काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र नयाँ पुस्ताका हस्तकलाकर्मीलाई दक्ष बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । दुवै पक्षबीच प्रदर्शनी, व्यापार मेला, बी–टु–बी कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा तालिममार्फत बजार विस्तार गर्ने सहमति भएको छ । साथै उच्चस्तरीय प्रदर्शनी, प्रवर्द्धन परियोजना र तालिमसम्बन्धी सूचनाहरू आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने सम्झौतामा उल्लेख छ । सम्झौतामा दीर्घकालीन साझेदारी विकास गर्दै नेपाल तथा विदेशमा नियमित प्रदर्शनी र रोड–शो आयोजना गरी प्रत्यक्ष बजार पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ । परम्परागत नेपाली उत्पादनको दिगो विकासका लागि तालिम, कार्यशाला तथा शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
सम्झौता कार्यान्वयनका क्रममा उत्पन्न हुने विवादहरू आपसी सहमतिबाट समाधान गरिने तथा उल्लेख नभएका विषयहरू पनि आपसी समझदारीका आधारमा थप गर्दै जाने व्यवस्था गरिएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल हस्तकलाको क्षेत्रमा विश्वमै अग्रपंक्तिमा रहेको उल्लेख गर्दे नेपालको हस्तकला व्यवसाय व्यापारसँगै सिर्जनात्मक शिल्प तथा कला कौशलतासँग पनि जोडिएको बताए ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले यो सहकार्यले नेपाली हस्तकला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताइन् । त्यस्तै, हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले नेपाल महिला चेम्बरसँगको सम्झौताले हस्तकला उद्योगको प्रबर्द्धन र महिला उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास गरे ।