काठमाडौं ।
एनएमबी बैंकले चालू आर्थिक वर्षको छ महिना अर्थात दोस्रो त्रैमासमा एक अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजनपश्चात् सेयरधनीहरूका लागि वितरणयोग्य नाफा एक अर्ब ५१ करोड रहेको बैंकले जानकारी दिएको छ ।
चालू आवको दोश्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप एक खर्ब ४९ अर्ब र कुल कर्जा सापट एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालू आवको छ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले वृद्धि गर्न सफल भएको छ ।
यस बैंकको वाणिज्य बैंकहरूको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेपतर्फ तीन दशमलव ८६ प्रतिशतबाट वृद्धि भई तीन दशमलव ९५ प्रतिशत र कर्जातर्फ चार दशमलव १९ प्रतिशतबाट वृद्धि भई चार दशमलव ४३ प्रतिशत पुस मसान्तसम्ममा पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । कर्जा तथा सापट वृद्धि हुनुमा मुख्यतः कृषि, ऊर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पुस मसान्तसम्ममा कुल तीन हजार दुुई सय ३७ जना ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।
चालू आवको पुस मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३८ प्रतिशत रहेको छ । एनएमबी बैंक विगत चार वर्षमा तीन पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ । विश्व बैंकअन्तर्गत रहेको आईएफसीबाट दोस्रो पटक पुनः अमेरिकी डलर दुुई करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ ।
नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरी दुईवटा विकास बैंकहरूलाई मर्ज तथा प्राप्ति गरी आफ्नो पहुँचलाई विस्तार गरेको छ । बैंकले देशभरिमा एक सय ८० वटा शाखा, नौवटा एक्सटेन्सन काउन्टर र एक सय ३५ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।