काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ बनेको बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, क्षेत्रीय द्वन्द्व र अन्तर्राष्ट्रिय आर्थिक दबाबका बाबजुद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको दाबी उनले गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले बुधबार संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणअनुसार चालू आवमा नेपालको अर्थतन्त्र तीन दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रको वृद्धिदर तीन दशमलव एक प्रतिशतमा सीमित रहने प्रक्षेपण भइरहेका बेला नेपालको आर्थिक वृद्धिलाई सकारात्मक रूपमा हेरिएको छ । सर्वेक्षणले नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।
बाह्य क्षेत्रतर्फ समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक सर्वेक्षणअनुसार विप्रेषण आप्रवाह ३९ दशमलव एक प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि १० दशमलव दुई प्रतिशत मात्रै थियो । चैत महिनामा मात्रै दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड डलर पुगेको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ थियो । वैदेशिक रोजगारीतर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ९४ हजार एक सय ८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ९३ हजार दुई सय ५९ रहेको छ ।
अर्थमन्त्री डा. वाग्लेका अनुसार विदेशी विनिमय सञ्चितिमा पनि ऐतिहासिक सुधार देखिएको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३० दशमलव पाँच प्रतिशतले बढेर २०८२ चैत मसान्तसम्म ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २३ अर्ब ५५ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति चार खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
अर्थमन्त्री डा.वाग्लेका अनुसार हालको विदेशी मुद्रा सञ्चितिले २१ महिना आठ दिनको वस्तु आयात तथा १८ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५७ दशमलव दुई प्रतिशत पुगेको छ ।
उल्लेख्य रूपमा बढ्यो डिजिटल भुक्तानी
काठमाडौं । मुुलुकमा पछिल्लो समय डिजिटल भुक्तानीमा पनि उल्लेख्य सुधार देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक डिजिटल भुक्तानी प्रणालीमा पनि उल्लेखनीय विस्तार भएको हो ।
सर्वेक्षणअनुसार चालू आवको चैत मसान्तसम्म डेबिट कार्डमार्फत एक करोड तीन लाख कारोबारबाट ८० अर्ब नौ करोड रुपैयाँबराबरको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत सात करोड ४४ लाख कारोबारबाट छ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँबराबरको कारोबार भएको छ भने क्यूआर कोडमार्फत पाँच करोड ४६ लाख कारोबारबाट एक खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
आर्थिक सर्वेक्षणअनुसार सामाजिक क्षेत्रका सूचकहरूमा पनि सुधार देखिएको छ । सोमध्ये मानव विकास सूचकांक शून्य दशमलव ६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको छ । मातृ मृत्युदर प्रतिलाख एक सय ५१ र पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । आधारभूत तहको खुद भर्ना दर ९७ दशमलव आठ प्रतिशत पुगेको तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा देखिएको छ ।