काठमाडौं ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा. दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. सहदेव हुमागाईले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको एउटा खुड्किलो भएको बताइन् । साथै उनले व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गरिन् । मन्त्री अर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने समेत बताइन् । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उनको भनाइ थियो । ‘हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो ।
आयात र निर्यातसँग जोडिएका बेथितिको अन्त्य गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, उनले भनिन्, ‘आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढंगले विकास गर्न जरुरी छ ।’ कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताए । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने बताउँदै उनले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताए ।