बेइजिड., पुस २०
पहिलोपटक विमानमा चढेका एक जना चिनियाँलाई जरिवाना तिराइएको छ । २८ वर्षीय ती व्यक्तिले भाग्यशाली सिक्का विमानको इन्जिनमा फ्याँकेका थिए । उनलाई १७ हजार २ सय अमेरिकी डलर जरिवाना तिराइएको बीबीसीले जनाएको छ । लक्की एयरको विमानमा यस्तो घटना भएको हो । विमान ग्राउन्डेड अवस्थामा रहेकोमा सिक्का इन्जिन नजिकै फेला परेको थियो । पक्राउ परेका व्यक्ति लु चाओ रहेको बताइएको छ । उनले आफूले सिक्का फ्याँकेको स्वीकारेका छन् ।
आन्तरिक उडानका क्रममा उनी सन् २०१९ फेब्रुअरीमा पूर्वी चीनको आन्क्विङ टियान्झसान विमानस्थलबाट जाँदै थिए । जुलाईमा उनलाई अदालतमा पेस गरिएको थियो । हाल आएर यसबारे सार्वजनिक भएको हो । विमान कर्मचारीले उक्त सिक्का देखेपछि उडान नै रद्द गर्नुपरेको थियो । त्यसपछि अर्कै विमानबाट यात्रुहरुलाई गन्तव्यमा पु-याइएको थियो । लुलाई प्रहरीले १० दिनसम्म हिरासतमा राखेको थियो । उक्त घटनाले आफूलाई १७ हजार ६ सय डलर घाटा परेको बताएको थियो । त्यसपछि अदालतले उनलाई जरिवाना तिराएको हो । लुले भने विमान कम्पनीले कसैलाई पनि उक्त कार्य नगर्न सचेत नगराएको आरोप लगाएका थिए । यस्ता घटना विश्वमा समय–समयमा हुने गरेका छन् ।