दुईतिहाइको सरकारको पहिलो परीक्षा हुने ठाउँ वा चलिरहेको ठाउँ संसद्मा प्रधानमन्त्री उपस्थिति हुर्नैपर्ने बेलामा अनुपस्थित रहे । यस्तो अनुपस्थिति राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दामात्र होइन त्यसपछि त्यहाँ उनी आफैंले वाचनका लागि दिएका सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बसेको ठाउँबाट उठेर संसद् भवनबाट बाहिरिएको घटनाले जसरी चौतर्फी रूपमा गम्भीर प्रश्न उठायो, त्यो भन्दा अझ सरकारको त्यो नीति तथा कार्यक्रमबार संसद् अर्थात् अघिवेशनको बैठकमा प्रस्तुत भएर त्यसमाथि सांसदहरूले प्रश्न उठाउँदा पनि उनी संसद्मा गएनन् । प्रश्न प्रधानमन्त्रीमाथि थियो तर उत्तर भने मन्त्रीबाट दिन लगाइयो । राष्ट्रपतिकै प्रस्तुती भइरहेका बेला प्रधानमन्त्रीले बैठक छाडेको घटनालाई प्रधानमन्त्रीको सल्लाहकार समूहका सदस्यले प्रधानमन्त्रीको स्वास्थ्य ठीक नभएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे । दुईतिहाइ जनमतका प्रधानमन्त्री अस्वस्थ रहेछन् त जनायो तर प्रधानमन्त्रीमा के रोग लागेको हो भन्ने त्यसपछि पनि खुलाइएको छैन । बरु संसद्मा प्रधानमन्त्रीको अनुपस्थिति भने कायमै छ । त्यसकारण पनि प्रधानमन्त्रीको रोग थप रहस्यमय बन्नगएको हुनुपर्छ ।
अप्रत्यक्ष रूपले जानकारी गराइए अनुसार प्रधानमन्त्रीको यो रोग अझै डेढ दुईमहिना कायम रहने छ । अर्थात् प्रधामन्त्रीले अब पनि यति लामोसमय उपचारमा नै बिताउनु पर्छ । जसले संसद्मा प्रधामन्त्रीको खोजी नगरियोस् । यस्तो जानकारी औपचारिक रूपमा कतैबाट भनिएको त छैन तर संसद् बैठकका कार्यक्रमहरू त्यसरी नै तय भएका छन् । जसमा प्रधानमन्त्रीको उपस्थिति शून्य राखिएको छ । जस्तो, हालै प्रतिनिधिसभाको कार्यक्रमका रूपमा आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक गरियो । यसमा प्रधानमन्त्रसँग प्रश्नोत्तर कार्यक्रम भने राखिएन । गएको शनिबार प्रतिनिधिसभाको आउँदो असार १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गर्दा प्रतिनिधिसभाको नियमावलीअनुसार यो दिनभित्र प्रधानमन्त्रीले दुईपटक सासदहरूको प्रश्नको उत्तर दिनुपर्ने थियो । बैठक चल्ने नियमालवीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’ निमयानुसार अहिलेसम्मका हरेक प्रधानमन्त्रीले कम्तिमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाफ दिने गरेका थिए । यो पटक यो नियम नै मिचियो । नियमले अनिवार्य गरेको तर सभाले सार्वजनिक गरेको कार्यतालिकामा प्रधानमन्त्रीको उपस्थितिलाई कतै व्यवस्थापन नगरिनु भनेको कम्तीमा प्रधानमन्त्रीको यी दिनमा संसद्मा उपस्थिति हुँदैन भन्ने सन्देश नै हो । यसलाई आधार मानिँदा पनि प्रधानमन्त्रीलाई रोग नै लागेको देखाउँछ ।
जस्तो गएको शनिबार प्रतिनिधिसभाले सार्वजनिक गरेको उल्लिखित समयको कार्यतालिका अर्थात् सभाकै भाषामा क्यालेन्डरमा जेठ ४ र ५ गते शून्य समय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता त्यसपछि जेठ ६ गते शून्य समय, विशेष समय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल संशोधन प्रस्तुत र पारित गर्ने, जेठ ७ गतेको बैठकमा शून्य समय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत, वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आदि–आदि । त्यसपछि जेठ १२ गते बस्ने बैठकमा पनि प्रधानमन्त्रीको उपस्थिति छैन । अर्को महिना अर्थात् असार पहिलो साताका तीन बैठक, असार १ गते शून्य समय, विनियोजन विधेयक २०८३ अन्तर्गतको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ प्रारम्भ हुने, असार २ गतेमा शून्य समय, विनियोजन विधेयक २०८३ अन्तर्गत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ, सबै मन्त्रालयका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत र विनियोजन विधेयक पारित गर्ने, असार ३ गते शून्य समय, विशेष समय, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने भनिएको छ । अर्थात् प्रधानमन्त्रीको उपस्थिति कतै छैन ।