काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारप्रति टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दलसँग पर्याप्त संवाद नभएको गुनासो गरेका छन्।उनले प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग औपचारिक संवाद नगरेको उल्लेख गर्दै सरकार र प्रतिपक्षबीच समन्वय आवश्यक रहेको बताएका छन्। थापाका अनुसार, निर्वाचित सरकारका रूपमा प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग संवाद र छलफल गर्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो। उनले नेपाली कांग्रेस पनि जनताबाट निर्वाचित भएर आएको प्रमुख प्रतिपक्षी दल भएको भन्दै सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। तर, संवादविहीन रूपमा एकतर्फी निर्णय लिने प्रवृत्तिले समस्या सिर्जना गर्न सक्ने उनको चेतावनी छ।थापाले सरकार “एक्लै चलाउने”, “एक्लै सोच्ने” र “एक्लै निर्णय गर्ने” शैलीमा अघि बढेमा त्यसले अन्ततः स्वयं सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्ने बताएका छन्। उनले संसद् र अन्य राजनीतिक दललाई बेवास्ता नगरी समन्वयात्मक रूपमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। उनका अनुसार, अहिले सरकार नयाँ भएकोले सकेसम्म नरम र सहकार्यपूर्ण वातावरण बनाउनुपर्ने आवश्यकता छ। उनले सरकारलाई लोकतान्त्रिक मूल्य र संस्थागत प्रक्रियालाई मजबुत बनाउँदै अघि बढ्न आग्रह गरेका छन्।