काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । बैंक विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रूपमा सेवा सुरु गरेको थियो । मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको आठ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु-याइसकेको छ ।
बैंकमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरू रको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरू र बीमा कम्पनीहरू समेतको लगानी छ । यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ तथा सहअगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जालगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ ।