नेपालमा साना बच्चाहरूलाई अक्षरारम्भ गराउँदा प्रायः हिन्दू समाजमा हुर्केकाहरूले आफ्ना बालबच्चाहरूलाई बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिनमा गराउने चलन छ । साना कलिला बालबालिकालाई यसै दिन अक्षरारम्भ गराउँदा उनीहरूले धेरै पढ्ने र ज्ञान आर्जन गर्ने विश्वास गरिन्छ । यही कारणले सरस्वतीलाई ज्ञानकी देवीका रूपमा पूजा गरिन्छ । यो एक महत्वपूर्ण परम्परा हो, तर बालबालिकाको वास्तविक शैक्षिक विकासमा पारिवारिक वातावरण, गुणस्तरीय शिक्षामा पहुँच, निरन्तर अभ्यास, उचित मार्गदर्शन तथा उनीहरूको व्यक्तिगत रुचि र मिहिनेतले नै निर्णायक भूमिका खेल्दछ ।
नेपालमा भगवान् भन्नासाथ हामी श्रद्धाले टाउको झुकाउँछौँ, बिहान उठ्छौँ, पूजा–अर्चना गर्छौँ, व्रत बस्छौँ, दैनिक पूजाको साथसाथै, दुर्गा पूजा, राम नवमी, कृष्ण जन्माष्टमीको साथै लक्ष्मी पूजालाई भव्य रूपमा मनाउँछौँ, घर–आँगन सजाउँछौँ, मन्दिर सिँगार्छौँ, मिठाई–फलफूल चढाउँछौँ, तीर्थधाम जान्छौँ र दान–पुण्य गर्छौँ । हामी सबैको कल्याण होस् भन्ने कामना पनि गर्छौँ । तर, विडम्बना के छ भने जुन देशमा यति धेरै श्रद्धा र भक्तिका साथ हरेक जीवलाई भगवान् समान मानिन्छ, त्यही देशमा आज शिक्षाको कमी किन देखिन्छ भन्ने प्रश्न उठ्छ । हामी त आज ज्ञानी, आध्यात्मिक र शिक्षित हुनुपर्ने हो । शिक्षालाई भगवान्को रूपमा जोड्ने देशमा आजै शिक्षाको उचित विकास नहुनु यो लाजमर्दो कुरा हो । त्यसैगरी, जुन देशमा भूमिलाई ‘भू–माता’ भन्दै देवताको रूपमा पूजा गरिन्छ, त्यही देशमा जमिनमै फोहोर फालिन्छ । जुन देशमा नदीलाई भगवान् मानेर पूजा गरिन्छ, नदी तर्दा ढोगिन्छ र जलदेवतालाई चढाइन्छ, त्यही देशका नदीहरू प्रदूषित छन् । जुन देशमा हावा शुद्ध रहोस् भनेर यज्ञ गरिन्छ, त्यही देशमा आज वायु प्रदूषण चरम अवस्थामा पुगेको छ ।
शिक्षाले देशको विकास सम्भव हुन्छ भन्ने कुरा केवल सैद्धान्तिक तर्कमा सीमित नभई व्यवहारमै प्रमाणित भएको एक निर्विवाद यथार्थ हो । कुनै पनि देशको प्रगति शिक्षा, ज्ञान, सीप र चेतनासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने शिक्षा भनेको केवल अक्षर चिन्नु मात्र होइन, यो सोच्ने क्षमता, निर्णय गर्ने शक्ति, प्रविधि प्रयोग गर्ने सीप र जिम्मेवार नागरिक बन्ने आधार हो । जब नागरिक शिक्षित हुन्छन्, उनीहरूले सही–गलत छुट्याउन सक्छन्, उत्पादनशील काममा लाग्छन् र समाजलाई सकारात्मक दिशामा अघि बढाउँछन् । यही कारणले शिक्षाविना विकास असम्भवजस्तै मानिन्छ ।
वास्तवमा, पहिला ज्ञान चाहिन्छ, त्यसपछि विज्ञान र प्रविधि चाहिन्छ । शिक्षाविना न त ज्ञान सम्भव छ, न विज्ञान, न त प्रविधिको विकास नै सम्भव छ । यसले के देखाउँछ भने हाम्रो आस्था र व्यवहारबीच ठूलो खाडल छ । पूजा–अर्चना चाहिन्छ, केवल पूजा–अर्चना र धार्मिक कर्मकाण्डले मात्र समाज सुधार हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । घर सफा चाहिन्छ, हामी हरेक दिन दैलोसम्म सफा गर्छौँ, पूजा गर्छौँ तर मन्दिरमा टाढैबाट फूल, अबिर फाल्छौँ, अनि फोहोर फाल्छौँ । तर साँचो धर्म भनेको पूजा गर्नु त छँदैछ, त्यसको अतिरिक्त राम्रो काम गर्नु, वातावरण जोगाउनु र शिक्षालाई प्राथमिकता दिनु पनि हो र राज्यको धर्म पनि हरेक जनतालाई शिक्षित र सम्पन्न बनाउन सक्नु हो । त्यसैले देशका सबै नागरिकलाई शिक्षित बनाउनु नै साँचो अर्थमा भगवान् पूज्नु हो । जबसम्म जनतामा शिक्षा फैलिँदैन, तबसम्म देश समुन्नत हुन सक्दैन । जुनसुकै क्षेत्रमा पनि शिक्षाविना विकास असम्भव हुन्छ । यसो हेर्दा शिक्षा र प्रविधिलाई उच्च स्थानमा राखेर आज संसारका उत्कृष्ट राष्ट्र बन्न सफल राष्ट्रलाई हेर्नुपर्दा दक्षिण कोरिया, फिनल्यान्ड, सिंगापुर र आयरल्याण्डजस्ता देशले शिक्षा, प्रविधि र अनुशासनलाई जोड दिएर अगाडि बढेकाले आज उच्च स्थानमा छन् । दक्षिण कोरियाले प्राविधिक शिक्षा र विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएको परिणामस्वरूप आज सामसुङ र हुन्डाइजस्ता विश्वप्रसिद्ध ब्रान्डहरू केवल व्यावसायिक सफलता मात्र होइन, आफ्नै देशको गौरवका प्रतीकका रूपमा स्थापित भएका छन् । यस्ता कम्पनीहरूले देशको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अग्रता दिलाएका छन् । त्यसैगरी बेलायतले शिक्षालाई केवल डिग्री लिनका लागि अगाडि बढाएको छैन, त्यहाँ शिक्षा जीवन र वृत्तिविकास निर्माण गर्ने माध्यम हो । यही कारणले शिक्षित जनशक्तिले त्यहाँको अर्थतन्त्र, प्रविधि र सामाजिक विकासलाई मजबुत बनाएको छ । बेलायतमा शिक्षाको अवस्था विश्वकै विकसित र व्यवस्थित प्रणालीमध्ये एक मानिन्छ । यहाँको शिक्षा प्रणालीले मात्र ज्ञान दिने होइन, विद्यार्थीलाई व्यावहारिक सीप, अनुसन्धान क्षमता र स्वतन्त्र सोच विकास गर्न केन्द्रित हुन्छ । जब शिक्षाले अन्धकारबाट उज्यालोतर्फ लैजान मद्दत गर्छ तब देशमा समृद्धि आउँछ ।
औपचारिक शिक्षाको सुरुवात प्राचीन सभ्यताहरू—विशेष गरी मेसोपोटामिया (हालको इराक), इजिप्ट, भारत र चीनबाट भएको हो, जहाँ शिक्षालाई संरचित, नियमबद्ध र उद्देश्यपूर्ण बनाइयो । शिक्षाको कुरा गर्नुपर्दा सबैभन्दा पहिले, आधुनिक विकासमा शिक्षाको ठूलो भूमिका युरोपियन देशहरूबाट भएको देखिन्छ । पछि समयसँगै यही प्रणाली विकसित हुँदै आजको आधुनिक विद्यालय र विश्वविद्यालय प्रणाली बनेको हो । हुन त युनिभर्सिटी अफ अक्सफोर्ड— इङ्ग्ल्यान्डमा अवस्थित छ र करिब १०९६ देखि पढाइ सुरु भएको मानिन्छ । यो विश्वकै सबैभन्दा पुराना विश्वविद्यालयमध्ये एक हो । युनिभर्सिटी अफ क्यामब्रिज— पनि इङ्ग्ल्यान्डमै छ र सन् १२०९ मा स्थापना भएको हो । उच्च शिक्षाको कुरा गर्दा, बेलायतका विश्वविद्यालयहरू विश्वमै अग्रणी मानिन्छन् । यी विश्वविद्यालयहरू विश्वकै शीर्ष संस्थामा पर्छन् । यस्ता संस्थाहरूले अनुसन्धान, नवप्रवर्तन र विश्वस्तरीय जनशक्ति उत्पादन गर्छन् । बेलायतमा शिक्षा प्रणाली मुख्यतः तीन तहमा विभाजित छ—प्राथमिक, माध्यमिक र उच्च शिक्षा । सरकारी विद्यालयमा धेरैजसो बालबालिकाले निःशुल्क शिक्षा पाउँछन्, जसले सबैलाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्छ । यसले समाजमा साक्षरता र चेतना बढाउन ठूलो भूमिका खेलेको छ । बेलायतको शिक्षाको अर्को विशेषता भनेको प्रयोगात्मक र सीपमुखी शिक्षा हो । विद्यार्थीलाई केवल थ्योरी होइन, व्यावहारिक काम, प्रोजेक्ट, रिसर्च र समूहगत सिकाइमा जोड दिइन्छ । यसले विद्यार्थीलाई रोजगारी र व्यवसायका लागि तयार बनाउँछ भने युरोपको शिक्षा प्रणालीको मूल आधार निःशुल्क पहुँच, गुणस्तर र सीप विकास हो र बेलायतसँग मिल्दोजुल्दो छ तर प्रत्येक युरोपियन देशले आफ्नै आवश्यकताअनुसार फरक–फरक मोडेल अपनाएर शिक्षा प्रदान गर्छन् ।
त्यसपछि जब औद्योगिक क्रान्ति युरोपमा मुख्यतः १८औँ शताब्दीको मध्यतिर सुरु भयो र विशेषगरी बेलायतमा करिब सन् १७६० तिर भयो । त्यसपछि १९औँ शताब्दी (करिब १८४० सम्म)मा तीव्र रूपमा औद्योगिक क्रान्ति फैलियो । पछि यो क्रान्ति फ्रान्स, जर्मनी र अन्य युरोपेली देशहरूमा पनि विस्तार भएको देखिन्छ । यो अवधिमा हातले गरिने कामलाई मेशिनले प्रतिस्थापन गर्न थाल्यो, ठूला ठूला कारखानाहरू स्थापना भए र कृषि आधारित समाज पनि क्रमशः औद्योगिक समाजमा रूपान्तरण भयो । र यसको प्रभाव उद्योग, प्रविधि, यातायात र अर्थतन्त्रमा ठूलो परिवर्तन हुनेगरी भयो । औद्योगिक क्रान्ति हुनलाई शिक्षा नै चाहिन्छ, प्राविधिक शिक्षा, व्यावहारिक शिक्षा । त्यसैले औद्योगिक क्रान्ति पछि पनि बेलायतजस्ता देशहरूले शिक्षा, विज्ञान र प्रविधिमा लगानी गरे । यसले गर्दा उद्योग, प्रविधि र आर्थिक विकास तीव्र गतिमा अघि बढ्यो । शिक्षित जनशक्तिले नयाँ आविष्कार, कारखाना र आधुनिक अर्थतन्त्र निर्माण गर्न ठूलो योगदान दियो र विकासको सिँढी उक्लियो ।
त्यसपछि संयुक्त राज्य अमेरिकाले पनि शिक्षामार्फत विकासलाई अझ तीव्र बनाएको छ । विशेषगरी २०औँ शताब्दीमा विश्वविद्यालय, अनुसन्धान र नवप्रवर्तनमा जोड दिएको पाइन्छ । ठूला विश्वविद्यालयहरू जस्तै हार्वर्ड विश्वविद्यालय (हार्वर्ड युनिभर्सिटी) र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) जस्ता संस्थाहरूको स्थापना अमेरिकामा भयो र ती संस्थाहरूले विश्वस्तरको ज्ञान र प्रविधि विकासमा महत्वपूर्ण योगदान दिए । हुन त अमेरिकाको हार्वर्ड विश्वविद्यालय सन् १६३६ मा स्थापना भएको हो । यो अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । हार्वर्ड एक पूर्ण विश्वविद्यालय हो, जहाँ कानुन, अर्थशास्त्र, विज्ञान, व्यवस्थापन, चिकित्सा, कला, समाजशास्त्र आदि धेरै विषयहरू पढाइन्छ । यसलाई विशेषगरी नेतृत्व, नीति निर्माण र सामाजिक विज्ञानका लागि प्रसिद्ध मानिन्छ । यसले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आर्थिक सहयोग प्रदान गर्छ ।
त्यसैगरी अर्को विश्वविद्यालय म्यासाचुसेट्स प्रविधि संस्थान पनि सन् १८६१ मा स्थापना भएको हो, जुन बेला अमेरिकामा औद्योगिक विकास तीव्र हुँदै थियो । यस्तो अवस्थामा उक्त संस्थानले विज्ञान, प्रविधि, इन्जिनियरिङ र अनुसन्धानमा केन्द्रित भएर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्दै देश विकासका लागि दक्ष जनशक्ति उत्पादन गरेको छ र आजसम्म पनि उत्कृष्ट शिक्षा दिँदै आएको छ । त्यसैले यसलाई विश्वकै उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा पनि चिनिन्छ । यी संस्थाहरू लगायत हजारौँ शिक्षण संस्थाहरूले देश विकासका लागि आवश्यक वैज्ञानिक, इन्जिनियर, उद्यमी, व्यवसायी, राजनीतिज्ञका साथै नीति निर्माता समेत तयार पार्छन्, जसले गर्दा देशको अर्थतन्त्र र प्रविधि अगाडि बढिरहेका छन् ।
यसका साथै विकासका लागि प्राकृतिक स्रोतको उपयोग, नयाँ प्रविधिको प्रयोग र उद्यमशीलताको विकास गर्दै अगाडि बढिएको छ, जसको मुख्य शक्ति भनेको शिक्षित जनशक्ति नै हो । राज्यले अनुसन्धान र नवप्रवर्तनमा ठूलो लगानी गरेको छ । यसको परिणामस्वरूप स्पेसएक्स, मेटा, टेस्ला, अमेजन, एप्पल, गुगल र माइक्रोसफ्टजस्ता विश्वकै ठूला सूचना प्रविधि सम्बन्धी कम्पनीहरू अमेरिकामै स्थापित भएका छन् । यी सबै कम्पनीहरू केवल व्यवसाय मात्र नभई शिक्षित व्यक्तिहरूले सिर्जना गरेका गौरव गर्न लायक सीपयुक्त जनशक्तिको परिणाम हुन् ।
यहाँको शिक्षाले मानिसलाई सोच्न, प्रश्न गर्न, नयाँ आविष्कार र अनुसन्धान गर्न तथा सिर्जनशील बन्न प्रेरित गरिरहेको छ । यही नयाँ शैक्षिक सोचले काम गर्ने संस्कृति विकास गर्दै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिएको छ । त्यसैले अमेरिकाको शिक्षा—गुणस्तरीय शिक्षा, अनुसन्धान, प्रविधि र नयाँ अवसरहरूको संयोजन—देशको विकासको मुख्य आधार हो । शिक्षाविना अमेरिका आजको अवस्थामा पुग्न सक्दैनथ्यो । शिक्षा अमेरिकाको विकासको जग हो, आधार हो र सही नीति तथा कार्यान्वयनको प्रमुख साधन पनि हो ।
त्यस्तै, मेइजी पुनस्र्थापनापछि जापानले शिक्षालाई प्राथमिकता दियो र केही दशकभित्रै आधुनिक, औद्योगिक राष्ट्रमा परिणत भयो । जापानमा त्यहाँका नागरिकहरूको अनुशासन—जुन बाल्यकालदेखि नै विकास गरिन्छ—र गुणस्तरीय शिक्षासँगै राष्ट्रप्रतिको प्रतिबद्धताले विकास सम्भव भएको हो । त्यसैगरी आजको समयमा दक्षिण कोरिया र सिंगापुर पनि उत्कृष्ट उदाहरण हुन् । यी देशहरूले शिक्षामा उच्च लगानी, प्राविधिक ज्ञान र दक्ष जनशक्ति उत्पादन गरेर छोटो समयमै ठूलो आर्थिक विकास हासिल गरेका छन् ।
दोस्रो विश्वयुद्धपछि जापान पूर्ण रूपमा ध्वस्त भएको थियो, तर त्यहाँका नागरिकले शिक्षालाई पहिलो प्राथमिकता दिए । विद्यालय शिक्षा, प्राविधिक शिक्षा र अनुशासनमा जोड दिएपछि जापान आज विश्वकै विकसित राष्ट्रमध्ये एक बनेको छ । यहाँका मानिसहरू शिक्षित भएकै कारण उद्योग, प्रविधि र व्यवस्थापनमा उत्कृष्ट भएका छन् ।
त्यस्तै, दक्षिण कोरिया पनि शिक्षामार्फत बनेको देश विकासको उत्कृष्ट उदाहरण हो । केही दशकअघि मात्र गरीब राष्ट्र मानिने कोरिया आज विश्वकै प्रविधि सम्पन्न देश बनेको छ । यसको मुख्य कारण त्यहाँको गुणस्तरीय शिक्षा प्रणाली, अनुसन्धान र प्रविधिमा लगानी हो । शिक्षित जनशक्तिले नै देशलाई अगाडि बढाएको हो ।
अर्को उदाहरण फिनल्यान्ड हो । फिनल्यान्डले शिक्षामा समानता र गुणस्तरलाई प्राथमिकता दिएको छ । त्यहाँको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट मानिन्छ । परिणामस्वरूप, त्यहाँका नागरिक उच्च स्तरको जीवनयापन, राम्रो शासन र सामाजिक सन्तुलनमा अघि छन् । यसले देखाउँछ कि राम्रो शिक्षा प्रणालीले देशलाई कति माथि पुर्याउन सक्छ ।
त्यसैगरी अष्ट्रेलियाको शिक्षाले दक्ष जनशक्ति तयार गर्यो, जसले उद्योग, स्वास्थ्य, इन्जिनियरिङ र सेवा क्षेत्रमा देशलाई अघि बढायो । अष्ट्रेलियामा खानी र कृषि उत्पादन धेरै छन् । यी स्रोतहरूको राम्रो व्यवस्थापनले अर्थतन्त्र बलियो बनायो । आप्रवासी नीतिअनुसार अष्ट्रेलियाले दक्ष आप्रवासीहरूलाई स्वागत गर्ने नीति अपनाएको छ, जसले जनशक्ति र सीप दुवै बढायो । स्थिर शासन र योजना, राजनीतिक स्थिरता, राम्रो कानुनी व्यवस्था र दीर्घकालीन योजनाले विकासलाई निरन्तरता दिएको छ । अष्ट्रेलियाको विकासको मुख्य आधार भनेकै गुणस्तरीय शिक्षा, सीपयुक्त जनशक्ति र प्राकृतिक स्रोतको उचित उपयोग हो । शिक्षा र अवसरलाई जोडेर देशले आधुनिक, समृद्ध र स्थिर अर्थतन्त्र निर्माण गर्न सफल भएको छ । नेपालको शिक्षा को अवस्था हेर्ने हो भने, जुन ठाउँमा शिक्षाको पहुँच कम छ, त्यहाँ गरिबीको साथै बेरोजगारी र पछौटेपन पनि देखिन्छ । ग्रामीण क्षेत्रका धेरै मानिस शिक्षाबाट वञ्चित हुँदा उनीहरूले आधुनिक कृषि गर्न सकेका छैनन् र नयाँ किसिमको व्यवसाय पनि गर्न सकेका छैनन् र प्रविधिको प्रयोग पनि गर्न सक्दैनन् । तर जहाँ शिक्षित जनसंख्या बढी छ, त्यहाँ आर्थिक गतिविधि पनि बढी देखिन्छ । शिक्षाको कारण विदेशी काम पनि नेपालबाटै गरिरहेका छन् र प्रविधिको पनि भरपुर उपयोग गरेका छन् । शिक्षाको कारण शिक्षित नागरिकले उत्पादनशील काम गर्छन्, नयाँ–नयाँ आविष्कार गर्छन्, राम्रो शासनको माग गर्छन्, भ्रष्टाचारविरुद्ध आवाज उठाउँछन् र समाजमा अनुशासन कायम गर्न मद्दत गर्छन् र आर्थिक, सामाजिक र राजनीतिक विकासलाई अगाडि बढाउँछन् ।
अन्ततः यदि हामीले शिक्षालाई सर्वोच्च प्राथमिकता दियौँ भने मात्र हाम्रो समाज सचेत, सभ्य र विकसित बन्न सक्छ । पूजा र श्रद्धासँगै ज्ञान, विज्ञान र व्यवहारिक परिवर्तनलाई आत्मसात् गर्न सके मात्र राष्ट्रको वास्तविक उन्नति सम्भव हुन्छ । देश विकासको जरो नै शिक्षा हो । सडक, भवन वा ठूला आयोजना मात्र विकास होइनन्, शिक्षित र सचेत नागरिकविना ती सबै दीर्घकालीन रूपमा टिक्न सक्दैनन् । त्यसैले, यदि हामी साँचो अर्थमा देश विकास गर्न चाहन्छौँ भने सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु अनिवार्य छ ।