काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार महासङ्घको ६०औँ वार्षिक साधारणसभामा उनले दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन सरकारलाई आग्रह गरे । महासङ्घले यसअघि नै आर्थिक रूपान्तरणका लागि कानुनी सुधारको माग गर्दै आएको उनको भनाइ छ । उनले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताए । ‘हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ’, उनले भने ।
ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक भएको बताए । झन्डै दुईतिहाइ समर्थनसहित सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई नीतिगत स्थायित्व र विकासका लागि प्रयोग गर्न आग्रह गरे । महासङ्घको पहलमा निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पारित गरिएको रणनीतिप्रति सरकारको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै ढकालले यसले निजी क्षेत्रको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘निजी उद्यमीलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक छ ।’ ढकालले नेपालमा हाल ठूलो आर्थिक अवसर उपस्थित भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिएमा नेपालसँग तीव्र आर्थिक प्रगतिको पर्याप्त सम्भावना रहेको उनको भनाइ छ ।
नेपालको जनसंख्याको औसत उमेर करिब २५ वर्ष रहेको र छिमेकी भारत र चीन जस्ता ठूला बजार नजिक हुनु मुलुकका लागि अवसर भएको ढकालले बताए । साथै विकसित मुलुकहरूमा भन्साररहित पहुँचका कारण नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने उनको धारणा छ । देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकामा चिन्ता व्यक्त गर्दै उनले उच्च ज्यालासहितको रोजगारी सृजना नगरेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए । अध्यक्ष ढकालले नेपाल र दक्षिण कोरियाबीचको प्रतिव्यक्ति आयको तुलना गर्दै सुधारको गति अपेक्षाभन्दा कम रहेको बताए । ‘हामीले प्रगति त गरेका छौँ, तर सम्भावनाअनुसारको उपलब्धि हासिल गर्न सकेका छैनौँ,’ उनले भने ।
पछिल्लो समय मध्यपूर्वमा देखिएको संकटले नेपालको अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उनले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर परेको बताए । यस्तो अवस्थामा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने उनको भनाइ छ ।