नेपालमा हालै पुनः बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को प्रकोप फैलिएको छ । यो अत्यधिक संक्रामक र घातक भाइरस एच–५एन–१ ले पोल्ट्री फार्महरूलाई ठूलो क्षति पुर्याएको छ । सरकारी तथ्यांकअनुसार चैत्र महिनामा मात्र २३ देखि ३३ वटा फार्ममा संक्रमण पुष्टि भएको छ र १ लाख १३ हजारदेखि १ लाख ३० हजारभन्दा बढी पंक्षी कुखुरा, हाँस आदि नष्ट गरिएका छन् । यससँगै लाखौं अण्डा र टनौं दाना पनि नष्ट गरिएको छ । यो प्रकोप मुख्य रूपमा कोशी प्रदेशका जिल्लाहरूमा मोरङ, सुनसरी, झापामा केन्द्रित छ भने चितवन, बाराको साथै अन्य केही जिल्लामा पनि फैलिएको देखिन्छ । फलतः बर्डफ्लुले न केवल पशुपंक्षी क्षेत्रलाई प्रभावित गरेको छ, यसले किसानहरूको जीविकोपार्जन, अण्डा तथा मासुको आपूर्ति, बजार मूल्य र समग्र अर्थतन्त्रमा पनि ठूलो असर पारिरहेको छ । विगतका वर्षहरूमा पनि मुलुकमा बर्डफ्लुका प्रकोप देखिएका थिए । जसमा सन् २०२२ मा १५ जिल्लामा फैलिएर ६ लाखभन्दा बढी पंक्षी नष्ट भएका थिए । तर, सन् २०२६ को यो प्रकोपले छोटो समयमै ठूलो संख्यामा फार्म प्रभावित गरेको छ ।
बर्डफ्लु, वा एभियन इन्फ्लुएन्जा, इन्फ्लुएन्जा भाइरसको एच–५एन–१ गराउने रोग हो । यो मुख्य रूपमा चराहरूमा फैलिन्छ तर कहिलेकाहीं मानिसमा पनि संक्रमण हुन सक्छ । जसको मृत्युदर उच्च हुन्छ । यो भाइरसले संक्रमित चराको श्वासप्रश्वास, आँखा, नाकबाट स्राव र दिसाबाट फैलिन्छ । जसमा फार्महरूमा घनत्व उच्च भएकाले एकैचोटि ठूलो संख्यामा पंक्षी प्रभावित हुन्छन् । वस्तुतः राष्ट्रमा बर्डफ्लु पहिलोपटक सन् २००९ मा झापामा देखिएको थियो । त्यसपछि विभिन्न वर्षमा प्रकोप आएका छन् । विगतको इतिहासलाई हेर्दा, कोशी प्रदेश बारम्बार प्रभावित हुने क्षेत्र हो । किनकि यो भारतसँग सीमा जोडिएको छ र चराहरूको बसाइँसराइ वा व्यापारबाट भाइरस सजिलै सर्न सक्छ । जबकि आर्थिक वर्ष २०२५÷२०२६ मा पनि आठ महिनाको अन्तरालपछि मार्चमा मोरङबाट पुनः सुरु भएको यो प्रकोपले चैत्र महिनाभरि तीव्र गतिमा फैलियो ।
सरकारी पशु सेवा विभागको तथ्यांकअनुसार, २०२६ मार्च १८ मा मोरङको सुन्दरहरैचा–४ र उर्लाबारी–८ बाट पहिलोपटक एच–५एन–१ पुष्टि भयो । त्यसपछि छोटो समयमा यो २३ फार्ममा पुग्यो । अप्रिल ६–७ सम्मको डाटामा सुनसरीमा १२ फार्म, मोरङमा ८ फार्म, झापामा २ फार्म र चितवनमा १ फार्म प्रभावित थिए । कुल १ लाख १३ हजार ६ सय ८ पंक्षी (कुखुरा र हाँस) नष्ट गरिएका थिए । यससँगै २ लाख ११ हजार ८ सय ६७ अण्डा र २५ हजार ८ हजार केजी दाना पनि नष्ट गरियो । यो प्रकोपले पोल्ट्री क्षेत्रलाई ठूलो धक्का दिएको छ । कोशी प्रदेशमा मात्र एक महिनामा ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । किसानहरूले लगानी गरेको कुखुरा, दाना, अण्डा सबै नष्ट हुँदा ठूलो घाटा व्यहोर्नुपरेको छ । अण्डाको उत्पादन घट्दा बजारमा मूल्य बढेको छ, जसले उपभोक्तालाई पनि असर पार्छ । यसर्थ कुल पोल्ट्री क्षेत्रको योगदान देशको कृषि जीडीपीमा महत्वपूर्ण छ । विगतका प्रकोपमा जस्तै यसपटक पनि किसानहरूले क्षतिपूर्ति मागेका छन् । सरकारले ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने घोषणा गरेको छ तर कार्यान्वयनमा ढिलासुस्ती छ । यसमा ठूला फार्म सञ्चालकहरूले बैंक ऋण तिर्न नसक्ने अवस्था आएको छ । जसमा रोजगारी गुम्ने, साना किसानहरूको जीविकोपार्जन प्रभावित हुने जोखिम छ । यसर्थ मानिसमा संक्रमणको जोखिम न्यून छ तर संक्रमित चरासँग प्रत्यक्ष सम्पर्क भएका व्यक्तिमा सावधानी अपनाउनुपर्छ । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले नेपाललाई सहयोग गरिरहेका छन् ।
देशभरका ताजा तथ्यांकलाई अवलोकन गर्ने हो भने हालसम्म ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ । जुन संक्रमण नियन्त्रण तथा थप फैलावट रोक्न सरकारले ठूलो मात्रामा पंक्षी, अण्डा र दाना नष्ट गरेको छ । सरकारी तथ्यांकअनुसार हालसम्म १ लाख ३० हजार ९ सय १२ वटा पंक्षी नष्ट गरिएको छ । साथै २ लाख ३७ हजार ५ सय ६२ वटा अण्डा र ३३ हजार ४ सय ४५ किलो दाना सुरक्षित रूपमा खाल्डोमा पुरेर नष्ट गरिएको छ । जिल्लागत विवरण अनुसार सुनसरी सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । जहाँ १७ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । मोरङमा १० वटा फार्म प्रभावित भएका छन् र यहाँ ५३ हजार ७ सय २१ पंक्षी नष्ट गरिएको छ । जुन जिल्लागत रूपमा सबैभन्दा बढी क्षति हो । चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) पनि संक्रमण प्रभावित जिल्लामा परेका छन् । चितवनको एउटै फार्ममा मात्र १८ हजार ८६३ पंक्षी नष्ट गरिएको छ । झापामा ३ वटा फार्ममा १५ हजार ३९० पंक्षी नष्ट गरिएको छ । त्यसैगरी बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ पंक्षी नष्ट गरिएको तथ्यांक छ ।
नेपालमा बर्डफ्लुको यो प्रकोपले पंक्षीपालन क्षेत्रको कमजोरी उजागर गरेको छ । १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट हुँदा किसानहरूको सपना चकनाचुर भएको छ । सुनसरी, मोरङ, झापा जस्ता जिल्लामा ठूलो क्षति भए पनि यो पूरै देशको समस्या हो । तत्काल नियन्त्रण सफल भए पनि भविष्यमा यस्ता प्रकोप दोहोरिन नदिन संरचनागत सुधार आवश्यक छ । सरकार, किसान, विज्ञ र अन्तर्राष्ट्रिय संस्थाहरूको समन्वयले मात्र यो चुनौती पार गर्न सकिन्छ । स्वस्थ पोल्ट्री क्षेत्रले नै खाद्य सुरक्षा र अर्थतन्त्रलाई बलियो बनाउँछ । बर्डफ्लु नियन्त्रणमा सबैको साझा प्रयास अपरिहार्य छ । सतर्कता, विज्ञान र जिम्मेवारीले नेपाललाई यस्ता संकटबाट बचाउन सक्छ ।
नेपालको पोल्ट्री उद्योग, जुन अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ हो, यसपटकको बर्डफ्लु प्रकोपले गम्भीर धक्का व्यहोरेको छ । सरकारले संक्रमित पंक्षी मार्ने काममा दक्षता देखाए पनि, त्यसको क्षतिपूर्ति र पुनर्स्थापनाको पाटो उत्तिकै कमजोर देखिन्छ । तीन हजारभन्दा बढी कुखुरा नष्ट हुँदा लाखौंको क्षति व्यहोरेर बसेका किसानले अब सरकारबाट सहयोगको अपेक्षा गरेका छन् । यो महामारीले नेपालको कृषि नीति र बीमा क्षेत्रको ठूलो खाडललाई देखायो । भविष्यमा यस्तो पुनरावृत्ति नगर्नका लागि सरकार, स्थानीय निकाय र व्यवसायीबीच त्रिपक्षीय साझेदारी आवश्यक छ । पशुपन्छी पालन गर्ने किसानलाई सहुलियत बीमा, समयमै राहत र फार्महरूको नियमित अनुगमन गर्ने प्रणालीको विकास अहिलेको आवश्यकता हो । यदि यी पाटाहरूमा तत्काल सुधार भएन भने, भविष्यको जुनसुकै प्रकोपले यसैभन्दा ठूलो क्षति पुर्याउन सक्छ । तत्कालका लागि भने, प्रभावित जिल्लाका जनताको स्वास्थ्य सुरक्षा र प्रभावित किसानहरूको पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकता हुनुपर्छ ।
समग्रमा भन्नुपर्दा लाखैलाखभन्दा बढी पंक्षी नष्ट हुनु केवल एउटा तथ्यांक मात्र नभएर, यो हजारौँ किसानको पसिना र राष्ट्रको ठूलो पुँजीको क्षति हो । बर्डफ्लुको बारम्बारको प्रकोप रोक्न सरकारले केवल नष्ट गर्ने नीतिमा मात्र सीमित नभई दीर्घकालीन समाधान खोज्नुपर्छ । यसर्थ आगामी बाटोका लागि सुझावहरू सीमानाकाहरूमा कडा निगरानी गरी अवैध रूपमा हुने कुखुरा तस्करी रोक्ने, किसानहरूका लागि सहज र छिटो मुआब्जा वितरण प्रणाली विकास गर्ने, आधुनिक र वैज्ञानिक जैविक सुरक्षा प्रणाली अपनाउन किसानहरूलाई तालिम र अनुदान दिने आदि कार्यहरू तदारुकका साथ गर्नुपर्ने स्थिति खट्किएको छ । जसले गर्दा देशको पोल्ट्री व्यवसायलाई आत्मनिर्भर बनाइराख्न र जनस्वास्थ्यको रक्षा गर्न राज्य र निजी क्षेत्र दुवैको समन्वयकारी भूमिका अहिलेको मुख्य आवश्यकता पनि हो । मूलतः देशमा बर्डफ्लु महामारीले पोल्ट्री उद्योगमा ठूलो संकट ल्याएको छ । हालसम्म धेरै पंक्षी नष्ट गरिएको तथ्यांकले यसको गम्भीरता देखाउँछ । यसले किसान, उपभोक्ता, र सरकार सबैलाई चुनौती दिएको छ । अतः दीर्घकालीन समाधानका लागि किसानलाई राहत, जैविक सुरक्षा, र जनचेतना अत्यावश्यक देखिन्छ । यस समस्याको समाधानका लागि सरकार, निजी क्षेत्र र किसानबीच समन्वय आवश्यक छ । समयमै नियन्त्रण गर्न सकिएन भने यसले खाद्य सुरक्षा, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ । अन्ततः, बर्डफ्लु नियन्त्रण केवल रोग नियन्त्रण मात्र नभएर, यो नेपालको कृषि भविष्य सुरक्षित गर्ने अभियान पनि हो ।