बाँके ।
बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निर्माणको कार्य तीव्र रुपमा अघि बढेको छ । भवन निर्माणको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निर्माण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य तीव्र रुपमा अघि बढेको हो ।
निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार अघि बढेमा ६ महिना अगावै निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न सकिने बताए । त्यसै अनुरुप तीव्र रुपमा काम गरिरहेको उनको भनाई छ । उनले अहिले जटिल परिस्थितिमा पनि निर्माण कार्य नरोकी निरन्तर अघि बढाइरहेको भन्दै निर्माण सामग्रीका लागि खोला खुलेपछि अझ सहज हुने बताए ।
अत्याधुनिक प्रविधीबाट निर्माण हुने सुविधा सम्पन्न भवनको तीन महिना अघि मात्र गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका थिए । गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठठा जग्गामा १० करोड २२ लाख १६ हजार ६ सय १२ रुपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ ।
चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देशिय सभा हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनका अनुसार रोयल कन्सट्रक्सन कैलालीले भवन निर्माणको ठेक्का सम्झौता गरेको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निर्माणका लागि संघिय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाकी रकम गाउँपालिकाले व्यहोर्नेछ । गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।