काठमाडौं ।
नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले श्रमिकलाई चाडपर्व खर्चबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । कोरानाका कारण रोजगारी गुमाएका १० लाखभन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउँदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरूप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको हो ।
विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिकबाट उठाइएको एक प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको छ । श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने विभागको माग छ ।
साथै हाल गर्दै आएको कोरोना परिक्षणलाई दैनिक ४० हजार पु-याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ । संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ ।