विगत पाँच सय वर्षदेखि पश्चिमा राजनीतिशास्त्रमा पाठ्यक्रम बनेर मरेर पनि बाँचिरहेका एक दार्शनिक चिन्तकको नाम हो—निकोलो मेकियावेली । उनलाई दर्शनशास्त्रको इतिहासमा पुरानो युगको अन्त्य र नयाँ युगको सुरुवातको रूपमा पुनर्जागरण पुरुष पनि पाठ्यक्रम बन्ने गरेको छ । सन् १४६९ मा इटलीको फोरेन्समा जन्मेका उनी आफ्नो समयका चौपट्टै धुरन्धर राजनीतिक शास्त्री थिए । राजनीतिमा लागेर जेल पनि परेका थिए । उनका अनेक पुस्तकहरू अहिले पनि संसारभरिका विश्वविद्यालयका राजनीतिक शास्त्रका क्लासमा पढाइ हुने गर्दछ । जसमध्ये ‘द प्रिन्स’ धेरै पढिने गरिएको पुस्तक हो । उनको राजनीतिशास्त्रका मूल सिद्धान्तमध्ये एउटा सिद्धान्त सत्ता शक्तिशाली र निरङ्कुश हुनै पर्छ । शासकले जहिले पनि लोकप्रिय नै देखिनु पर्छ । अत्याचारी निरङ्कुश अलोकप्रिय कामहरूजति सबै अरुको थाप्लोमा थुपारेर तिनलाई दण्डित गरेर थप लोकप्रियता बटुल्ने चातुर्यता हरेक शासकमा हुनै पर्छ भन्ने ‘मेकियावेली थ्यौरी’ हो । कतै–कतै वालेन्द्र शाह मेकियावेली थ्यौरीमा हिँड्न थालेका भनेका पनि सुनिँदैछ ।
खैर यतातिर यहाँ धेरै जान सम्भव हुन्न । यति चर्चाचाहिँ किन पाठ्यक्रममा ल्याएको भने मेकियावेली आफ्नो एसिया अध्ययन भ्रमण क्रममा तत्कालीन भारत हुँदै नेपाल पनि आइपुगेका रहेछन् र आफ्ना पुस्तकहरूमा त्यतिखेरको नेपाली समाजको बडो घतलाग्दो चित्रण वर्णन गरेका छन् । त्यतिखेरको नेपाली समाजमा (भारतका पनि कतिपय ठाउँमा) तीर्थवर्त पूजा आदि इत्यादि अनेक कारणले लामो समयसम्म घर एक्लै छोडेर टाढा जानु पर्दा साँचो लगाउने चलन हुन्नथियो । मेकियावेलीको त्यतिखेरको यो वर्णन हिजोअस्तिसम्म हाम्रो पश्चिम आछाम जिल्लामा त्यस्ता बस्तीहरू भेटिन्थे । योभन्दा अर्को अझ अर्थपूूर्ण वर्णन नेपालमा उत्पादन हुने धान, मकै, कोदो आदि इत्यादि खाद्यान्नका मूल बाली आन्तरिक खपतभन्दा बढी उत्पादन भएर विहार उत्तर प्रदेश बंगलादेशसम्मका वस्तीहरूमा पुग्दथ्यो । विसं २०४५ सम्म अधिराज्यव्यापी धानचामल निर्यात कम्पनीका सरकारी साइनबोर्डहरू छ्याप्छ्याप्ती भेटिने गरेको बाट मेकियावेलीको आत्मनिर्भर आर्थतन्त्र वर्णनको लिगेसी ०४६ बहुदल आउनुअघिसम्म धानिएको भेटिन्छ । भारतमा हरेक दिनजसो भोकमरीले मान्छे मरेको समाचार आइरहँदा हाम्रो नेपालमा अझै त्यस्ता समाचार सुन्न परेको छैन । त्यस्तो झेल्नुपर्ने दिन धेरै निकट आइसकेको चाहिँ जेन—जी विद्रोह उठेर २१ फागुन ०८२ को चुनाव परिणामपछि पो बल्ल थाहा भयो । पटक–पटक राजा ज्ञानेन्द्रले जनता गुहार्न थालेका किन होला ? भन्ने विज्ञासा पनि चुनावमा बालेनको हात्ति उडाउने हुरी आएपछि पो बल्ल अर्थ छर्लङ्ग भयो ।
मेकियावेली नेपाल वर्णनको यति पाठ्यक्रम यहाँ जोड्नुको एउटै उदेश्य के भने विसं २०४५ सम्म नेपालमा सुकुममासी भनेका एकप्रकारले छँदै थिएन भन्दा पनि हुन्छ । राणाकालभरि र २००७ सालको परिवर्तन आइसकेपछि पनि कमाराकमारी संख्याले सानो ठूलो जमिन्दार मापन सामाजिक मनोविज्ञानमा तिनै कमाराकमारीलाई ‘सुकुमबासी’ संज्ञा दिने गरिएको थियो । यसमा मैले मूल भन्न खोजेको आज सुकुमबासी समस्या राष्ट्रिय चासो र बहसको जुन विषय भइरहेको छ यसको गर्भाधान, प्रजनन, मलजल गरेर विशाल विषवृक्षमा पुर्याउने काम खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र त्यसपछि क्रमशः राप्रपा, माओवादी, मधेशवादी आदि इत्यादि दलहरू नै हुन् । या भनौँ सुकुमबासी उत्पादन र वृद्धि हुन थालेका बहुदल आएपछि हो । सुकुमबासीका मातापिता बहुदल हो ।
नेपालमा बहुदल आउनु (विसं २०४६) अघि एकेडेमीले प्रकाशित गरेको ‘शब्दकोष’मा परिभाषाबाहेक सुकुमबासीको कतै अस्तित्व थिएन । सिक्किमबाट लखेटिएका शरणार्थीले शरण लिएका बस्तीलाई ‘सिक्किमबासी टोल’ सम्बोधन गर्न थालिएको थियो । जस्तोः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ठाउँ–ठाउँमा बर्मेली टोल भन्ने भेटिन्छ । यही सिक्किमबासी टोलको सजिलो नाम सुकुमबासी टोल बस्ती भनिने गरियो । एकेडेमीले प्रकाशित गरेको शब्दकोषअनुसार सुकुमबासी भनेका ‘जग्गाजमिन, घर आदि सम्पत्ति केही नभएको जीविकाको नियत साधन वा ठेगाना नभएको’ भन्ने छ । ०४५ सालसम्म धान चामल निर्यात कम्पनी चलाइरहेको मुलुकमा एकेडेमीको परिभाषाअनुसार सुकुमबासी भेटिने सम्भावना हुन्न थियो । कमाराकमारी कविलायी चेतना दासमानसिकताको लिगेसी भन्ने त समयको माग र गतिअनुसार स्वाभाविक प्राकृतिक भइहाल्यो ।
बहुदल आएर जब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएर आफ्नै पार्टीको बहुमतको एकलौटी सरकार लत्याएर मध्यावधिमा गएपछि अस्थिरता अशान्तिजनित अराजकताको बिगबिगी प्रारम्भ भयो । जब कांग्रेस र एमालेको समर्थनमा पूर्वपञ्च प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुनथाले त दलहरूबाट सिद्धान्तको राजनीति हरायो । प्राण गएको मान्छे र विचार हराएको पार्टी एउटै हो लास । लासको समयमा अन्त्येष्टि हुन नसक्दा कुहिएर गनाएर रोग फैलाउने चरणमा पुग्नु स्वाभाविक थियो । आखिर विचार हराएका दलहरू संसदीय प्रणालीका सिद्धान्त, विचारधारा, मूल्य मान्यता, आदर्श, विधि विधान, न्याय प्रतिपादनका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सरका रूपमा रूपान्तरण भए । दलहरू खासगरी कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी चुनाव जितेर (चुनाव कसरी चित्दथ्ये भन्ने छुट्ठै अध्ययनको विषय छ) सत्तामा पुगेपछि तिनीहरूको अब एउटै मात्र काम भयो जसरी भए पनि सत्तामा टिकिरहनु र निजी सम्पत्ति थुपार्नु । योभन्दा राजनीतिको कुनै अर्को अर्थ अस्तित्वमा रहन सकेन । देश, जनता, प्रणाली भाडमा जाओस देश बेचेर जनता बेचेर जसरी भए पनि अकुत सम्पत्ति थुपारेर (देउवाको घरमा जलेका १६ अर्ब नेरु भारु डलर) मोज मस्ती गर्ने (प्रचण्डको घरमा स्वीमिङ पुल जुन महाराजाहरूका दरवार या पाँचतारे होटलहरूमा मात्र उपयोगमा ल्याइन्छ ।) भन्दा राजनीतिको अर्र्को अर्थ चेतना नै हुन सकेन । खासगरी नेपाली कांग्रेसको गिरिजा लिगेसीदेखि देउवा कांग्रेसका एआई उत्तराधिकारहरू गगन थापासम्म, नेपाल कम्युनिस्ट पार्टी एमालेको महाकाली सन्धिमा राष्ट्रघात गर्ने (लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्साभित्र) जमातको भुँडी भर्नु र सम्पत्ति थुपार्नु उता राजनीति हुन्छ भन्ने चेतना नै अंकुरित हुन सकेन । माओवादी, मधेशवादी आदि इत्यादिले कांग्रेस एमालेकै सिको गरेर लुट्न थालेका कुरा गरेर साध्यै भएन ।
आज सरकारी डाटामा सवा ११ लाख र पूर्वप्रधानमन्त्री झलनाथ खनालको भाषणमा ४० लाख सुकुमबासी जुन संख्या आएको छ ०४५ सालसम्म धान चामल निर्यात कम्पनीका सरकारी साइनबोर्ड भनेपछि त्यस उता आकलझुकलबाहेक सुकुमबासी भेटिने प्रश्नै भएन । राजा महेन्द्रले पहाडमा जग्गाजमिन भएका नागरिकलाई तराईमा आएर बसोबास घरजम गरिदेऊ भनेर अनुनयविनय गुहार गर्नुपरेको पृष्ठभूमिमा सुकुमबासी समस्याको बीउ पाइने कुरै थिएन ।
बीपीपछि नेपाली कांग्रेसको वैचारिक लडाइँमा बारवरिक बनाइएको (कृष्णचाहिँ तत्कालीन समय) पात्रका नाताले म यो तथ्य किटेर उजगार गर्न सक्छु कि नेपालमा हिन्दी फिल्ममा देखाइने शैली (भू–माफिया)को सुकुमबासी समस्या बीजारोपण गरेर हुर्काउने फैलाउने प्रमुख पात्र मुख्य खलनायक गिरिजाप्रसाद कोइराला हुन् । आफूले झलझली आँखै अगाडि देखेको ‘अलिअलि भोगेको पनि’ जब विसं २०४८ को चुनावबाट गिरिजाप्रसाद कोइराला (कांग्रेस महामन्त्री) प्रधानमन्त्री भएर वालुवाटार पुगे त पूर्ण रूपमा भित्री र बाहिरी दुई थरी तत्वको घेराउमा परिहाले ।
बाहिरी घेराउ तत्वले चीनको सहयोगमा राजा महेन्द्रले खडा गरेका सारा कलकारखाना उद्योग मासेर मेनपावर कम्पनी खोलेर आजसम्मको परिणाममा ८० लाख बलिया पाखुरी खाडी मुलुकमा रगत पसिना बगाउन विवश पारिएको छ । त्यो बाहिरी तत्वको एउटै उद्देश्य थियो नेपालको अर्थतन्त्रलाई पूर्णरुपमा परनिर्भरतामा धकेलेर मुलुकमा अस्थिरता, अशान्ति, अराजकता मच्चाइ सार्वभौमिकतालाई बहुराष्ट्रिय कम्पनी (भारत, अमेरिका, युरोपियान युनियन)को ऋणको बन्दगी तुल्याउनु । त्यो काममा त्यो बाहिरी तत्व कुन हदसम्म सफल भयो भन्ने त हाल बालेन सरकारको अवतार कथासम्म सबै छर्लङ्ग छँदैछ ।
बालुवाटारमा कुण्डली मारेर गिरिजालाई घेर्ने भित्री तत्व थियो देशको अर्थतन्त्रको जरा सार्वजनिक ऐलानी जग्गा हडपेर कंगालबाट रातारात करोडपति बन्ने भू–माफिया गिरोह । गिरिजाका ज्वाइँले जयवागेश्वरीस्थित धार्मिक महत्वको तलाउ पुरेर त्यसमाथि २२ कोठा (फ्लाट)को महल खडा गरेका भन्ने समाचार त्यतिखेरका कान्तिपुरलगायत मिडियामा खोज्नुभए भेटिन्छ । तपाईँले खोज्नुभयो र हेर्नुभयो भने अहिले पनि सरकारी जग्गा हडप्नेको ६० प्रतिशत बढी संख्या खासगरी गिरिजा कांग्रेसको देउवा लिगेसीका एआई उत्तराधिकारहरूको जमात भेटिनेछन् । हुँदाहुँदा गिरिजाले रोपेको यो विषवृक्षबाट उत्पादन भएका नामावलीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वअर्थमन्त्री भेषबहादुर थापा, विष्णु पौडेल, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, प्रदिप ज्ञवाली, प्रदेश प्रमुख बहालवाला न्यायाधीश आदि इत्यादि कति–कति ११ लाख सुकुमबासी भनेपछि बहुदल (लादिएको ०७२ को संविधान) टिकाउने ओदानका तीन खुट्टामा एउटा खुट्टा यो धन्धा रहेछ भन्ने प्रमाण पुष्टि हुन्छ । बालेनबाट कुशासन अराजकताको यो खुट्टा भाँचिदिएकै कारण ‘बालेनले रिङ्गाएको बहुदलको टुप्पी’ संज्ञा दिएको हुँ । अस्तु ।