‘महत्वाकांक्षा’ लाई अंग्रेजीमा ‘एम्बिसन’ भनिन्छ । महत्वाकांक्षा अर्थात् एम्बिसनले मानिसको जीवनमा ठूलो सफलता, ओहोदा वा पद र आशातीत कुनै पनि लक्ष्य प्राप्त गर्ने तीब्र इच्छा भन्ने बुझिन्छ । जसले कुनै पनि मानिसलाई अगाडि बढ्नका लागि उत्प्रेरित गर्न मद्दत गर्दछ । धेरै महत्वाकांक्षा हुनेको जीवन असन्तुलित हुन्छ, जसले धनसम्पत्तिलाई मात्र महत्व दिन्छ र समाज सेवामा उसले खासै चासो दिदैन भने ठिक्क महत्वाकांक्षा राख्नेको जीवन सन्तुलित हुन्छ, जसले सामाजिक परिवेश बुझेको हुन्छ र उसले आफ्नो भएको सम्पत्तिमध्ये केही अंश विद्यालय र मठमन्दिर निर्माणमा खर्च गर्छ अनि जनकल्याण र समाजकल्याणमा लागेर समाजसेवीको सूचीमा सूचिकृत हुन्छ । महत्वाकांक्षी हुनु राम्रो हो, तर यसको सीमाभित्र रहनुपर्दछ । आफ्नो लक्ष्य प्राप्तिको सिलसिलामा इमानदारिता र लगनशिलता पनि उत्तिकै आवश्यक छ । महत्वाकांक्षालाई सही दिशामा प्रयोग गर्दा यसले व्यक्तिगत विकासका साथै समाज र राष्ट्रको उन्नतिमा पनि ठूलो योगदान पुर्याउँछ भन्ने कुरामा दईमत छैन ।
जो मान्छे धनसम्पत्तिको पछाडि कुद्ने काममात्र गर्छ उसले समाजमा राम्रो छबि वा छाप छोड्न कदापि सक्दैन । तस्करले वा माफियाले मन्दिर र धर्मशाला बनाइदिने काम गरेको पनि पाइन्छ । कर्तुत वा पाप मेटाउन यसो हुँदा मिश्रित प्रतिक्रियाहरू उत्पन्न हुन्छन् । त्यस्ता खराब मान्छेहरूलाई खादा ओढाएर सम्मानपत्र दिने चलनको अन्त्य हुनु जरुरी छ । भनिन्छ ’पैसाले कसैलाई पनि पुग्दैन ।‘ तर यसको अपवादमा उभिएको छ यो लेखक । किन कि साथीहरूले ’दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्‘ भन्दा पनि पैसाको लोभमा नपरी इमानदारिता अपनाउने म जस्ता राष्ट्रसेवक सायद कमै होलान् । मेरो चाहना भनेको सादा ‘जीवन उच्च विचार’ लाई कायम राखिरहनु हो । हिन्दी कहावत ‘सादा खाना बनारस जाना’ पनि मेरो जीवनमा लागू हुन्छ । कमाइको दश प्रतिशत दान गर्नुपर्छ पनि भनिन्छ, जुन मैले गर्दैआएको पनि छु । दान भन्नाले समाज सेवाको कामका लागि दिइने नगद, जमिन, औषधि, लत्ता–कपडा आदि हो । तर यहाँ दानको नाममा रकम असुलेर थोरै रकम समाज सेवा गरे जस्तो गर्ने र धेरै रकम आफ्नै स्वार्थपूर्ति गर्नेहरू छन् ।
साहित्यले मानिसलाई लोभबाट मुक्त गर्छः
जो मान्छे साहित्यिक क्षेत्रमा लागेको छ उसलाई लोभको अनुभूति खासै हुँदैन, ऊ निरन्तर सिर्जनाका कामहरूमा लागिरहन्छ । महत्वाकांक्षालाई ठीक ठाउँमा राख्नका लागि साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जो साहित्यमा तल्लीन छ उसको हृदय कोमल रहन्छ भन्ने गरिन्छ । साहित्यमा लागेका केही नेता तथा प्रशासकहरू पनि थिए र छन्, उनीहरूमाथि कसैले पनि औँला ठड्याएको पाइएको छैन ।
धर्ममा पनि देखिन्छ बढी महत्वाकांक्षाः
कसैकसैले साधुको भेषमा आश्रम खोलेर भ्रमपूर्ण जाल फ्याँकेर सोझा मानिसहरूलाई फसाइन्छ र विस्तारै तन–मन–धन लुट्नथाल्छन् । भारतमा विगतमा जसले ज्ञान र संस्कार सिकाइरहेका थिए ठीक उल्टो उनले आफ्नै चेलीमाथि यौन दुराचार गरे । उनले सिकाउने ज्ञान संस्कारका कुरा केवल देखावटीमात्र सावित रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ, हाल उनी उतैको जेलमै छन् । अर्का ज्यानमारा सन्तको पनि नेपालमा उनका अन्धभक्तहरूले जयजयकार गरिरहेका छन् भने कुनै एक टेलिभिजनले उनको प्रचार प्रसारको जिम्मा लिउको छ । त्यस्ता ढोँगी वा पाखण्डीलाई तह लगाउन नेपालको गृह प्रशासन हिचकिचाइरहेको पाइन्छ । त्यस्ता आश्रम तथा धाम अनि सुकुम्बासी बस्ती चुनावताका भोट बैंकको रुपमा रहने हुँदा नेताहरूको संरक्षणमा त्यस्ता समुदाय चलिरहेका हुन्छन् । फलानो बाबा वा गुरुको आशीर्वादले छोराछोरीको पढाइ उत्तम रह्यो अनि छोराछोरीले जागिर पाए भन्ने भ्रम पालेका अन्धभक्तहरू नेपालमा धेरै छन् । चटक देखाउने जोगीलाई ’बाबाकी जय!‘ वा ’जय गुरुदेव!’ भन्दै दाम चढाएर खुट्टामा निधार टाँसेर आनन्द लिने अन्धभक्तहरूको कमी छैन यहाँ । सबैभन्दा ठूलो अर्थात् मुनाफामूलक व्यापार भनेकै धार्मिक वा आध्यात्मिक व्यापार बन्न पुगेको छ । स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री बनाइदिने मन्त्र दिनदहाडै बिक्री भैरहँदा सरकारले कानमा तेल हाले झैँ गरेको बस्ने गरेको देखिन्छ । हरेक बिहान सिरानी मुनि सुनका टुक्रा भेटाउने मन्त्र पनि धमाधम बिक्री भैरहेको छ र अन्धभक्तहरूले सो मन्त्र जप्छन्, आखिरमा भ्रम पालेर दिन बिताइरहेका देखिन्छन् उनीहरू । आश्रम वा उनका सञ्चालक बनेका बाबा वा गुरु वा तिनका दलालहरूले भक्तहरूलाई फकाएर आश्रममा भित्र्याएपछि अनि उनलाई हिप्नोसिस र ब्रेनवास गरेपछि भेँडालाई पनि सिह भन्न लगाउँछन्, काठको टुक्रालाई सुन भन्न लगाउँछन् । बाबा वा गुरुले गरेका कर्तुतहरूलाई नकारात्मक प्रतिक्रिया दिन चाहन्नन् । आफू ठगिएको भए तापिन ठगिएको नभएर धर्म पालना गरेको ठान्छन् अन्धभक्तहरू । नेपालमा हिन्दुधर्म चलाउन तेस्रो मुलुकबाट आएर अनेक पाखण्ड प्रदर्शन गरेर मनग्यै धन आर्जन गरिरहेको नेपालीहरूलाई खासै थाहा हुँदैन । उल्टै त्यस्ता अखडाहरूमा गएर चन्दन लगाएर मख्ख परेर घरतिर फिरेको पनि देखिन्छन् । घर गृहस्थीलाई बेवास्ता गरेर त्यस्ता अखडामा समय बर्वाद गर्नेहरूको संख्या बढ्दो छ । कोहीकोही स्वनामधन्य साधुहरू छैनन् भन्न खोजिएको होइन । खास धर्म र अध्यात्म मार्गमा हिँड्ने र मानिसलाई ज्ञान संस्कार सिकाउने साधु सन्त महापुरुष हुन् । तर हिजोआज धर्म र अध्यात्मको नाममा अधर्मका कामहरू धेरै देखिएका छन् । जसले धर्म वा अध्यात्मलाई कमाई खाने भाँडो बनाइरहेका छन् । करोडपति–अर्बपति जोगीहरूको महत्वाकांक्षा बुझिनसक्नुको छ । नेताहरू नै उनका पछि लागेर लम्पसार पर्नेगरेका विगतका घटनाहरूले बताइसकेका छन् ।
खतरनाक महत्वाकांक्षीहरूः
राजनेताः खान लाउन नपुग्ने नेताहरू जनताको बुइँ चढेर अहिले आलिसान महलमा बस्ने र सुविधायुक्त गाडी चढ्ने भैसकेका छन् ।
प्रशासकः नेपालको प्रशासन क्षेत्र पहिलेदेखि नै बदनाम भएको कुरा त धेरैलाई थाहा नै छ । घुमिफिरी कमाउ अड्डामा बसिरहने भ्रष्ट कर्मचारीहरूको महत्वाकांक्षा बढ्दै जानु मुलुकका लागि घातक छ ।
न्यायमूर्तिः जनताले विश्वास वा भरोसा गरेको न्यायालयहरूका न्यायमूर्तिहरू पनि नजानिदो किसिमबाट भ्रष्टाचारमा लिप्त भइरहेको पाइन्छ, ठूला अपराधीहरू जोगाउने काम भैरहेको छ । सर्वसाधारणको मुद्दा दशकौँसम्म टुंगो लगाइँदैन । एउटा न्यायालयले दोषी ठहर गरेको अभियुक्तलाई अर्को न्यायालयले बदर गरिदिन्छ । न्यायालयका यस्ता नाटकहरूबाट पीडितहरू झनै पीडित हुँदैआएका छन् ।
धर्मगुरुः गेरु बस्त्र होस् वा अन्य बस्त्र धारण गरेको धर्मगुरु होस् बाहिर बाहिर देखावटी रुपमा देखाइने धर्मका क्रियाकलापहरूबाट सोझा मान्छेहरू फस्ने गर्छन् र लुटिन्छन् कथित धर्मगुरुको अति महत्वाकांक्षातर्फ । ब्रेनवास र हिप्नोसिस विधिबाट उनका भक्तहरूलाई आफू अनुकूल बनाइने काम भैरहेको छ । त्यस्ता धर्मगुरुको भ्रमजालमा फसेपछि मान्छे सितिमिति सामान्य जीवनमा फर्किदैंन ।
अन्य केही व्यापारीहरू पनि कारोबार थालेको छोटो अवधिमै घडेरी किन्ने, तत्कालै घर निर्माण गर्ने र गाडी किन्ने महत्वाकांक्षा पालेका हुन्छन् । छिट्टै आर्थिक स्रोत जुटाउन अवैध धन्दा गर्न पनि पछि पर्दैनन् उनीहरू । उदाहरणको रुपमा एउटा फोटोकपी गर्ने पसलले हुण्डीको कारोबार गरेको भेटिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार आइसकेको छ । आफ्नो सामान्य व्यवसायको आवरणमा अवैध कारोबार गर्नेहरू नेपालमा धेरै छन् जसको पहुँच माथिसम्म हुन्छ र ऊ निर्धक्कसँग त्यस्तो कारबोबार गर्छ । आएको नाफाको केही अंश माथिका मान्छेहरूलाई भाग पुर्याउँछन् त्यस्ता कालोधन छाप्नेहरूले ।
जेष्ठ नागरिकको अपमान गर्ने चालक–सहचालकः
स्टपमा गाडी कुरिरहेका यात्रुहरूको उमेर हेरेर मात्र गाडी रोक्ने गरेको यो लेखकले धेरै पटक देखिसकेको छ । स्टपमा विद्यार्थी पोशाक लगाएका छन् र अरु छैनन् भने गाडी रोकिदैन, किन कि विद्यार्थीहरूले सहुलियत भाडा तिर्ने हुँदा गाडीवाला दिक्क मान्छन् जसलाई अधर्म भनिन्छ । त्यस्तै जेष्ठ नागरिकले भाडा छुटका लागि जेष्ठ नागरिक परिचयपत्र देखाउँदा चालक तथा सहचालकले अध्यारो अनुहार बनाउँछन् । यो उनीहरूको अति महत्वाकांक्षाका कारण भएको झल्को हो ।
जो मान्छे धनसम्पत्तिको पछाडिमात्र कुद्छ उसले समाजमा राम्रो छबि छाप छोड्न सकेको हुँदैन । तस्कर वा माफियाले मन्दिर र धर्मशाला बनाइदिने काम पनि हुँदैआएको छ र उनलाई खाता ओढाएर अबिर लगाइदिएर सम्मान गर्ने गरेको पनि पाइन्छ । यस्तो खराब चलनको अन्त्य हुनुपर्दछ । अपराधीहरूले गरेको समाज सेवा हामीहरूले किन स्वीकार्ने? त्यस्ता खराब मान्छेहरूको कालोधनबाट बनाइएको धर्मशाला र मन्दिरमा जाने सोझा भक्तहरूमाथिको घात हो भन्न सकिन्छ । महत्वाकांक्षा पालेर बसेका अपराधीहरू चोखिने प्रपञ्च मात्र हो यो ।
सरकारी जागिरबाट अवकाश पाएपछि मलाई ठूलो मुक्ति मिलेको महसुस भएको थियो । किन कि कर्मचारीतन्त्रभित्र केही खराब कर्मचारीहरूका कारण सिंगो कर्मचारीतन्त्र बदनाम छ । घुस्याहा र भ्रष्टाचारी अनि कमिशनखोरहरूको जगजगी छ । मलाई मालपोत हाकिमको कुर्सि अप्रिय लागेको कुरा त मेरा तमाम लेखहरू र मसँग सम्बन्धित समाचारबाट नै प्रष्ट हुन्छ । थप दुई वर्ष म मालपोत हाकिमको कुर्सीमा बस्नुपर्नेमा मैले सो कुर्सी लात मारेर कमजोर मन्त्रालय भनेर चिनिने खेलकूद मन्त्रालयमा आएँ । मैले धनसम्पत्तिलाई भन्दा पनि नैतिकता र इमानदारीतालाई नै महत्व दिँदैआएको कुराहरू केही साहित्यिक मासिक द्वैमासिक त्रैमासिक पत्रिकाहरूमा प्रकाशित मेरा जीवनीहरूमा पनि उल्लेख छन् । महंगो सहर भनेर चिनिने काठमाडौँ बसाइको क्रममा बेलाबेलामा पैतृक सम्पत्ति बेच्नुपर्ने अवस्था आयो । बढी महत्वाकांक्षा पालेर बस्नेहरूका लागि यो मुक्तक सान्दर्भिक छ–
देशमा भ्रष्टहरूका महत्वाकांक्षा धेरै
अनि उपचारमा धन फाल्छन् खेरै
दाजुभाइको भएभरको सम्पत्ति पनि
लाज पचाएर उनी भन्छन् सबै मेरै ।