बागलुड. ।
राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्नेभएको छ । सहकारी बैंकले एउटा प्रदेशमा नमूना परियोजना सञ्चालन गर्ने योजनाअन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय नमूना परियोजना अगाडि बढाउन लागेको हो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावि कार्यदिशा सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै बैकका अध्यक्ष केबी उप्रेतीले उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्ने गरी सञ्चालन गर्न लागिएको परियोजना सहकारी संघसंस्थाहरूमार्फत नै गरिने बताए ।
त्यस्तै प्रत्येक प्रदेशमा एउटा पालिकामा गरिबी निवारणका नमूना परियोजना सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । गरिब घर पहिचान गरी सबैभन्दा बढी गरिब घर परिवार भएको एउटा प्रदेशको एउटा पालिकामा कार्यक्रम अगाडि बढाउने बैंकले तयारी गरेको छ । देशभरका सहकारी संघहरूमध्ये पहिलो चरणमा १० वटा संघहरूको संस्थागत विकासमा बैंकले सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
कार्यक्रमका सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरूलाई सहजीकरण गरेर सहजरूपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका थिए ।
सहकारी ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्य कारोबार, दोहोरो सदस्यता, साधारणसभा, ब्याजदरलगायतका विषयमा सहकारीकर्मीहरूमा अन्यौलता देखिएको र त्यसको व्यवस्थापनमा सहकारी अभियान र विभागले समन्वय गर्नु पर्नमा सहभागीहरूको जोड थियो ।
सहकारी क्षेत्रलाई कमजोर बनाउन विभिन्न तरिकाले सहकारी अभियानबीच फाटो ल्याउने, अनावश्यक प्रतिस्पर्धा गर्नेजस्ता क्रियाकलापले सहकारी क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने भएकाले एकीकृत भावना र योजनाका साथ अगाडि बढ्नुपर्ने सहकारीहरूको भनाइ थियो ।