काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मोटर्सले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभमा थप सेयर खरिद गर्दै आफ्नो नियन्त्रण अझ मजबुत बनाएको छ ।
भोयाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार डोङफेङ मोटर (हङकङ) इन्टरनेसनलले सेकेन्डरी बजारमार्फत कम्पनीका दुई करोड एक लाख ९० हजार एच– सेयर खरिद गरेको हो । यो हिस्सा कम्पनीको कुल जारी सेयर पुँजीको करिब शुन्य दशमलब ५५ प्रतिशतबराबर रहेको छ । सेयर खरिद योजना कार्यान्वयन भएपछि भोयामा डोङफेङ मोटर र यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७० दशमलब ०२ प्रतिशत पुगेको छ । हाल कम्पनीका नियन्त्रणकारी सेयरधनीहरूले दुई अर्ब ४३ करोड ८० लाखभन्दा बढी घरेलु सेयर तथा करिब १३ करोड ८० लाख सेयर आफ्नो स्वामित्वमा राखेका छन् । डोङफेङले सन् २०२० को अन्त्यतिर सार्वजनिक गरेको र सन् २०२१ मा औपचारिक रूपमा स्थापना भएको भोयाले मुख्य रूपमा दुई लाख युआन (लगभग २९ हजार ४५० अमेरिकी डलर) देखि पाँच लाख युआन मूल्य वर्गका सवारीसाधनलाई लक्षित गरेको छ ।
अगस्ट २०२५ मा डोङफेङले भोयालाई लिस्टिङ बाइ इन्ट्रोडक्सन प्रक्रियामार्फत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने घोषणा गरेको थियो । साथै, डोङफेङले आफैँलाई निजीकरण गरी बजारबाट हटाइने पनि बताइएको थियो । लिस्टिङ बाइ इन्ट्रोडक्सन भनेको पहिले नै जारी भइसकेका सेयरलाई स्टक बजारमा सूचीकृत गर्ने प्रक्रिया हो । यसमा नयाँ सेयर जारी गरिँदैन वा पुँजी संकलन गरिँदैन, र हालका सेयरधनीसँग रहेका सेयर मात्र कारोबारका लागि उपलब्ध हुन्छन् । कम्पनीको मूल्यांकन सीमितताका कारण डोङफेङले आफ्नै सूचीकरणपछि कुनै इक्विटी रिफाइनान्सिङ गर्न सकेको थिएन, जसले गर्दा यसको सेयर प्लेटफर्मको फाइनान्सिङ उपयोगिता लगभग हराएको थियो । यसै वर्ष मार्च १९ मा भोया आधिकारिक रूपमा ०७४८९ स्टक कोडअन्तर्गत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।
भोयाले सन् २०२५ मा नाफा कमाउँदै एक अर्ब दुई करोड युआन खुद आम्दानी गरेको जनाएको छ । ब्रान्डको आम्दानी सन् २०२३ को १२ अर्ब ७५ करोड युआनबाट बढेर सन् २०२५ मा ३४ अर्ब ८६ करोड युआन पुगेको छ । यही अवधिमा गाडीको बिक्री ५० हजार २८५ युनिटबाट बढेर एक लाख ५० हजार १६९ युनिट पुगेको छ । यस वर्षको पहिलो चार महिनामा भोयाले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ०२ प्रतिशतले बढी हो ।