काठमाडौ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले युनिभर्सल एसेप्टेन्स(यूए) ह्याकाथन नेपालको लागि आवेदन खुला गरेको छ ।
युनिभर्सल एसेप्टेन्ससम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘यूए ह्याकाथन नेपाल २०२६’का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको हो । अन्तर्राष्ट्रिय संस्था ईसीएएनएन, युनेस्को, एपीएनआईसी र सनवे कलेज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई प्राथमिकता दिएको छ । यस ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु रहेको आयोजकको भनाइ छ । हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा नेपालीलगायत अन्य स्थानीय भाषाहरूमा पनि सजिलै इमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने वातावरण बनाउन यो अभियान सुरु गरिएको हो । ‘के तपाईँ नेपाली लिपिमा आधारित डोमेन नेम प्रयोग गर्न इच्छुक हुनुहुन्छ ?’ भन्ने अभियानको मुख्य थिम रहेको छ ।
यसको लागि वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २ गते हुने यस ह्याकाथनमार्फत सहभागीहरूले बहुभाषिक र ‘यूए–रेडी’ डिजिटल समाधानहरू निर्माण गर्ने अवसर पाउनेछन् । सहभागी हुन इच्छुक व्यक्तिहरूले क्यान महासंघको आधिकारिक नेपाली पोर्टलमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । इन्टरनेटलाई सबैको पहुँचमा पुर्याउन र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ ।