नेपालको विकासको सन्दर्भमा प्राविधिक शिक्षा एउटा यस्तो शब्द बनेको छ । जसले एकातिर समृद्धिको सपना देखाउँछ भने अर्कोतिर वर्तमानका चुनौतीहरूको ऐना पनि प्रस्तुत गर्छ । कुनै पनि राष्ट्रको आर्थिक मेरुदण्ड त्यस देशको जनशक्ति र उनीहरूको सीपमा निर्भर हुन्छ । नेपाल जस्तो विकासोन्मुख देशका लागि सैद्धान्तिक ज्ञानमात्र बोकेका बेरोजगार स्नातकहरू भन्दा हातमा सीप भएका प्राविधिकहरू आजको प्राथमिक आवश्यकता हुन् । फलतः नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि प्राविधिक शिक्षा केवल रोजगारीको साधनमात्र नभएर, आत्मनिर्भर भविष्य निर्माण गर्ने आधारशिला हो । विश्व तीव्र गतिमा प्राविधिक प्रगतितर्फ अघि बढिरहेको छ, र नेपालले पनि आफ्नो सामाजिक आर्थिक रूपान्तरणका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनु अपरिहार्य छ । यसमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमले व्यक्तिलाई कुनै विशेष पेशा वा कार्यका लागि आवश्यक पर्ने व्यवहारिक सीप र ज्ञान प्रदान गर्छ । वस्तुतः राष्ट्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले यसको नेतृत्व गरिरहेको छ । वर्तमान समयमा नेपालमा कृषि, इन्जिनियरिङ, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रयास भइरहेका छन् । तर, अझै पनि हाम्रो समाजमा पढ्न नसक्नेले प्राविधिक शिक्षा लिने हो भन्ने संकुचित मानसिकता कायमै छ । जबसम्म यो सोचमा परिवर्तन आउँदैन, तबसम्म प्राविधिक शिक्षाले अपेक्षित गति लिन सक्दैन ।
नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि रेमिट्यान्समा टिकेको छ । तर, विदेश जाने युवाहरूमध्ये अधिकांश अदक्ष श्रमिकका रूपमा जान्छन् । जसले गर्दा उनीहरूको कमाइ न्यून छ र श्रम शोषणको जोखिम उच्च छ । यदि हामीले हाम्रा युवाहरूलाई प्लम्बिङ, इलेक्ट्रिसियन, वेल्डिङ, वा मोबाइल रिपेयरिङ जस्ता आधारभूत प्राविधिक सीपमात्र सिकाएर पठाउन सक्यौँ भने पनि उनीहरूको आय दोब्बर हुन सक्छ । आन्तरिक रूपमा हेर्ने हो भने, नेपालमा ठूला विकास आयोजनाहरू निर्माण भइरहेका छन् । तर, ती आयोजनाहरूमा काम गर्ने दक्ष प्राविधिकहरूमा (जस्तैः सुरुङ इन्जिनियर, हेभी इक्विपमेन्ट अपरेटर) प्रायः छिमेकी देशहरूबाट ल्याउनुपर्ने बाध्यता छ । स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुनु नै वास्तविक आत्मनिर्भरताको पहिलो पाइला हो ।
आजको मागबमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत सञ्चालन हुने डिप्लोमा तहका कार्यक्रमले हरेक वर्ष हजारौं विद्यार्थीलाई व्यावहारिक सीपसहित बजारमा प्रवेश गराइरहेका छन् । डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, हेल्थ असिस्टेन्टजस्ता कार्यक्रम तीन वर्षको अवधिमा सम्पन्न हुने र सैद्धान्तिक ज्ञानसँगै अस्पतालमा प्रत्यक्ष अभ्यासको अवसर प्रदान गर्ने भएकाले रोजगारयोग्य जनशक्ति उत्पादनमा प्रभावकारी मानिन्छन् । विश्वव्यापी परिप्रेक्ष्यमा झन् ठूलो अवसरको ढोका खुलेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०३० सम्म विश्वमा करिब १ करोड ८० लाख स्वास्थ्यकर्मीको अभाव हुने प्रक्षेपण गरेको छ । विशेषगरी वृद्धजनको संख्या तीव्र रूपमा बढ्दै गइरहेका विकसित मुलुकहरू, जस्तै : जापान, क्यानडा, जर्मनीमा केयरगिभर, नर्सिङ सहायक तथा स्वास्थ्य सहयोगीको माग उच्च छ । नेपालबाट पनि पछिल्ला वर्ष हजारौं युवाहरू यस्ता क्षेत्रमा वैदेशिक रोजगारीमा गइरहेका छन् । यसले स्वास्थ्य प्राविधिक शिक्षा केवल स्वदेशमै सीमित अवसरमात्र नभएर, अन्तर्राष्ट्रिय श्रमबजारमा समेत प्रतिस्पर्धी बन्न सक्ने आधार भएको पुष्टि गर्छ ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि शिक्षा केवल ज्ञान आर्जनको माध्यममात्र होइन, आर्थिक, सामाजिक र प्राविधिक रूपान्तरणको प्रमुख आधार हो । विशेष गरी आजको विश्वव्यापी प्रतिस्पर्धा र तीव्र प्राविधिक परिवर्तनको युगमा प्राविधिक शिक्षा राष्ट्रको समग्र विकासको मेरुदण्डका रूपमा उभिएको छ । मुलुकको सन्दर्भमा प्राविधिक शिक्षा अझै पनि पर्याप्त विस्तार हुन नसकेको भए पनि यसको महत्व दिन प्रतिदिन बढ्दो छ । आत्मनिर्भर राष्ट्र निर्माणका लागि प्राविधिक शिक्षा अनिवार्य सर्तजस्तै बनेको छ । यसमा प्राविधिक शिक्षा भन्नाले व्यावहारिक ज्ञान, सीप र दक्षता विकास गर्ने शिक्षालाई बुझिन्छ । यसले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमात्र नभई प्रत्यक्ष काम गर्ने क्षमता प्रदान गर्छ । जस्तै इन्जिनियरिङ, स्वास्थ्य सेवा, कृषि, सूचना प्रविधि, मेकानिकल काम, निर्माण कार्य, पर्यटन तथा आतिथ्य सेवा आदि क्षेत्रहरूमा आवश्यक सीप प्राविधिक शिक्षाबाट प्राप्त हुन्छ । तसर्थ राष्ट्रमा प्राविधिक शिक्षालाई प्रायः सीपमूलक शिक्षा भनेर पनि चिनिन्छ । जसलेगर्दा रोजगारी सिर्जना र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
नेपालमा प्राविधिक शिक्षा औपचारिक रूपमा विभिन्न तहमा सञ्चालन हुँदै आएको छ । माध्यमिक तहदेखि उच्च शिक्षासम्म प्राविधिक विषयहरू समावेश गरिएका छन् । तर पनि समग्र रूपमा हेर्दा यसको पहुँच सीमित छ । २१औँ शताब्दीमा प्राविधिक शिक्षाको सबैभन्दा ठूलो हिस्सा सूचना प्रविधिले ओगटेको छ । नेपालका लागि सूचना प्रविधि यस्तो क्षेत्र हो, जहाँ भौगोलिक कठिनाइले अवरोध पु¥याउँदैन । एक कोठामा बसेर नेपाली युवाले विश्वका ठूला कम्पनीहरूका लागि सफ्टवेयर बनाउन सक्छन् । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन दक्ष प्रोग्रामर, डेटा एनालिस्ट र साइबर सुरक्षा विशेषज्ञहरूको खाँचो छ । यो क्षेत्रमा हुने लगानीले देशलाई नलेज इकोनोमीतर्फ लैजान्छ, जहाँ भौतिक वस्तुको निर्यात भन्दा बौद्धिक सम्पत्तिको निर्यातबाट बढी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
नेपाल जस्तो भौगोलिक, भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण विकासशील राष्ट्रमा दिगो आर्थिक प्रगति र सामाजिक रूपान्तरणका लागि प्राविधिक शिक्षा महत्वपूर्ण आधार हो । विश्व आज चौथो औद्योगिक क्रान्तिको दौरमा प्रवेश गरिसकेको छ । जहाँ डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, बायोटेक्नोलोजी र नवीकरणीय ऊर्जाको प्रभुत्व बढ्दै गएको छ । यस्तो अवस्थामा नेपालले आफूलाई कसरी प्रतिस्पर्धी, नवप्रवर्तनशील, र आत्मनिर्भर राष्ट्रका रूपमा स्थापित गर्न सक्छ भन्ने मूल जवाफ प्राविधिक शिक्षामा निहित छ । तर दुर्भाग्यवश, नेपालको प्राविधिक शिक्षा अझै पनि सैद्धान्तिक, केन्द्रित र अव्यवहारिक छ । यस अर्थमा भन्ने नै हो भने देशमा प्राविधिक शिक्षाको वर्तमान अवस्था, यसले सामना गरिरहेका चुनौतीहरू, दिगो विकासको लागि यसको भूमिका, र आत्मनिर्भर भविष्य निर्माणको बाटोसम्बन्धी विस्तृत विश्लेषण गरिने छ ।
हाम्रो देशमा प्राविधिक शिक्षाको सुरुवात औपचारिक रूपमा १९८० को दशकमा तत्कालीन श्री ५ को सरकारले सहायक प्राविधिक प्रशिक्षण कार्यक्रम सुरु गरेपछि मानिन्छ । सन् १९६२ मा स्थापित नेपाल प्राविधिक केन्द्र (अहिलेको सीटीईभीटी) प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षणको लागि सर्वोच्च संस्था हो । तर, विगत दशकहरूमा यो क्षेत्र उपेक्षित र अधुरो रणनीतिक योजनाको शिकार बन्यो । मुलुकी शिक्षा ऐन र शिक्षा आयोगले प्राविधिक पक्षलाई औपचारिक मान्यता दिए पनि व्यवहारमा सामान्य र क्लासिकल शिक्षालाई प्राथमिकता दिने प्रवृत्ति रह्यो । तसर्थ मुलुकको समृद्धि र आत्मनिर्भर भविष्यको आधार प्राविधिक शिक्षा नै हो । केवल सैद्धान्तिक ज्ञानले मात्र राष्ट्रको विकास सम्भव छैन । सीप, दक्षता र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समाज सबैको संयुक्त प्रयासबाट मात्र प्राविधिक शिक्षा सुदृढ गर्न सकिन्छ । यदि नेपालले प्राविधिक शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउन सकेमा, बेरोजगारी घट्ने छ, उत्पादन बढ्ने छ, वैदेशिक निर्भरता कम हुनेछ र अन्ततः आत्मनिर्भर, समृद्ध र सक्षम राष्ट्र निर्माण सम्भव हुनेछ ।
समग्रमा भन्नुपर्दा नेपालको उज्ज्वल भविष्यका लागि अबको शिक्षा के पढ्ने? भन्दा पनि के गर्ने? भन्नेमा केन्द्रित हुनुपर्छ । प्राविधिक शिक्षा केवल रोजगारी पाउने माध्यममात्र नभएर, यो राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको प्रतीक पनि हो । जब हाम्रा युवाहरूका हातमा सीप हुन्छ तब उनीहरू खाडीको मरुभूमिमा पसिना बगाउन बाध्य हुने छैनन् । मूलतः स्वदेशमै जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको विकास गरेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन सक्छौँ । तसर्थ, राज्यले प्राविधिक शिक्षामा लगानी बढाउनु र समाजले यसप्रतिको दृष्टिकोण बदल्नु नै आजको मुख्य आवश्यकता पनि हो । राष्ट्रको भविष्य आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा अपरिहार्य छ । यसले युवालाई रोजगारीमात्र होइन, उद्यमशीलता र नवप्रवर्तनतर्फ उन्मुख गराउँछ । अतः प्राविधिक शिक्षामा लगानी गर्नु भनेको दीर्घकालीन रूपमा राष्ट्रको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा लगानी गर्नु हो ।