँपछि पनि छानबिन हुने देखिन्छ । ‘अहिले गृहमन्त्री र रास्वपाको शक्तिको कारण छानबिन रोके पनि सधैँ एउटै व्यक्ति र पार्टीमा शक्तिमा नहुने भएको कारण उनको बारेमा कुनै पनि दिन छानबिन हुनेमा कुनै शंका भएन ।
गृहमन्त्री गुरुङले केही दिनअगाडि सार्वजनिक गरेको सम्पत्ति विवरणमा दुई करोड ७४ लाख रुपैयाँबराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर रहेको उल्लेख गरेका छन् । जब कि, उनले ती सेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख गरेका थिएनन् भने अहिले सञ्चार माध्यमले सार्वजनिक गरेको नयाँ सेयर त कतै उल्लेख नै थिएन ।
कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार गुरुङका नाममा लिबर्टी र स्टार माइक्रोइन्स्योरेन्सको २५–२५ हजार कित्ता संस्थापक सेयर छ । उक्त सेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको पनि सोही विवरणमा देखिन्छ । मन्त्री गुरुङले भदौ २३ र २४ भदौको जेनजी आन्दोलनबाट पानी वितरण गरेर राजनीतिक यात्रा सुरु गरेका हुन् ।