अरू देशमा युद्ध हुँदा आधुनिक कालदेखि कहिल्यै युद्ध नलेडको र युद्धका बारे सधैं विरोध गर्दै आइरहेको नेपालले सधैँ युद्धबाट नै पीडित हुँदै आउनुपरेको दुःखद् अवस्था भोगिरहेको छ । मध्यपूर्वमा विगत तीन वर्षदेखि चललिरहेका युद्धमा सुरुकै बेला ठूलो संख्याको ज्यान गयो । त्यही क्षेत्रको पछिल्लो युद्धमा पनि नेपालीहरूको हताहती भई नै रहेको छ । नेपालभन्दा टाढा रहेको रुस युक्रेन युद्धमा त कति नेपालीले ज्यान गुमाइसके भन्ने हिसाब–किताबसमेत छैन । मृत्युका खबर भने आइरहेकै छन् । केहीअघि मात्रै छिमेकी मुलुकमै उताका दुई देशबीचको शत्रुतामा ठूलो संख्याका नेपालीको ज्यान गएको थियो । यसले के देखाउँछ भने, उता युद्ध चल्छ र यता पीडाभने नेपालीले भोग्नुपर्छ । यस्तो अन्यायपूर्ण अवस्थाको कहिल्यै अन्त्य हुँदैन भन्ने अहिले गम्भीर प्रश्न उठेको हुनुपर्छ । यसका साथै आफू सामेल नभएको युद्धबाट पुगेको यस्तो क्षतिको सम्बन्धित युद्ध बोलाउने देशहरूले क्ष्तिपूर्ती दिन पर्देन ? यसको सही उत्तर कसले दिने भन्ने पनि उस्तै अन्योलमा नै रहेको देखिन्छ ।
पछिल्लो समय नेपालभन्दा निकै टाढा रहेको पश्चिम एसिया द्वन्द्वका कारण नेपालीले भोग्नुपरेको पीडात दुरदराजका चुलोसम्म नै पुगेको छ । यही युद्धले पेट्रोलियम पदार्थमा यति ठूलो मूल्यवृद्धि भयो । जसले सर्वसाधारण नागरिकको साधारण प्रकारको जीवनयापनमा समेत दुरूह बन्न पुगेको छ । यद्यपि पश्चिम एसिया द्वन्द्वले नेपालमात्र होइन अरूदेश पनि पीडित भएका छन् । तर उनीहरूको राम्रो व्यवस्थपका कारण त्यसको प्रभाव त्यहाँका आम नागरिकसम्म पुगिसकेको छैन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सबैतिर समान नै हो । तर आन्तरिक व्यवस्थापनमार्फत राहतका प्याकेजले केही न केही राहत पुगिरहेकै देखिन्छ । तर त्यसको उचित व्यवस्थापन गर्न नसकिँदा वा ढिलाइ हुँदा नेपाली सर्वसाधारणहरू भने ठूलो अंकको महंगीको मार खेप्न बाध्य देखिएका छन् । जस्तो अमेरिका तथा इजरायल र इरान द्वन्द्वका कारण नेपालमा पिउने पानीको उत्पादनमा लागत बढेको भन्दै एकैपटक ४० प्रतिशतका दरले हुनेगरी मूल्य बढाउने काम भएको छ । यसरी मूल्य बढाउने कुरा त संस्थागत रूपमा भएको छ । जब पानीकै मूल्य बढ्छ भने अरू खाद्यपदार्थको मूल्यको त कुरा गर्नै परेन । यसको निहु भने डिजेल तथा पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागतमा उल्लेखनीय वृद्धि भएको भनेर बताइएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा उनीहरूकै भनाइअनुसार बजार प्रभावित हुने भयो नै ।
अरू त अरू यतिबेला सरकार आफैँले बजारलाई महँगो बनाइरहेको छ । जस्तो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको कारण भन्दै गएको चैत अन्तिम सातामा सरकार आफैँले सार्वजनिक सवारी साधानको भाडादरमा भारी मात्रामा वृद्धि गरिदियो । नेपालमा पेट्रोलियम पदार्थ आयात गरिरहिएको एउटै मात्र देश भारत नै हो । विज्ञहरूका अनुसार यता नेपालमा यो पदार्थमा पटक–पटक विगतभन्दा डब्बल हुनेगरी मूल्य बढाइँदा उता भारतमा भने मूल्यलाई स्थिर नै राखिएको छ । जसले इन्धनका कारण महंगी बढ्न पाएको छैन । त्यसको प्रभाव बजारमा दैनिक मात्रामा आपूर्ती हुने अत्यावश्यक वस्तुमा पनि पर्ने भयो नै । अर्थात् बजार नियान्त्रणमा राखिएको छ भने नेपालले त्यसको अनुकरण किन नगर्ने भन्ने प्रश्न उब्जिने भयो नै । पेट्रोलियम पदार्थको मूल्यवृद्धिकै कारण भन्दै खाद्यन्नमा पनि आफ्नो अनुकूलको मूल्य बढाएको छ । बजारमा यतिबेला चामलमा ५० देखि ७५ रुपैयाँ, दालमा २० देखि ३० र गेडागुडीमा १० देखि १५ रुपैयाँ मूल्य बढेको अवस्था छ । पेट्रोलियम पदार्थमा भएको वृद्धिलाई देखाएर निर्माण सामग्री पनि ठूलो मात्रामा महँगा भएका छन् । बिटुमिन, सिमेन्ट, डण्डीलगायतका वस्तु महँगो हँुदा समग्र विकास निर्माणका काम रोकिन्छन् । यस्तो चौतर्फी पीडाबाट सरकारले आफ्ना नागरिकलाई सकेसम्मको राहत प्याकेजको व्यवस्था गरेर आफ्नो उपस्थिति देखाओस् ।