अमेरिका । प्रविधि कम्पनी एप्पलमा १५ वर्षपछि नयाँ प्रमुख कार्यकारी (सीईओ) नियुक्त भएका छन् । वर्तमान सीईओ टिम कुकले राजीनामा दिएपछि जोन टर्नसलाई नयाँ सीईओ नियुक्त गरिएको हो ।
नयाँ सीईओ बन्नलागेका टर्नस अहिले हार्डवेयर इन्जिनियरिङका प्रमुख छन् । उनी विगत २५ वर्षदेखि एप्पलमै रहेका छन् । आगामी सेप्टेम्बर १ देखि उनी प्रमुख कार्यकारी बन्दा कुक भने एप्पलको कार्यकारी अध्यक्ष बन्ने बताइएको छ । सन् २०११ यता कुक एप्पलको प्रमुख कार्यकारी छन् । तत्कालीन समयमा सहसंस्थापक स्टिभ जब्सले स्वास्थ्यका कारण राजीनामा दिएपछि उनी प्रमुख कार्यकारी बनेका थिए। जब्सको त्यतिबेलै निधन भएको थियो ।
टर्नसलाई अब कुकले योबीचमा कार्य हस्तान्तरण गर्नुका साथै विश्वभरका नीतिनिर्माताहरुसँग कम्पनीका विविध पक्षहरुमा सहयोग गर्ने बताइएको छ । कुकले एप्पलको नेतृत्वमा रहेर काम गर्न पाउनुलाई जीवनकै ठूलो अवसरका रुपमा लिएको बताएका छन् । उनकै नेतृत्वमा एप्पल विश्वकै मूल्यवान् कम्पनीहरुमध्ये एक बन्न सफल भएको थियो । सन् २०१८ मा एप्पल १० खर्ब डलर मूल्यवान् बन्ने पहिलो पब्लिक कम्पनी बनेको थियो । अहिले एप्पल ४० खर्ब अमेरिकी डलर मूल्यवान् बनेको छ । कुकले टर्नसलाई कम्पनीको नेतृत्व गर्नसक्ने उपयुक्त व्यक्ति भनेका छन् ।