टोक्यो, पुस २३
निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोसनकी श्रीमती रिता गोसनलाई पक्राउ गर्न टोक्योका मुद्दा अभियोजनकर्ताले पक्राउ पुर्जी जारी गरेका छन् । गत अप्रिलमा गोसनले अदालतमा झूटो बयान दिएको आशंका अभियोजनाकर्ताले गरेका छन् । गत डिसेम्बरमा उनी धरौटीमा रिहा भएका थिए । हाल गोसन लेबनान फरार भएका छन् । गोसन परिवारले भने पक्राउ पुर्जीप्रति चिन्ता व्यक्त गरेका छन् ।
जापानी न्यायिक प्रणाली छलेर लेबनान पुगेका गोसनलाई पुनः जापान ल्याउन प्रयास भइरहेको छ । तर जापानले लेबनानसँग सुपुर्दगी सन्धि गरेको छैन । जापानमा पक्राउ पर्नुअघि गोसन चर्चित कम्पनी निसानका प्रमुख थिए । तर उनीविरुद्ध वित्तीय अपराध गरेको अभियोगमा २०१८ नोभेम्बरमा पक्राउ गरिएको थियो । धरौटीमा रिहा भए पनि गोसनलाई श्रीमतीसँग भेट्न दिइएको थिएन ।
केही दिनअघि मात्रै उनी जापानबाट टर्की हुँदै लेबनान फरार भएका हुन् । उनले आफ्नो जापान बहिर्गमनमा श्रीमतीले कुनै पनि सहयोग नगरेको स्पष्टीकरण दिएका छन् । त्यसो त उनले कम्पनीमा आफूले कुनै अपराध नगरेको समेत बताउँदै आएका छन् । उनले फक्स बिजनेस टिभीसँगको अन्तर्वार्तामा निसान र रेनल्टको मर्जर रोक्न आफूलाई झूटो अभियोग लगाइएको दाबी गरेका छन् । निसानकै कार्यकारी भूमिकामा रहेकाहरुले जापानी अधिकारीलाई सहयोग गरी आफूमाथि झूटो मुद्दा लगाएको उनको भनाइ छ । जापानले उनीविरुद्धको मुद्दा उनले देश छाडे पनि चलिरहने बताएको छ ।