काठमाडौं । १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यही जेठ ९ गते शनिबार उक्त फेस्टिभल आयोजना हुने लागेको हो ।
यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिंक’को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रिम स्याटर्डे’ का रूपमा भव्य मनाउने तयारी गरिएको आयोजकले जनाएको छ । दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्षझैँ स्ट्रिट फेस्टिवलको भरपुर मजा निःशुल्क लिन पाइनेछ । महोत्सवमा बालबालिकाका लागि विभिन्न खेलहरू, ३ह३ बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू र फोटो बुथहरू रहनेछन् । यस्तै विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरू पाइनेछ भने मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमकेदार प्रस्तुति रहनेछ । यस पटकको सांगीतिक साँझमा चर्चित कलाकार तथा ब्याण्डहरूको उपस्थिति रहनेछ । जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर र गन एल्भिस ब्याण्डको सहभागिता रहने आयोजकले जनाएको छ ।
’एक्सट्रीम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । एक्सट्रीम इनर्जी ड्रिंकको साथले यस वर्षको ’एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने आयोजकको विश्वास गरिएको छ ।