एकदलीय दुईतिहाइ रहेको संसद्मा यतिबेला मर्यादाको गम्भीर प्रश्न उठेको छ र यसका प्रमुख पात्र छन् संसद्कै प्रमुख नेता प्रधानमन्त्री । सभा सञ्चालन गर्ने सभामुख भए पनि संसद्को नेता भनेको प्रधानमन्त्री नै हो । यस्तो संसद्को दोस्रो अधिवेशन जसमा सरकारका वार्षिक कार्यक्रम । त्यसैअनुसार बजेट आउँछ र संसद्ले पारित गर्छ । सरकारका वार्षिक कार्यक्रम र बजेट भनेका पूर्णरूपमा सरकारी हुन्, जसमा वार्षिक कार्यक्रम प्रधानमन्त्रीले र बजेट अर्थमन्त्रीले पेश गर्छन् । सरकारका वार्षिक कार्यक्रम सभामा प्रस्तुत भइसकेको छ भने यो पारित भएपछि बजेट प्रस्तुत हुन्छ । सरकारका वार्षिक कार्यक्रम सभामा प्रस्तुत गरेर राष्ट्रपति अर्थात् राष्ट्राध्यक्षले वाचन गर्न थालेपछि प्रधानमन्त्री यहीबेला सभाबाट गायब भए । यहीबाट संसद्मा राष्ट्रिय मर्यादाको कुरा उठेको हो, जो प्रधानमन्त्री आफैँ यसका प्रमुख पात्र बने । हिजोसम्मको संसद्मा यस्तो कहिल्यै भएको थिएन । यहीँबाट मर्यादाको कुरा उठको हो । हुँदैजाँदा यो कार्यक्रममाथि छलफल हुने र सदस्यहरूमा कुनै जिज्ञासा रहे त्यसको जवाफ दिने भनेर तय भएको दिनमा पनि प्रधानमन्त्री संसद्मा आएनन् ।
संसद् भनेकै मर्यादाले चल्ने निकाय हो । त्यसअनुसारको कानुन बनाउने पनि सांसद नै हुन् । प्रधानमन्त्री संसद्को नेता भएका कारणले त यी पदाधिकारीको भूमिका झन् ठूलो हुन्छ । तर त्यसैलाई योपटक प्रधानमन्त्रीले तोडे । संसद्मा सांसदले नै बनाएको नियमलाई जब प्रधानमन्त्री नै पालना गर्दैनन् भने अवस्था के होला भन्ने प्रश्न उठ्छ नै । बैठकमा पालन गर्नुपर्ने नियमहरू हेरौं– सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने, सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने, बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने, सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने, बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने, सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने, बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने, बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने आदिआदि ।
सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने भनिएको ठाउँमा प्रधानमन्त्रीले भने सभामुखभन्दा ठूला पदाधिकारी अर्थात् राष्ट्राध्यक्षले नै बोलिरहैकै बेला प्रधानमन्त्री सभा छाडेर हिँडे । सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भनिएकोमा राष्ट्राध्यक्षले नै बोलिरहेको बेला सभा छाडियो । सभामुखको आसनतर्फ पिठ्यूँ फर्काउन नपाइने भनिएकोमा प्रधानमन्त्रीले राष्ट्राध्यक्षले नै बोलिरहेका बेला उनको आसनतर्फ पिठ्यूँ फर्काउन पनि प्रधानमन्त्री पछि परेनन् । त्यसदिन प्रधानमन्त्रीले कायम गर्न खोजेका यी नजिर सामान्य छैनन् । आफ्नो दलको प्रधानमन्त्रीबाट संसद्को यस प्रकारले हुर्मत लिइरहेका दृश्यहरू प्रत्यक्ष प्रसारणमा पनि गइरहेका थिए भने दुईतिहाइ ल्याउने दलका सभापति पनि रमितेमात्रै भइरहे । यस्तो बेला संसद्मा नहुनुपर्ने कुरा हुन के बाँकी रहला भन्ने प्रश्न उठ्ने भयो नै । तर यसको जवाफ भने कतैबाट आउनेवाला छैन । सबैभन्दा अन्यौल र चिन्ताको विषय पनि यही हो ।