पूर्व उपसचिव, नेपाल सरकार
हाम्रोमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै गएको जगजाहेर नै छ । त्यस्तै पचासौं लाख युवायुवती रोजगारीको खोजीमा परदेश पुगेका छन् । आवश्यक प्राविधिक ज्ञान र सीप हासिल नगरिकन विदेश गएका यस्ता युवाजनशक्तिको आयआर्जन न्यून हुन स्वभाविकै हो । भर्खर एसईई उत्तीर्ण गरेका युवा उमेरमा प्रवेश उन्मुख जनशक्तिलाई बेलैमा उनिहरूको रुची, क्षमता र स्वदेश तथा विदेशको श्रम बजारको माग अनुसारको प्राविधिक शिक्षाको आकर्षण र अवसर प्रदान गर्न सकेमा बेरोजगारी समस्याको समाधानमात्रै नभएर आफ्नै देश विकासमा जुट्ने वातापरण बनाउन सकिन्छ भन्नेतर्फ पनि हेक्का राख्नु जरुरी छ । प्राविधिक शिक्षाले सीप हातमा रोजगार साथमा भन्ने मान्यतालाई सार्थक बन्दछ । हाम्रो जस्तो विकासोन्मुख देशका लागि विभिन्न विधामा उच्च तथा मध्यम कोटिका प्राविधिक ज्ञान भएका जनशक्तिको खाँचो पर्नु स्वभाविकै हो । समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न आवश्यक प्राविधिक जनशक्ति उत्पादनतर्फ बेलैमा ध्यान दिनुको विकल्प छैन । नेपालमा पनि प्राविधिक शिक्षाको विकास विस्तारमा तीब्रता आएको पाइन्छ । सीटीईभीटीअन्तर्गतका आंगिक प्राविधिक शिक्षालय प्रदेश सरकार माताहतमा हस्तान्तरण र स्थानीय तहसमेतको साझेदारीमा शिक्षण संस्था सञ्चालनको नीति ल्याएको छ । त्यस्तै मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कक्षा ९–१२ को लागि प्राविधिक धारसमेत सञ्चालन गर्दै आएको छ ।
एसईईपछिको अध्ययनका विषय छनोटको आधारमा भविष्यको पेशागत रोजगारी तय हुन्छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रमुख अध्ययनका क्षेत्रहरू रहेका छन् । मध्यमस्तरीय प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पनि राज्यले प्रदान गरेको छ । भविष्यमा डाक्टर, इन्जिनियर, कृषि, सूचना प्रविधिमा लगायत अध्ययन अनुसन्धानमा रुची राख्नेहरूले विज्ञान विषय रोज्नु उपयुक्त हुन्छ । व्यापार, बैंकिङ, चार्टड एकाउन्टेन, उद्यमशीलता, र होटल व्यवस्थापनका क्षेत्रमा लाग्नका लागि व्यवस्थापन विषयको अध्ययन खाँचो रहन्छ । सामाजिक क्षेत्र, पत्रकारिता, शिक्षा, सरकारी गैरसरकारी संघसंस्था तथा राजनीतिक क्षेत्रमा काम गर्नको लागि मानविकी क्षेत्रका विषयहरूको अध्ययनको आवश्यकता पर्छ । शिक्षण पेसालगायतका शिक्षा क्षेत्रमा काम गर्नको लागि शिक्षा शास्त्र विषयको अध्ययन हुनु जरुरी हुन्छ । मध्यमस्तरीय प्राविधिक ज्ञान र सीप आर्जन गरेर छिट्टै रोजगारीमा लाग्नको लागि टीएसएलसी भर्ना भएर प्लम्बिङ, इलेक्ट्रिसियन, कृषि, फेसनडिजाइन, मेकानिकल वर्क, आईटीको अध्ययन गर्ने सुविधालाई पनि उपयोग गर्न सकिन्छ । भविष्यमा अन्तराष्ट्रिय अध्ययन गर्ने योजना भएमा ‘ए’ लेभलका कोर्स पढ्नुपर्ने हुन्छ ।
एसईईको नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुन विषय, कहाँ, किन पढ्ने ? बारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वभाविकै हो । भरखरै एसईई उत्तीर्ण अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ओल्लो घाट न पल्लोतिर भएर हन्डर खाएको धेरै उदाहरण छन् । श्रमबजारमा तीब्र प्रतिष्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतिहरू थपिंदै गएका छन् । यस्तो बदलिंदो परिवेशको चुनौतिपूर्ण श्रम बजारमा खरो प्रतिष्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनौट होस् पु¥याएर गरिनुपर्छ । तसर्थ कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभविको सल्लाह र सुझाव विद्यार्थीको लागि मार्गदर्शन हुन सक्छ । पढ्ने विषयको छनोट गर्दा आफनो रुची, क्षमता, भविष्यमा पाइने अवसर र आफ्नो आर्थिक अवस्थाको हेक्का राख्न विर्सनु हुन्न ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था राज्य तथा शिक्षणसंस्थाले गर्नकासाथै अन्य सरकारी गैर सरकारी र राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न निकायहरूबाट प्रदान गरिने छात्रवृत्ति बारेको यथार्थ जानकारी सहजरुपमा सबैलाई उपलब्धहुने व्यवस्था गरिनुपर्छ। सञ्चालित उच्चमाविहरूको संख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ । तोकिएका सेवासर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन्? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । विद्यालयलाई विद्यार्थीको उपलब्धी प्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ । विद्यार्थीलाई कहरले भन्दा पनि रहरले पढ्ने विषय र शिक्षण संस्थामा भर्ना गरिनु बुद्धिमानी हुन्छ ।
विद्यार्थीको चाहना र क्षमताअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्य बीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निष्कर्षमा पुग्न सरकार र सरोकार पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न चुक्नु हुँदैन । त्यसकारण एसईई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारपक्षले कञ्जुस्याइँ गर्नु हुँदैन । जे विषय जहाँ पढे पनि केही मानवीय र अत्यावश्यक साझा गुणको विकास गर्न भने चुक्नु हुन्न । जसमा सिर्जनशील, लगनशील, सीपयुक्त, स्मार्ट, ऊर्जावान, लगनशील, नेतृत्व क्षमता भएको, टीमवर्क गर्न सिपालु, प्रभावकारी सञ्चार कला भएको, समयको व्यवस्थापन गर्न सक्ने उत्साही तथा आत्मविश्वासी व्यक्तिले हरेक क्षेत्रमा सफलता चुम्न सक्छ भन्नेतर्फ हेक्का राख्नु जरुरी छ ।
विद्यार्थी आफैं लाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाको लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुंदैन । आफूले पढेको विषयमा सतही ज्ञानमात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्दछ । तसर्थ पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धीको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्दछ । भविष्यमा अपनाउने पेसा, त्यसको लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यर्थाथपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेरमात्र पढ्ने विषय र शिक्षण संस्था छनौटको निष्कर्षमा पुग्नु बुद्धिमानि कदम हो ।
अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरुलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासमेतका अप्रिय घटना हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबु आमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धीहरूको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होऊन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धी पृष्ठभूमी जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनौेट गरेका खण्डमा पछि पछुताउनु नपर्ला ।
शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रुपमा नढाँटी इमान्दारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संशाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभको लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंको लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमान्दारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेरमात्रै अनुशासित वातावरणमा शिक्षणसंस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ। देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षणसंस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासील गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रुपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । विश्व बजारमा सशक्त प्रतिष्पर्धी जनशक्ति उत्पादनका लागि राज्यको सहयोग र सकारात्मक नीतिनियम अपरिहार्य रहन्छ ।