धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरका छवटा स्थानीय तहहरुले एकसाथ पालिकास्तरका अस्पताल शिलान्यास गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुरुप जिल्लाका छ पालिकाले एकसाथ पालिकास्तरका अस्पतालको शिलान्यास गरेका हुन् । जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका र लालझाडी गाउँपालिकाले एकसाथ १५ शय्याका अस्पतालको शिलान्यास गरेका छन् ।
महाकाली नगरपालिकाको १५ शय्याको अस्पतालको प्रतिनिधिसभा सदस्य डा. दिपक प्रकाश भट्टले उद्घाटन गरे । त्यस्तै वेदकोट र शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधिसभा सदस्य नर बहादुर धामीले उद्घाटन गर्दै संविधानले प्रदान गरेका नागरिकका स्वास्थ्य अधिकार कार्यान्वयनका लागि अस्पताल स्थापना गरी सरकारले पहलकदमी अघि बढाएको बताए । धामीले वेदकोटको दैजी र शुक्लाफाँटाको पिपलाडीमा १५/१५ शय्याको अस्पतालको शिलान्यास गरेका हुन् । शुक्लाफाँटा नगर प्रवक्ता जगत बहादुर सिहले सरकारको योजनाअनुरुप अस्पतालको काम अघि बढाउने बताए ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमै १५ शय्याको अस्पतालको शिलान्यास गर्दै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरिने बताए । बेलौरी नगरका मेयर चौधरीले यसअघि नै कार्यपालिका बैठकबाट अस्पताल बनाउने निर्णय भइसकेको सन्दर्भमा संघीय सरकारले गरेको निर्णयले थप मद्दत पुगेको बताए । पुनर्वास नगरमा अस्पताल र लालझाडीको शंकरपुर अस्पताल शिलान्यास खानेपानीमन्त्री बिना मगरले गरिन् ।
भौगोलिक रुपमा विकट रहेको लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले शंकरपुर अस्पतालकोे शिलान्यास गर्दैै चालू वर्षदेखि नै कार्यान्वयन गरिने बताए । उनले जनतालाई आधारभूत स्वास्थ्य अधिकारकोे प्रत्याभूति दिलाइने बताए । लालझाडी गाउँपालिका प्रमुख बडायकले डीपीआर र टेण्डर प्रक्रिया अघि बढाइने बताए ।