पोहोर साल एकजना आफन्त उपचारको सिलसिलामा दाङ र बुटवलतिर अलमलिनाले निको हुन ढिलो भयो, आखिरमा काठमाडौँ नआइ सुखै थिएन । उताका रिपोर्टहरू काठमाडौँको अस्पतालको रिपोर्टभन्दा फरक देखिएको थियो । बिरामी सुरुमै सिधै काठमाडौँ आएको भए दुःख पनि कम हुने थियो र निको पनि छिटै हुने थियो, साथै उतातिर अनावश्यक रकमको खोलो बग्यो । उपचारको नाममा व्यापारिकरण अर्थात् नाफामुखी व्यवसाय बन्नपुगेको छ स्वास्थ्य क्षेत्र । सामान्य औषधि पसल गरेकाले केही वर्षमै करोड कमाइसकेका हुन्छन् विचरा सोझा सिधा मान्छेहरूलाई अन्दाजको भरमा अनावश्यक औषधि र शक्तिवर्धक पदार्थ विकाएर । ठूला अस्पतालका विशेषज्ञबाट सिफारिस हुनुपर्ने औषधि हचुवाको भरमा बिरामीलाई भिडाउँदा बिरामीको ज्यान झन् जोखिममा पर्न जाने र औषधि पसले धनाढ्य हुँदै जाने अवस्थालाई सरकारले समयमै निगरानी बढाउनु आवश्यक छ । औषधि पसलमा मेडिकल फार्मेसीको साइनबोर्ड लेखेरमात्र पुगेको हुँदैन, ठूलो अक्षरमा ‘औषधि पसल’ भनेर लेखिनुको आसय धेरैलाई थाहा हुँदैन । औषधि पसल लेखिएन भने त्यहाँ व्यापार कम हुन्छ । त्यहाँ अन्दाजको भरमा पनि औषधि किन्ने मान्छेहरू हुन्छन् । पेट के कारणले दुखेको छ भन्ने कुराको निदान नभैकन जथाभावी औषधि बिक्री गर्नु सरासर गलत कार्य हो ।
बाटो हिँड्दा पनि हातहातमा एक्सरे, एमआरआई, सिटीस्क्यानको रिपोर्ट बोकेकाहरू निकै देख्न सकिन्छ सहरमा । आफ्नो ज्यूज्यान कसरी जोगाउने, के के नखाने, के के गर्ने भन्ने हेक्का हुँदैन नेपालीहरूमा । अनि स्वास्थ्य बिग्रिएपछि उपचारको नाममा अस्पतालको शरणमा परेपछि पनि आफैले यो–यो गल्ती गरेपछि मेरो ज्यान बिग्रएिको हो भन्ने कुरा सोच्दैनन् । जुनसुकै कुरामा पनि पछाडि फर्केर नहेर्ने नेपालीहरूको बानी नै छ । रोग लागेर उपचार गर्नुभन्दा पहिल्यै रोगको रोकथाम गर्न सकेमा स्वास्थ्य पनि नबिग्रने र अनावश्यक खर्च पनि गर्नु नपर्ने हुन्छ । संयमित भएर जीवन बिताउने, जिब्रोको लागिमात्र जे पायो त्यही नखाने, मनोरञ्जनको नाममा मदिरा सेवन नगर्ने र सुर्ती चुरोटको लतमा नफस्ने हो भने स्वास्थ्यमा समस्या आउँदैन । ग्रामीण भेगको कुरा गर्दा भने गाई भैँसीका लागि डाले घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते हुनु चाहिँ दुर्भाग्यको कुरा हो । यसलाई रोकेर रोकिँदैन तर पनि होसियारी अपनाउनु आवश्यक छ । त्यस्तै पौडी खेल्ने क्रममा डुबेर पेट र फोक्सोमा पानी पसेर मान्छे बिरामी हुन्छ । पौडी खेल्दा वा नदी वारपार गर्दा पनि होसियारी अपनाउनुपर्दछ । खेतबारीमा काम गर्दा सर्पले नटोकोस् भनेर सुरक्षित खालको जुत्ता वा बुट लगाउनु पर्दछ ।
व्यवसायिक क्षेत्रमा कमिसन मार्जिन धेरै हुनेमा औषधिको व्यापार पनि पर्दछ । जसबाट औषधि व्यवसायीले मनग्यै आम्दानी गरेको पाइन्छ । औषधि कम्पनीका एजेन्ट वा प्रतिनिधिहरूहरेक अस्पतालको स्वास्थ्य परीक्षण कक्षको ढोका बाहिर ठूलाठूला झोला काँधमा झुण्ड्याएर उभिएका हुन्छन् घाँटिमा टाइ कसेर चिटिक्क परेर । बिरामीले पालो नपाउँदा उनीहरूले भने चिकित्सकलाई सजिलै भेट गर्छन् र औषधि नमूना दिएर जान्छन् । डाक्टरले जति सिफारिस गर्यो एजेन्टमार्फत त्यति कमिसन आउँछ । पहिले पहिले चिकित्सक वा डाक्टरलाई भगवानको रुपमा चिन्दथे भने हालका दिनहरूमा डाक्टरलाई व्यवसायीसमेत भन्ने गरिएको छ । पछिल्लो समय डाक्टरमाथि दुर्व्यवहार अर्थात् हातपात र अस्पताल तोडफोड गर्नेहरू पनि नभएका होइनन् । बिरामीलाई शतप्रतिशत ग्यारेन्टी कसैले पनि दिँदैन । बिरामीको अवस्था र संयोगले नै उसको मृत्यु हुने हो । मृत्यु भइसकेपछि अस्पताल तोडफोड गर्नु र चिकित्सकमाथि हातपात गर्नु मुर्खताबाहेक केही पनि हुँदैन । मृतकका आफन्त आक्रोसमा आउनु स्वभाविकै हो, तर आक्रमणमा उत्रिनु भनेको असंयमता हो ।
निजी अस्पतालमा निगरानी हुनुपर्दछः
यो लेखक एक दिन चक्रपथ छेउँमा रहेको एक निजी अस्पतालमा सामान्य समस्या लिएर जाँदा त्यहाँका डाक्टरले एघार प्रकारका डायग्नोसिस गराउन लगाएका थिए । मैले तुरुन्तै कुरा बुझिहाले निजी अस्पतालको काम सुरुमै आर्थिक लाभ लिनका लागि रहेछन् भन्ने कुरा ।
सरकारी अस्पतालका छेउमा निजी स्वास्थ्य केन्द्र किन ?
शिक्षण अस्पतालको छेउ र पाटन अस्पतालको छेउमा निजी क्लिनिक, ल्याब तथा फिजयोथेरापी सेन्टरहरू पनि देखिन्छन् । शिक्षण अस्पतालमा केही दशकअघि मैले एक पटक थेरापी गराउँदा थेरापिस्टले बाहिर आफ्नो निजी थेरापीमा बोलाएर थेरापी गराएका थिए । त्यहाँ पनि मैले कुरा बुझिहालेँ । पैसा कमाउन जे पनि हुँदोरहेछ भनेर ।
डायग्नोसिस अलग राख्न नपाइने हुनुपर्दछ:
रोग निदानका लागि कि अस्पतालभित्रै आफैंले र कि त भने अस्पतालको नजिकै पर्ने स्थानमा डायग्नोसिस व्यवसाय राख्नुपर्दछ । अस्पतार एकातिर छ र डायग्नोसिस व्यवसाय अन्तै छ भने बिरामीलाई झनै गाह्रो पर्नसक्छ । त्यहाँसम्म जान आएन कुर्न समयको बर्वादी हुने हुँदा सरकारले यसतर्फ पनि कडाइ गर्नु आवश्यक छ । सरकारी अस्पतालको झैँ निजी अस्पतालले पनि सबै सेवा एकै ठाउँ दिनुपर्ने कुरामा जोड दिनुपर्दछ र यस सम्बन्धमा सरकारले नियम बनाएर कडाइका साथ लागू गर्नुपर्ने र अनुगमन तथा निरीक्षण गर्नुपर्ने आवश्यक छ ।
प्रयोगशालाका रिपोर्टहरू फरकफरकः
नेपालमा सबै क्षेत्र गञ्जागोल देखिने क्रममा उपचार वा रोग निदानका काममा पनि त्यो अछुतो छैन ।
एउटा कुनै रोग जाँच पडतालको क्रममा ल्याब वा प्रयोगशालामा परीक्षण गरिएको पिसाब वा रगतको रिपोर्ट अर्कोसँग मेल नखाएको कुरा पनि बेलाबेलामा सुन्न सकिन्छ ।
पत्रिकामा विज्ञापन बन्द गरिनुपर्छः
काठमाडौँ उपत्यकाबाट प्रकाशन हुने पत्रपत्रिकाहरूमा स्टेथोसकोप घाँटीमा लट्काएको डाक्टरको फोटो राखेर फलानो ठाउँमा यो यो रोगको उपचार हुन्छ भन्दै विज्ञापन गरिँदैन जुन काम मोफसलका साना सहरहरूमा गरिएको हुन्छ ।
आयुर्वेदिक उपचारमा नक्कली विज्ञापनः
मलाई यो आयुर्वेदिक केन्द्रमा गएपछि मलाई यो यो समस्या समाधान भयो भनेर कसैलाई भन्न लगाइन्छ र उनीहरूको व्यवसाय मजाले चल्छ र धन आर्जन हुन्छ । वास्तवमा त्यसरी भन्न लगाउनु राम्रो होइन । राम्रो काम आफैँ फैलिन्छ र विश्वासमा बिरामीहरू त्यहाँ पुग्छन् नै । फुटपाथमा राखेर बिक्री हुने जडिबुटीहरूको महत्व त होला तर त्यसको सही तरिकाले प्रयोग कसरी गर्ने भन्ने कुरा बिक्रेतालाई थाहा हुँदैन र अन्दाजको भरमा भनिएको कुरालाई पत्याएर बटुवाहरूले त्यस्ता जडिबुटी सेवन गर्दछन् । त्यस्तो जडिबुटीको के के समस्याका लागि काम लाग्छन् भन्ने कुरा अध्ययन अनुसन्धान गरिसकेका विज्ञ अर्थात् ज्ञाताहरूबाट मात्र सल्लाह लिएर प्रयोग गर्दा उचित हुन्छ ।
उपचारको भ्रामक विज्ञापन टिकटकमाः
अहिले सामाजिक सञ्जालमार्फत मानसिक उपचारका विज्ञापन गरिने क्रम बढ्दो छ । उपचारको नाममा ठगी हुने सबैभन्दा डर लाग्दो माध्यम भनेको टिकटक नै बनेको छ । त्यहाँ हावादारी कुराहरूदेखि नाजायज फाइदा लिनखोज्ने व्यवसायीहरूले लुट्ने काम गरिरहेको आभास पाइन्छ । एनजाईटी, तनाव, बेचैनी, अनिद्रा, डर, डिप्रेसन, फ्रस्ट्रेसन, स्ट्रेस, मसानका कुरादेखि भुतसम्मका अनि मेन्टल थेरापीका कुरा धेरै देखिन्छन् र सुनिन्छन् । उपचारकले प्याट्ट हिर्काउँदा बित्तिकै आँखाको ज्योति खुल्यो, बहिराले कान सुन्ने भयो, नफुटेको बोली फुट्यो, ब्लक भएको नशा खुल्यो भन्ने जस्ता कुराहरूअरुलाई बक्न लगाएर दुनियाँलाई भ्रममा पारेर अनि ग्राहकहरूतानेर मनग्यै दाम कमाउने र सरकारलाई कर नतिर्नेहरूको लर्को छ । उपचारको नाममा महिलाको नितम्बमा छुने, वक्षस्थलमा स्पर्श गर्ने जस्ता अश्लिल हर्कत पनि ती झारफुकेहरूबाट हुने गरेको पाइन्छ ।
केटीलाई केटा र केटालाई केटी बनाउने मन्त्र तेह्र सयमा खुलेआम बिक्री भइरहेको छ । पाखण्डीहरूको व्यापार चलिरहँदा अन्धभक्तहरूको आँखा खुलेको देखिँदैन । सन्त वा गुरु हत्यारा–बलात्कारी भए पनि उनका अन्धभक्तहरूले आफ्नो स्वामी वा गुरु वा सन्तको विरोधमा उत्रन चाहँदैनन्, पाप लाग्छ रे । उनीहरूको फन्दामा परेर तन–मन–धन गुमाउने अन्धभक्तहरूको कमी छैन यहाँ । मन्दिरमा भक्तहरूको कमी भइरहँदा ठगी गर्ने धाम वा आश्रम भनिने अखडामा घुइँचो देखिन्छ । कालसर्प योगको पूजा पञ्चाङ्ग निर्णायक समितिले अवैध भन्दाभन्दै पनि केही ज्योतिषीले सोसम्बन्धी धन्दा चलाएर करोडौँ कमाइसकेका छन्, गाडी किनिसकेका छन् अनि आलिसान महलमा मस्ति गरिरहेका छन् । नेपालको बिरामीको फोटो भारतको एक कुनामा रहेको आश्रममा पठाएपछि उताबाट धन्दावालाले फोटोमा अबिर दलेर दस्तखत गरेर पठाएपछि यताका बिरामीको रोग चट हुन्छ रे । क्या गजब छ बा! धन्दाहरू पनि कस्ता कस्ता? एआईबाट विभिन्न भ्रामक भिडियो बनाएर टिकटकमा राखेपछि सोझा मान्छेहरूले पत्याएर त्यस्ता ठगका पछि लाग्छन् कथित उपचार गराउन । यो बाबा ऊ बाबा लट्टा पालेर दैविक शक्ति, भुत चढ्ने, देवता चढ्ने के के हुन् के के? अहिलेको जमानामा पनि यस्ता वाइह्यात कुराका पछाडि दौडिने मान्छेहरूधोका बाहेक अरु के नै खाला र? साधारण मान्छेले उपचार गरेर निको हुने भए किन पैसठ्ठी लाख खर्च गरेर एमबीबीएस पढ्नुपर्यो? गौतम बुद्ध र गुरु गोरखनाथको नाम भजाएर करोडौ–अर्बौँ कमाउनेहरूयहाँ सलबलाइरहेका छन् र उपचारको नाममा अनेक ढोँग रचेर आफ्नो पाखण्ड प्रदर्शन गरिरहेका छन् । फोटो र अनलाइनबाट बिरामीको जोखाना हेर्ने ठगहरूबाट सबैजना सतर्क रहनुपर्दछ । डिभोर्सवालाहरूलाई यहाँ स्वागत छ भनेर पनि भनिएको हुन्छ कुनैकुनै आश्रममा जहाँ हिप्नोसिस र ब्रेनवासको शिकार बन्छन् र लुटिन्छन् बिस्तारै–बिस्तारै मान्छेहरू ।
अन्त्यमा, उपचारको नाममा ठगिने र उपचारकै लागि भएभरको सम्पत्ति सकिने अवस्था छ कतिपय नेपालीहरूको । बुझ्दै नबुझी मनगढन्ते उपचार केन्द्रहरूमा धाउनुभन्दा बुझेरमात्र नाम चलेका अस्पतालमा गएर भरपर्दो उपचार गराउनुपर्दछ ।