काठमाडौं ।
ज्योति विकास बैंकले अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, विजुवार (प्युठानलाई एक, एक थान बेबी वार्मर प्रदान गरेको छ । महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्दछ ।
महाकाली अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मणसिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्तरूपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठलाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
प्युठान जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्तरूपमा प्युठान नगरपालिका वडा नं ४ प्युठानका वडा अध्यक्ष श्री लक्ष्मी प्रकाशराज भण्डारी, प्युठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरेलाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष्य रूपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो न्यानो बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख रूपैैयाँ प्रदान गरेको थियो ।
हाल बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।