काठमाडौ । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु गरेको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत एमसीए–नेपालले यो परियोजना अगाडि बढाएको हो । सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट निकै लाभदायी अत्याधुनिक निर्माण प्रविधि फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रयोग गर्न लागिएको छ । यसले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दाे तथा लागत प्रभावकारी बनाउन सहयोग गर्ने एमसीए–नेपालले जनाएको छ । यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउने छ । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सडकखण्ड स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गरेका थिए । यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो । उनले भने, ‘यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दाे बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ ।’
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले यस सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ अमेरिका तथा नेपालबीचको साझेदारीको एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ । उनले भने, ‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।’