काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीे लिमिटेडले हकप्रद सेयर खरिदको अवधि थप गरेको छ । कम्पनीले चैत २६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद सेयरमा अब वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हाल कायम रहेको एक सय कित्ता सेयर बराबर नयाँ १० कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । सो अनुसार २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासनमा ल्याइएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरेको थियो । सो अनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी बढेर दुई अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्ने छ ।