काठमाडौं । देशभर सञ्चालनमा रहेका ४५ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने ३५ करोड रुपैयाँभन्दा बढी रोयल्टी रकम नतिरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/८१ सम्बन्धी प्रतिवेदनअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त वित्तीय विवरणको परीक्षण गर्दा ३५ करोड ३६ लाख ८४ हजार रुपैयाँ रोयल्टी असुल हुन बाँकी देखिएको हो ।
दूरसञ्चार नियमावली, २०५४ को नियम २६ अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाले आफ्नो कुल वार्षिक आम्दानीको ४ प्रतिशत रकम प्रत्येक वर्ष रोयल्टीका रूपमा नेपाल सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
महालेखाको प्रतिवेदनमा विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पेश गरेको विवरणअनुसार उनीहरूको कुल आम्दानी ८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको उल्लेख छ । सोही आम्दानीको ४ प्रतिशतका दरले हुन आउने ३५ करोड ३६ लाख ८४ हजार रुपैयाँ सरकारलाई बुझाउनुपर्ने भए पनि हालसम्म दाखिला नभएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले बक्यौता रकम मात्र नभई आवश्यक जरिवानासमेत निर्धारण गरी सम्बन्धित कम्पनीहरूबाट शीघ्र असुल गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
प्रतिवेदन सार्वजनिक भएसँगै दूरसञ्चार क्षेत्रको नियमन, राजस्व संकलन र सरकारी अनुगमन प्रभावकारितामाथि समेत प्रश्न उठेको छ ।