नयाँवर्ष २०८३ सुशासन प्रवर्द्धन र सम्बर्द्धनका दृष्टिले ठूलो आशा र अपेक्षा बोकेर प्रारम्भ भएको छ । नेपाली जनमानसमा एक हदसम्मको सात्विक विश्वसनियता कायम राख्नुभएका स्वनामधन्य ज्योतिषाचार्य हुनुहुन्छ— भोजराज उपाध्याय लोहनी । उहाँको ग्रह नक्षत्र गणना अनुसार वर्ष २०८१ जनआक्रोश र विद्रोह विष्फोटको वर्ष थियो । २०८२ अन्याय, अत्याचार, दमन, शोषण, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको पराकाष्टाको मनपरितन्त्र, लुटतन्त्र, देश बेच्ने, मानवतस्करी गर्ने दलहरू (कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि इत्यादि) र तिनका नेतृत्व (देउवा, ओली, प्रचण्ड आदि इत्यादि) नाङ्गिने र बढारिने वर्ष थियो । अब सुरु भएको २०८३/८४ वर्ष चाहिं कुशासनका सम्पूर्ण फोहोर र गन्दगी साफ गरेर (प्रथम चरणमा गणतन्त्रकालका स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण) विकास प्रगतिको सगरमाथा चुम्ने यात्रा उडान प्रारम्भको वर्ष हुनेछ ।
ज्योतिषाचार्य पण्डित ओझाजीको माथि उल्ल्लिखित ग्रह नक्षत्र गणना परिणामलाई राजा ज्ञानेन्द्र वीर वीक्रम शाहदेवको नयाँवर्ष ०८३ को शुभकामना सन्देशमा पनि हुवहु जस्तै सम्बोधन आएको पाइन्छ । ‘विगतमा देश दलहरूको खलबलमा परेर समस्यै समस्याको चाङमाथि संकटग्रस्त अवस्थामा पुगेको छ ।’ राजाको सम्बोधन भाषा हो । यसमा राजाबाट प्रस्टै बुझिनेगरी आफूले बालेन सरकारलाई साथ सहयोग दिने आशय प्रकट भएको छ र नयाँ आएका योग्य सक्षम पुस्ताले मुलुकलाई सुशासन दिएर शान्ति र समृद्धि हासिल हुने विश्वास पनि प्रकट भएको छ । राजाभन्दा अझ एक कदम अगाडि बढेर ओझाजीको कथन छ ‘बालेनले दृढ इच्छा शक्ति लिएर गर्न चाहे सक्छन् । नसके अरु कोही आउँछ, तर अब नेपालको भविष्य चाहिं सुनौलो छ ।’
नेपालको यो सुनौलो भविष्य आशा र अपेक्षामा बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा किलोका किलो सुन र हिरा मोति जवाहररातका जुन विवरण सार्वजनिक भयो त्यसले भने अलिकति तुषारापातको संकेत बताइँदै छ । यसमा तमाम प्राडा सुरेन्द्र केसीदेखि केदारभक्त माथेमासम्म दुईसय चारसय कति भिषि र राजदूतका दावेदार राजनीतिक विश्लेषकहरू छन् तिनीहरूका आशंका र आक्षेपमा त कुनै दम हुन्न । भविष्यका कर्णधार पुस्ता किशोर किशोरीका पाठ्यक्रमबाट ‘नैतिक शिक्षा’ हटाइएको (नयाँ शिक्षानीति ०२८) विषयलाई मान्यता र मन्जुरी दिएर कलम चलाउने प्राडाहरूका तर्क र भाष्यमा अर्थ खोज्न थाल्नु ‘विवेक हिन पशुभी समान’ जस्तै केवल भुँडीभर्न जान्नु जस्तो मात्रै कुरो हुन जान्छ । तर भरत जंगमजस्ता सुशासनका लागि अहोरात्र झण्डै ५५ वर्षदेखि भ्रष्टाचारविरुद्ध आन्दोलनको झण्डा फहराइ रहनुभएका एक इतिहास पुरुष व्यत्तित्वले नै ‘सुशासन कि सुन शासन ?’ भन्ने प्रश्न उठाइसकेपछि भने पंक्तिकारलाई पनि सोच्न र सोध्न बाध्यता जस्तो भएको हो ।
मैले भरत जंगमजीलाई चिन्न थालेको विसं २०३७ सालदेखि हो । जान्न पाएको चाहिं धेरै पछि इन्टरनेट, युटुव र सामाजिक सन्जाल प्रभावशाली मिडिया हुनथालेबाट हो । होइन भने प्राडा सुरेन्द्र केसीहरू जस्तालाई १२ भाइ प्रवृत्ति चरित्रका मिडियाहरूले ओझेलमा पारेका जस्तै उहाँलाई पनि लगभग प्रतिबन्ध जस्तै छायाँमा पारिएको थियो । तर कोइलाखानीमा हिरा चम्किए जस्तै कथित १२ भाइ मिडियाको भातेहरूले उहाँलाई छायाँमा पार्न सक्ने कुरो थिएन । मैले उहाँको नाम पहिलो पटक जननायक विश्वेश्वर प्रसाद कोइरालाको मुखबाट सुनेको हुँ । पञ्चायतकाल नानीमैया दाहालले राजधानीको चुनाव प्रतिस्पर्धामा सूर्यबहादुर थापा (पाँचपटक प्रधानमन्त्री) जोगमेहर श्रेष्ठ (१६ वर्ष गृहमन्त्री) नवराज सुवेदी (राष्ट्रिय पंचायत अध्यक्ष) जस्ता हस्तीपञ्च नेताहरू समर्थित उम्मेदवारलाई हराइदिएकी कालखण्डतिरका बेथिति र कुशासनलाई भण्डाफोर गर्ने ध्येयले ‘कालो सूर्य’ नाम गरेको जंगमजीको एउटा पुस्तक प्रकाशमा आएको रहेछ । जुन पुस्तकको आजका मितिसम्म दर्जनौं मुलुकका भाषामा अनुवाद भइसकेको छ र अन्य मुलुकहरूका भाषाहरूमा अनुवाद हुने क्रम जारी छ । बीपी केमोथेरोपी डोजको आराम गर्ने क्रममा त्यो पुस्तक हात परेछ ।
म त्यसवखत फाँसी या जन्मकैदको मुद्दा खेपेर सात वर्ष जेल झेलेर आम माफीमा परेर बीपीका जनमत संग्रहका आमसभाहरूमा बीपीसँगै मञ्चमा आसन गराइएर भाषण गर्न लगाउने कांग्रेसी जेन्जी नेतृत्व थिएँ । अहिले चाहिं गिरिजा लिगेसीको देउवा कांग्रेसको एआई उत्तराधिकार पूर्णबहादुर खड्का, गगन थापा दुवै कांग्रेस गुट गिरोहमा छैन । जयवागेश्वरीस्थित निवासमा बीपी केमोथेरोपीको डोज झेलिरहेका वखत दैनिकजसो हामीहरू जस्ता काठमाडौंमा उपलब्ध ६०/७० र कहिले काहीं त डेढसय दुईसय पनि पुग्दथ्यौं । त्यसवखत बीपी एक ढेड घण्टासम्म धाराप्रवाह बोल्नुहुन्थ्यो । त्यही सुन्न हामी भिड जम्मा भइरहन्थ्यौं । त्यहीं भिडलाई सम्बोधन गर्दै बीपीले भरत जंगम नाम उच्चारण गर्नुभएको सुनेको हुँ । ‘कालो सूर्य’ खोजेर पढें ।
भरत जंगमजी उपत्यकाको काँठे समाजमा राजखान्दान राणाखान्दान सरह एक सम्भ्रान्त खातापिता परिवारबाट हुनुहुन्छ । राणाकालमा मास्टर भेटनारायण श्रेष्ठ (नेपालमा शैक्षिक जागरणका इतिहास पुरुष सत्यनारायण बहादुरका दाजु) ले बेलायतबाट कार झिकाएर भिमफेदी चित्लाङको बाटो भरियाबाट ढुवानी गरेर थानकोट कटाइ व्यापार प्रारम्भ गरेका समयमा भरत जंगमका हजुरबा पिता त्यो कार किनेर चढ्ने हैसियतका भनेपछि सायद सम्पन्नता र सभ्रान्तताको थप विवरण आवस्यक नपर्ला । बीपी, गणेशमान, कृष्णप्रसाद भट्ठराई, गिरिजाप्रसाद कोइरालाको बेडरुमसम्म पुग्ने अन्तरंग मित्र सहयोगी भएर राजनीतिक जागरणमा परिपक्क हुनुभएका भरत जंगमको विगात ५५ वर्षदेखिको कुशासन भ्रष्टाचारविरोधी अविछिन्न अभियानले देश जनता र प्रणालीका पक्ष र हितमा पुर्याएको योगदानको भावी पुस्ताले अवस्य अनिवार्य पाठ्यक्रम बनाउने नै छन् । त्यतातिर धेरै जाने यहाँको विषय भएन ।
पछिल्ला शेरबहादुर देउवा (दुईपटक कांग्रेस सभापति पाँच पटक प्रधानमन्त्री) का नौ दश वर्षका छोरा जयवीर देउवासँग एक पत्रकारले प्रश्न गरेछन् ‘तिम्रा बाउ के गर्छन्’ ? जयवीरले उत्तर दिएछन् ‘दराजबाट पैसा झिकेर कार्यकर्तालाइ बाड्छन्’ । २४ भाद्र ०८२ बुढानीलकण्ठस्थित पाँचतारे बंगलामा देउवा दम्पति (आरजु राणा देउवा) पिटिँदा र घर जलेर खरानी हुँदा झण्डै १६ अर्ब नेरु, भारु, डलर जलेका समाचारबाट जयवीरको उल्लिखित उत्तर पुष्टि पनि हुन्छ । उनै शेरबहादुर देउवा (दुर्गा प्रशाईंको भाषामा डडेलधुराको पाखाबारीको भित्तामा उत्तिसको बोट समाएर दिसा गर्ने) पढ्नको लागि राजधानी आइपुग्दा संयोगले भरत जंगमको ड्राइभरको भाडाको डेरामा एउटा ओछ्यान भाडामा लिएर बिहान बेलुका गुजारा चलाउने गरेका भन्ने समाचार इन्टरनेट, युट्युव, सामाजिक संजालहरूमा भाइरल भइसकेपछि भने यतिखेर जंगमजी पनि देशव्यापी परिचित नाम भइसक्नु भएको छ । अचेलभरि उहाँलाई जेन—जी पुस्ताका जाँगरिला युट्युव सञ्चालक पत्रकार भाईहरूको भिडले हैरान हुनेगरी नै पछ्याइरहेको देखिन्छ भेटिन्छ । यहीँ क्रममा बालेन सरकारका मन्त्रीहरूको अस्वाभाविक रूपको सुनको भण्डार विषयमा पनि पत्रकारहरू प्रश्न गर्न उहाँ समक्ष पुगिहाले । तिनै पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा उहाँले जे भन्नुभयो, त्यसैको आधारमा यो पाठ्यक्रम उत्पादनमा जाँगर गरेको हुँ ।
विसं ०३५ सालमा भरत जंगमजीको विवाह हुँदा जम्मा चार तोला सुन किन्नुभएको रहेछ । जबकि सुन किन्ने सम्पन्नताको कुरो गर्ने हो भने उहाँले अहिलेका सबै मन्त्रीहरूले देखाएको भन्दा बढी सुन किन्न सक्नुहुन्थ्यो । उहाँका अनुसार दश तोलाभन्दा बढी एउटा व्यक्तिले सुन राख्नु अर्थशास्त्रीय दृष्टिले गैर कानुनी हुनुपर्छ । किनभने सुन थुपार्नु सम्पत्तिलाई अनुत्पादक क्षेत्रमा जाम गर्नु हो । जसबाट राष्ट्रिय अर्थतन्त्रको गतिमा अवरोध पुग्छ । जुन–जुन मन्त्रीले आवश्यक उपभोग भन्दा बढी सुन देखाएका छन् तिनले किन्नु परेको उचित औचित्य पुष्टि गरेर किनेको विल र कर तिरेको अभिलेख (प्यान नम्बर) भेटिएन देखाउन सकेनन् भने फस्छन् । यस बाहेक जंगमजीले अरु पनि धेरै पाटा केलाउनु भएको छ । त्यतातिर यहाँ धेरै जान चाहिंन ।
एकजना हुनुहुन्छ ठूलो–ठूलो स्वरले आफूलाई सर्वज्ञाता दाबी गर्ने श्री ५ को सरकारका पूर्व सचिव द्वारिकानाथ ढुंगेल । उहाँको सर्वज्ञाता दाबीमा मलाई कुनै प्रतिक्रिया टिप्पणी गर्नु छैन । ढुंगेलका अनुसार अहिलेका मन्त्रीहरूले धेरै सुन थुपारेका देखाएका भोलि हुने कमाइलाई ध्यानमा राखेर हुनसक्छ । यसमा भरत जंगमजीको अनुभव पनि विगतमा त्यस्तो हुने गरेको संस्मरण छ । अरु मन्त्रीहरूको हकमा त यसै हो भन्ने ठहरमा म छैन । तर प्रधानमन्त्री बालेन्द्र शाहका हकमा भने भोलि हुने कमाइलाई ध्यानमा राखेर भन्ने चाहिं होइन । तर पनि आफ्ना मन्त्रीहरू (यसमा सभामुख पनि पर्छन्) का सार्वजनिक भएका सुन भण्डारको आयस्रोत र किनेको विल कर फरछ्यौटको प्रमाण सार्वजनिक गर्न चाहिं अनिवार्य जस्तै देखिन्छ । अरुको सम्पत्तिको स्रोत खोज्नेले आफ्नो सम्पत्तिको स्रोत प्रमाणित गर्नु प्राथमिक जिम्मेवारी भित्र पर्छ । होइन भने भरत जंगमले उठाउनु भएको प्रश्न ‘सुशासन कि सुन शासन’ भुसले छोपेको आगो पुतपुताए जस्तै बालेन कार्यकालभरि पुतपुताइरहने निश्चित छ ।
अन्त्यमा सम्पूर्ण पाठकबन्धुमा नयाँ वर्षको शुभकामना । अस्तु ।