काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले राष्ट्र बैंककै वार्षिक कार्यक्रम बहिष्कार गरेका छन् । राष्ट्र बैंकले सोमबार आफ्नो ७१औँ वार्षिकोत्सवमा निजी सञ्चार माध्यमलाई बन्देज लगाउनुको मूल कारण पनि कर्मचारीले गरेको कार्यक्रम बहिष्कार रहेको देखिएको छ ।
स्रोतका अनुसार राष्ट्र बैंकका उच्च अधिकारीहरूले आफ्नो महत्वपूर्ण समयमा भएको विरोध प्रर्दशन लुकाउनका लागि निजी सञ्चार माध्यमलाई कार्यक्रममा बन्देज गरेका हुन् । उच्च तहका कर्मचारीको गैरजिम्मेवारी व्यवहारका कारण बैंकको आर्थिक वर्ष २०८२/८३को कार्य सम्पादन बढुवा ढिलाइ भएको भन्दै कर्मचारीले असन्तुष्टि पोख्दै विरोध जनाएका छन् । सोही क्रममा कर्मचारीहरूले राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले सोमबार वार्षिकोत्सव कार्यक्रमस्थल अगाडि कालो ब्यानरसहित कार्य सम्पादन बढुवामा ढिलाइ गरेको भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा उनीहरूले सुटुक्क हुन्छ बढुवा, व्यवस्थापनले देखेन कर्मचारीलगायतका नारा लेखका प्लेकार्ड बोकेका थिए । संघले राष्ट्र बैंकका अधिकारीहरू विदेश भ्रमणका कारण बढुवा हुन नसकेको बताउँदै आएका छन् ।