शेयर कारोबारमा गम्भीर अनियमितता गरेको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको ‘विचौलिया सञ्जाल’ राजनीतिक र आर्थिक क्षेत्रसँगै प्रहरी संरचनासम्म फैलिएको तथ्य क्रमशः सार्वजनिक हुँदै गएको छ।भट्टलाई सहयोग गरेको आरोपमा केही उच्च तहका निजामती कर्मचारीहरूलाई सरुवा गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकसहित आधा दर्जन कर्मचारीलाई मधेशदेखि सुदूरपश्चिम प्रदेशसम्म खेदिएको स्रोतको दाबी छ।भट्टसँगको सम्बन्धका कारण गृहमन्त्री सुधन गुरुङले नैतिकताको आधारमा राजीनामा दिएपछि अब यो प्रकरणमा संलग्न अन्य अधिकारीहरू पनि कारबाहीको दायरामा आउने संकेत देखिएको छ। तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र भट्टलाई सहयोग गर्ने भनिएका अधिकारीहरू अहिलेसम्म औपचारिक छानबिनमा तानिएका छैनन्।स्रोतका अनुसार भट्टले प्रहरीको प्रवन्ध शाखामार्फत ठेक्कापट्टामा प्रभाव जमाउँदै आएका थिए। आईजीपी नियुक्तिसम्म पनि उनको चलखेल हुने गरेको आरोप लाग्दै आएको छ। पूर्वआईजीपी र एआईजी स्तरका केही अधिकारीहरूले भट्टलाई सहयोग गरेको एक पूर्वप्रहरी अधिकारीले बताएका छन्।
प्रहरीको खरिद प्रक्रियामा समेत अनियमितता भएको आरोप छ। वाटरक्यानन खरिद प्रकरणमा सामान प्रवन्धमा दाखिला नभई भुक्तानी गरिएको विषयमा अख्तियारले समेत चासो देखाएको थियो। त्यस्तै, प्रवन्ध शाखामा कार्यरत केही पूर्वप्रहरी अधिकारीहरू भट्टसँग प्रत्यक्ष रूपमा जोडिएको पनि उल्लेख गरिएको छ।हाल पनि केही पूर्व र बहालवाला प्रहरी अधिकारी तथा ठेकेदार समूहले भट्टलाई सहयोग गरिरहेको स्रोतको दाबी छ। विशेषगरी हतियार खरिद र अन्य बन्दोबस्तीका सामानमा भट्टको सक्रियता देखिएको बताइन्छ।अघिल्लो सरकारका पालामा सार्वजनिक भएको अडियो प्रकरणमा समेत भट्टको संलग्नता देखिएको थियो। त्यतिबेला सम्बन्धित अधिकारीलाई सरुवा गरी प्रकरण दबाउने प्रयास भएको आरोप समेत लाग्दै आएको छ।भट्टकै ‘सेटिङ’मा ठूलो परिमाणको बन्दोबस्ती सामान खरिदमा करिब ४० करोड रुपैयाँ घोटाला भएको खुलासा भएपछि व्यापक विरोध भएको थियो। पछि जनदबाबका कारण उक्त ठेक्का रद्द गरिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि नै भट्टमाथि छानबिन गर्न पत्राचार गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने भट्टलाई पक्राउ गरी धितोपत्र बजारमा हस्तक्षेप गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ।स्रोतका अनुसार भट्टसँग मिलेर लाभ लिने प्रहरी अधिकारीहरूको सूची समेत तयार पारिएको छ र उनीहरूसँग बयान लिने तयारी भइरहेको छ।धितोपत्र बोर्डको अध्ययनले भट्टले शेयर बजारमा कृत्रिम उतारचढाव ल्याउने, मूल्य प्रभावित पार्ने र जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालेको छ।जाँचबुझ आयोगको प्रतिवेदनअनुसार भट्टले एक ब्रोकिङ कम्पनीमार्फत वास्तविक लेनदेनबिनै करोडौँ रुपैयाँको शेयर कारोबार गरेका थिए। विभिन्न वित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ निकालेर उनले बीमा र पुनर्बीमा कम्पनीहरूको ठूलो परिमाणमा शेयर खरिद गरेका थिए, जसमा समेत अनियमितता भएको देखिएको छ।यो प्रकरणले राज्य संयन्त्रभित्रै रहेको सम्भावित ‘सेटिङ नेटवर्क’ उजागर गरेको भन्दै व्यापक छानबिन र कडा कारबाहीको माग बढिरहेको छ।