काठमाडौं । एनआईसी एसिया बैकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले ग्राहकहरूको खाताबाट गरिएको करकट्टी विवरणलाई प्रचलित कानुनी व्यवस्थाअनुसार प्रणालीमा समावेश गर्न यस्तो आग्रह गरेको हो ।
बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध हुन प्यान अद्यावधिक अनिवार्य छ । ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत आफ्नो प्यान विवरण सजिलै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको जुनसुकै शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई इ–टीडीएस रेकर्डमा प्रविष्ट गर्न प्यान आवश्यक पर्ने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट भई आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा मिलान गर्नेछ । यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ । यद्यपि, प्यान अद्यावधिक नगरेका कारण इ–टीडीएसमा कर दाखिला नभएको वा पछि समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसप्रति बैंक जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगानासमेत अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकहरूले भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फतमा गएर चेन्ज इमेल अप्सन प्रयोग गरी आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परेमा शाखा कार्यालयमार्फत पनि यो सेवा लिन सकिने छ ।