काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । निर्माणाधीन ऊर्जा परियोजना समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न उनले निर्देशन दिए ।
विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । ‘प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस’, उनले भने । उनले मुलुकको समग्र ऊर्जा विकासका लागि प्रसारण पूर्वाधार निर्माण नै सरकारको मुख्य प्राथमिकता रहेको बताए । मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिए । कम्पनीको कार्यसम्पादनमा आवश्यक पर्ने बजेट तथा दक्ष जनशक्तिको कुनै पनि कमी हुन नदिने उनको भनाइ थियो । परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारितमा नै काम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
परियोजनामा नीतिगत वा प्रशासनिक अवरोध भएमा त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी ऊर्जा पूर्वाधार विकासलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै पूर्वतयारी पूरा भएका आयोजनालाई तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिए । त्यसक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव चिरन्जीवी चटौतले कम्पनीका प्राथमिकता र प्रतिफलको विषयमा गम्भीर हुन आग्रह गरे । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्रको विकास र ऊर्जा सुरक्षा सुनिश्चित गर्न प्रसारण ग्रिडले काम गरिरहेको बताए । अवलोकनमा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको थियो ।