काठमाडौं , नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध निर्भीक आवाज उठाउने तत्कालिन वरिष्ठ नेता त्टंकलाल श्रेष्ठको निधन भएको छ ।
कोलोन क्यान्सरबाट पीडित श्रेष्ठको गएराति करिब ८ बजे मेडासिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि त्यसको विरोधमा उत्रिएका साहसी युवानेतामध्ये टंकलाल श्रेष्ठ पनि एक थिए ।
त्यतिबेला बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणका क्रममा पञ्चायती शासनविरुद्ध कालो झण्डा प्रदर्शन गरेर विरोध जनाउने नेताका रूपमा उनी चर्चित बनेका थिए । त्यो घटना तत्कालीन निरंकुश शासनविरुद्धको प्रतीकात्मक र ऐतिहासिक प्रतिरोधका रूपमा स्मरण गरिन्छ ।
श्रेष्ठले आफ्नो राजनीतिक जीवनभर लोकतन्त्र, नागरिक अधिकार र प्रजातान्त्रिक मूल्यको पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए । उनको निधनसँगै नेपालको लोकतान्त्रिक आन्दोलनले एक निर्भीक र संघर्षशील योद्धा गुमाएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ । उनको निधनप्रति विभिन्न राजनीतिक व्यक्तित्व, अधिकारकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।