काठमाडौं ।
कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई एक हजार दरको दुई थान र एक सय दरको दुई थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
साथै उनको पसलबाट एक थान फलामको कैँची, एक हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको एक थान साँचो, एक थान गम, एक सय ५० थान फोटोकपी पेपर, एक थान रंगीन फोटोकपी मेसिन, एक थान डेस्कटप कम्प्युटर र एक हजार रुपैयाँ सक्कली नेपाली नोट एक थान प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यसैबीच वीरगञ्ज महानगरपालिका–६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट स्रोत नखुलेको सात लाख ७५ हजार चार सय ७० नेपाली रुपैयाँ र सात हजार चार सय भारतीय रुपैयाँसहित सोही ट्रेडर्समा काम गर्ने बारा कलैया उपमहानगरपालिका–२३ ठेगाना भएका ३८ वर्षीय जयराम राउत कुर्मीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रुपैयाँ तथा बल्लु राजको नाममा जारी भएको दुई लाख रुपैयाँ लेखिएको एक थान चेक र राम प्रसाद पटेलको नाममा जारी भएको पाँच लाख ६० हजार रुपैयाँ लेखिएको एक थान चेकसहित फेला पारी पक्राउ गरेको हो । कुर्मीउपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको तथा हाल फरार रहेका उक्त ट्रेडर्सका सञ्चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।