काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २५ सय २६ दशमलव ९२ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६३ दशमलव ४७ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय छवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार तीन लाख ८५ हजार छ सय १३ पटकको कारोबारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय छ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार चार लाख एक हजार तीन सय ७७ पटकको कारोबारमा आठ करोड ५६ लाख चार हजार सात सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार पाँच सय ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेकोमा तेस्रो र पाँचौ दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा भने बजार परिसूचक उकालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक ४८ दशमलव ७४ अंकले उकालो लागेर २५ सय २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव तीन अंकले उकालो लागेर चार सय ५९ दशमलव ३२ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ३७ दशमलव ४८ अंकले उकालो लागेर दुई हजार पाँच सय ६१ दशमलव ४७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले उकालो लागेर चार सय ६६ दशमलव ६० अंकमा चढेकोे थियो । तेस्रो दिन भने बजार परिसूचक २९ दशमलव एक अंकले ओरालो लागेर दुई हजार पाँच सय ३२ दशमलव ४६ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८९ अंकले ओरालो लागेर चार सय ६१ दशमलव ७० अंकमा झरेको थियो ।
चौथो दिन भने बजार परिसूचक आठ दशमलव ६६ अंकले उकालो लागेर दुई हजार पाँच सय ४३ दशमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले उकालो लागेर चार सय ६५ दशमलव १३ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ११ अंकले ओरालो लागेर २५ सय २६ दशमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ४७ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता ग्लोबल आईएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैैक, नेपाल बैंक, प्रभुु बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् ।
नेप्सेका अनुसार यस साता आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशतको अनुपातमा १३ लाख ४८ हजार नौ सय ८५ दमसलव १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता सेयर सूचीकृत भएको छ । यसैगरी मितेरी डेभलपमेन्ट बैंकको पनि यसै साता १० प्रतिशतको अनुपातमा १० लाख ४० हजार ५६ दशमलव ८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।